२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

आहा ! रारा पोखरा गोल्डकप: बाह्र वर्षपछि आयोजक सहारा फाइनलमा

आयोजक सहारा क्लव पोखरा आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा ६ पटकको उपाधि विजेता मनाङमस्र्याङ्दी क्लवलाई सडन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव पोखरा फाइनलमा पुगेको हो।  

निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म गोलरहित बराबरी खेलेको सहाराले सडन डेथमा ७–६ गोल अन्तरको विजय हासिल गरेसँगै सहाराले १२ वर्षपछि खोला फर्काएको छ । २०७० सालको उपाधि विजेता सहारा त्यसपछि फाइनलमा पुग्न सकेको थिएन। तर यस पटक १२ वर्षपछि उसले फाइनल पुगेर इतिहास दोहोर्‍याएको छ ।  

सहारालाई दोस्रो पटक ऐतिहासिक रुपमा फाइनलमा पुर्याउँदा गोलकिपर टिकेन्द्र थापा नायक बने। उनले सडन डेथमा मनाङ मस्र्याङ्दीका सविन खड्काको प्रहार रोक्दै सहारालाई जित दिलाए। पेनाल्टी सुटआउटमा ५÷५ गोल र त्यसपछि सडन डेथको पहिलो प्रहारमा पनि दुबैले गोल गरेपछि दोस्रो सडन डेथमा प्रवेश गरेको थियो। पेनाल्टी सुटआउटमा सहाराका बिक्की चाम्लिङ राई, विनय तामाङ, मुकुन्द नुईरे, शिशष थापा र प्रसन्न श्रेष्ठले गोल गरेका थिए भने मनाङका दीपेश गुरुङ, आशिष श्रेष्ठ, ज्ञानबहादुर पुलामी, नवराज गुरुङ र रोनिष धाके राजभाकले पनि गोल गरेका थिए। त्यस्तै, पहिलो सडन डेथमा सहाराका आशिष गुरुङ र मनाङका गिडिओन नोह क्यारिमेले गोल गरेपछि दोस्रो सडन डेथमा खेल प्रवेश गरेको थियो। दोस्रो सडन डेथमा सहाराका कप्तान सुशील लामाले गोल गरे। तर मनाङका कप्तान सविन खड्काले हानेको प्रहारमा सहाराका गोलकिपर टिकेन्द्र थापा बाधक बने। खड्काले बायाँ साईड च्यापेर हानेको प्रहार थापाले पञ्च गरेर रोक्न सफल भए।

यसअघि निर्धारित ९० मिनेटको र थपिएको ३० मिनेटको अतिरिक्त समय गोलरहित बराबरी भएको थियो। खेलमा ५६ प्रतिशत बल पोजिसन होल्ड गरेको सहाराले आधा दर्जन बढी गोल गर्ने अवसर सिर्जना गरेको थियो। तर यी सबै प्रहारमा विपक्षी गोलकिपर र रक्षात्मक टोली बाधक बनेका थिए।  

४४ प्रतिशत बल पोजिसन होल्ड गरेको मनाङले पनि पटक पटक गोल गर्ने अवसर सिर्जना गरेको थियो। तर उसले पनि सदूपयोग गर्न नसक्दा सेमीफाइनलबाटै घर फर्किनु परेको छ।  

बुधबारको खेलमा सहारा क्लवका विदेशी खेलाडी टाए डिनियल बडारु प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा बिहीबार विदेशी टोली आभा एफसी उज्वेकिस्तान र जावलाखेल युथ क्लव प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।ं वाई पाएर क्वाटरफाइनलमा आएको आभा एफसी प्लानिङ ब्वाईज युनाईटेडलाई १–० ले पन्छाउँदै सेमिफाइनलमा आइपुगेको हो भने जावलाखेलले प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लवलाई २–० र क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।

प्रकाशित: ६ फाल्गुन २०८२ १९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App