पाकिस्तानी क्रिकेट टोलीका कप्तान सलमान आघाले टी–२० विश्वकपमा भारतविरुद्ध खेल नखेल्ने निर्णय पाकिस्तानी खेलाडीहरूको नभएको बताएका छन्। पाकिस्तानले घोषणा गरेको छ कि उसले टी–२० विश्वकपमा फागुन ३ (फेब्रुअरी १५) मा भारतविरुद्ध हुने खेल बहिष्कार गर्नेछ। भारत र श्रीलंकामा फागुन १ (फेब्रुअरी ७) देखि आईसीसी टी–२० विश्वकप सुरु हुँदैछ।
पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इस्लामिक गणतन्त्र पाकिस्तानको सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी हुन अनुमति दिएको छ। तर पाकिस्तान क्रिकेट टोली फागुन ३ (फेब्रुअरी १५, २०२६) मा भारतविरुद्ध तय भएको खेलमा मैदानमा उत्रने छैन।’
लाहोरमा आयोजित एक पत्रकार सम्मेलनका क्रममा सलमान अली आघासँग भारतविरुद्ध खेल नखेल्ने निर्णयबारे प्रश्न सोधिएको थियो।
यसको जवाफमा उनले भने, ‘यो हाम्रो निर्णय होइन। यसमा हामी केही गर्न सक्दैनौं। हाम्रो सरकार र हाम्रा चेयरम्यानले जे भन्छन्, हामीले त्यही गर्नुपर्छ। उनीहरूले जे भन्नुहुन्छ, हामी त्यही गर्छौं।’ एजेन्सी
प्रकाशित: १९ माघ २०८२ ०८:३७ सोमबार





