पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आइतबार टी–२० विश्वकपका लागि पाकिस्तानको १५ सदस्यीय टोली घोषणा गरे पनि, यस प्रतियोगितामा पाकिस्तानको सहभागिताबारे अहिलेसम्म अन्तिम निर्णय भएको छैन। आउँदो महिनामा आयोजना हुने यो प्रतियोगिता भारत र श्रीलंकामा खेलिनेछ।
बीबीसी उर्दूका अनुसार, गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृह मन्त्री तथा पीसीबी अध्यक्ष मोहसिन नकवीले सोमबार अर्थात् आज पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेट गर्न सक्ने उल्लेख गरिएको छ।
गृह मन्त्रालयले विश्वकपमा पाकिस्तान क्रिकेट टोलीको सहभागितासम्बन्धी निर्णय यही बैठकमा लिइने जनाएको छ।
विज्ञप्तिमा भनिएको छ कि पीसीबी अध्यक्षले बंगलादेश क्रिकेट टोलीलाई विश्वकपबाट बाहिर राखिएको विषयमा सम्पूर्ण अवस्था प्रधानमन्त्रीलाई जानकारी गराउनेछन् र साथै आफ्ना सिफारिसहरू पनि प्रस्तुत गर्नेछन्।
उल्लेखनीय कुरा के छ भने शनिबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गर्ने घोषणा गरेको थियो। यो निर्णय बंगलादेश क्रिकेट बोर्डले भारतमा टी–२० विश्वकपका खेलहरू खेल्न अस्वीकार गरेपछि लिइएको हो। बंगलादेशले नखेल्ने निर्णयको कारण सुरक्षा चिन्तालाई अघि सारेको छ।
आईसीसीको घोषणाअघि नै पीसीबी अध्यक्ष मोहसिन नकवीले यस विषयमा पाकिस्तान बंगलादेशको पक्षमा उभिएको बताएका थिए। एजेन्सी
प्रकाशित: १२ माघ २०८२ १२:०४ सोमबार





