१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

‘काभा यु-१९ महिला भलिबलमा सुखद नतिजा ल्याउँछौं’

नेपाली किशोरी टोली काभा यु–१९ महिला भलिबल च्याम्पियनसिपमा आशावादी नतिजा ल्याउने लक्ष्यसहित श्रीलंका यात्रा गर्दैछ।

आगामी कात्तिक १८ गतेदेखि २३ गतेसम्म श्रीलंकाको राजधानी कोलम्बोमा काभा यु–१९ महिला भलिबल च्याम्पियनसिप हुँदैछ। उक्त च्याम्पियनसिपमा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। जहाँ नेपाल ४५ दिनको तयारीबाट सुखद नतिजा ल्याउने लक्ष्यमा छ।

माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो। ९ दिनको प्रशिक्षणबाट नै नेपाली टोलीले त्यो सफलता ल्याएको हो। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले यसपल्ट काभा यु–१९ महिला भलिबल च्याम्पिनसिप आयोजना गर्दै छ। यसका लागि लामो समयदेखि तयारी गरेकाले नेपाली टोलीले थप सुखद नतिजा ल्याउने अपेक्षा गरेको हो।

नेपाली यु–१९ महिला टोलीका मुख्य प्रशिक्षक कुमार राईले पनि लामो र प्रभावकारी प्रशिक्षण भएकाले सुखद नतिजा ल्याउने आशा गरेका हुन्। शनिबार भएको बिदाइ कार्यक्रममा प्रशिक्षक राईले यसपल्ट तयारी धेरै राम्रो भएको र नतिजा पनि राम्रो आउने आशा व्यक्त गरेका छन्। प्रशिक्षक राईले करिब ४५ दिन जति तयारी गरेको उल्लेख गरे।

 गत संस्करण नेपाली खेलाडीमा म्याच एक्सपोजर राम्रो नहुनु र उनीहरू नर्भस हुँदा सोचेअनुरूप नतिजा आउन नसकेको उनको भनाइ छ। यद्यपि, यसपल्ट खेलाडीहरूमा आत्मबल बढेको प्रशिक्षक राई बताउँछन्। राष्ट्रिय टोलीका केही सदस्यहरू नै राखेर यु–१९ टोलीलाई अभ्यास गराएको उनले उल्लेख गरे।

यस क्रममा खेलाडीले सुखद प्रदर्शन गरेकाले नतिजा पनि राम्रो आउने उनको आशा छ। यु–२० काभा च्याम्पियन किर्गिस्तानसहित नेपाल, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन्। प्रशिक्षक राईले यसपल्ट यी टोलीलाई हराउने आत्मबल रहेको बताएका छन्।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले टोलीको बिदाई गरेका थिए। सो अवसरमा मन्त्री गुप्ताले आगामी दिनमा निजी क्षेत्रले एक प्रतिशत रकम खेलकुद क्षेत्रमा खर्च गर्नुपर्ने कानुन ल्याउन अर्थ मन्त्रालयमा प्रक्रिया अगाडि बढाएको बताएका छन्। साथै उनले खेलाडीको पुरस्कार रकममा हुने कटौती हटाउन आगामी मन्त्रीपरिषद् छलफल गरिने उल्लेख गरेका छन्।

खेलाडीको परिचय अब डिजिटलमा राख्ने तयारी गरिरहेको मन्त्री गुप्ताले उल्लेख गरेका छन्। दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय पुनः दिन प्रयास गरेको मन्त्री गुप्ताले उल्लेख गरेका छन्। जेनिसा विश्वकर्माको कप्तानीमा रहेको नेपाली टोलीमा मीना सुनार, आशिका श्रेष्ठ, कुस्मा डाँगी, निसा महर, सम्झना नेपाली, एन्जिला प्रधान, प्रतिभा चौधरी, भावना तामाङ, सुनिता खत्री, रेबिका लामा र विनिता राना छन्। यो टोलीमा ६ जना सदस्य गत काभा महिला यु–२० च्याम्पियनसिप खेलका खेलाडी हुन्।  

प्रकाशित: १६ कार्तिक २०८२ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App