खेलकुदमा तुलनात्मक रूपमा कमजोर टोलीले शक्ति राष्ट्रलाई हराउँदा त्यो सनसनीपूर्ण नतिजा या नयाँ इतिहास बन्ने गर्छ। त्यस किमिसका नतिजाले कुनै पनि प्रतियोगितालाई रोमाञ्चक पनि बनाउँछ। फुटबल, क्रिकेट या विश्वकै पनि लोकप्रिय खेलका प्रतियोगितामा यस्ता नतिजाहरू आइरहन्छन्। जसको पर्खाइमा खेल समर्थक पनि हुने गर्दछन्।
भारत र श्रीलंकामा अहिले आइसिसी टी ट्वान्टी विश्वकप भइरहेको छ। पहिलो चरणको खेल सकिन लाग्दा क्रिकेट समर्थकहरू पनि यस्तै किसिमका नतिजाको पखाईमा छन्। विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। आइसिसीले क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले छोटो फरम्याटको विश्वकपमा गत संस्करणदेखि १६ राष्ट्रबाट २० टोलीसम्मको सहभागिता बढाएको हो। यसले गर्दा धेरै एसोसिएट राष्ट्रको विश्वकप खेल्ने सपना पूरा भयो। अहिले नेपालसहित ९ राष्ट्रले दसौं संस्करणको विश्वकप खेलिरहेका छन्। जहाँ उनीहरूले नयाँ छाप छाड्ने या इतिहास बनाउने आशा राखेका छन् तर अहिलेसम्म सुखद नतिजा आउन सकेको छैन। ९ राष्ट्रले नै समूहको पहिलो खेल खेले पनि अप्रत्याशित नतिजा आउन सकेको छैन।
यद्यपि, पहिलो खेलमा नेपाल र अमेरिकाले लोभलाग्दो प्रदर्शन गरे। विश्व मञ्च एसोसिएट राष्ट्रको छाप छाड्न सफल भए। पहिलो खेलमा अमेरिकाले घरेलु टोली भारतलाई कडा चुनौती दियो तर अनुभवी भारतसँग अन्ततः नतिजा स्वीकार गर्यो। नेपालले इङ्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो। खेलको अन्तिम बलसम्म दुईपल्टको विश्व च्याम्पियन इङ्ल्यान्डलाई निकै चुनौती दियो। तर, ९ बलमा १३ रन चाहिएको स्थितिलाई जितमा बदल्न सकेन। तीनपल्ट विश्वकप खेलिरहेको नेपालले अहिलेसम्म एउटा मात्र पूर्ण सदस्य राष्ट्रसँग खेल्न पाएको छ। यसले ठूला राष्ट्रसँग खेल्दा नेपालमा अनुभवको कमी देखाउँछ। जसको अभाव इङ्ल्यान्डसँगको खेलमा पनि स्पष्ट नै देखियो।
ठूला राष्ट्र खेल्दा हरेक टोलीले अनुभव मात्र सिक्दैन आत्मबल पनि बटुल्छ। जसको प्रसंग एक मात्र टेस्ट राष्ट्रसँग खेल्न पाएको नेपालले बेलाबेलामा उठाउने पनि गर्दछ। गत वर्षको सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेलेको थियो। जुन शृंखला नेपालले ऐतिहासिक रूपमा जित्न पनि सफल भयो। त्यो नेपालका लागि जित मात्र थिएन, विश्व क्रिकेटमा आगामी यात्रा गर्न बलियो आत्मबल बढाउने माध्यम पनि बन्यो। जुन प्रसंग नेपाली खेलाडी उठाउने गर्छन्। नेपालले आगामी फेब्रुअरी १२ तारिखमा इटालीसँग समूहको दोस्रो खेल खेल्दै छ। सोही खेलका लागि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेललाई एक पत्रकारले इङ्ल्यान्डजस्तो ठूला राष्ट्रसँग खेल्दा अनुभवको कमी पनि देखिएको हो भन्ने प्रश्न गरे।
जबाफमा रोहितले त्यसलाई स्वीकार गरेका थिए। उनले गत विश्वकपमा दक्षिण अफ्रिकासँग राम्रो प्रदर्शन गरेपछि आफूहरूले एउटा मात्र टेस्ट राष्ट्रसँग खेल्न पाएको उल्लेख गरे। वेस्ट इन्डिजसँगको त्यही एक खेल आफ्नो टोलीका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। आफूहरूजस्तो एसोसिएट राष्ट्रलाई ठूला टेस्ट टोलीसँग म्याच एक्सपोजर आवश्यक रहेको उनले उल्लेख गरेका थिए। ‘दक्षिण अफ्रिकाविरुद्धको खेलपछि हामीले वेस्ट इन्डिजसँग मात्र एउटा सिरिज खेलेका थियौं। त्यसपछि हामीले सोचेजस्तो ठूलो (टेस्ट) राष्ट्रसँग एक्सपोजर पाउन सकेनौं,’ रोहितले भने, ‘टेस्ट राष्ट्रहरूसँग नियमित खेल्न पाएको भए अनुभव बढ्थ्यो।’
तर, अवसर कम पाउँदा इङ्ल्यान्डको खेलमा केही मात्रामा भए पनि कमी भएको उनी स्वीकार गर्छन्। ‘ठूला राष्ट्रसँग हाम्रो क्षमता जाँच्ने अझ राम्रो अवसर मिल्थ्यो। ६/७ वटा सिरिज आवश्यक थिएन। तर, २/३ वटा मात्रै भए पनि हाम्रो क्षमता परीक्षण गर्न धेरै सहयोगी हुन्थ्यो,’ रोहितले भने, ‘तर एनपिएलले पनि हामी खेलाडीहरूलाई धेरै मद्दत गरेको छ।’ रोहितले इङ्ल्यान्ड, अस्ट्रेलिया, भारत र वेस्ट इन्डिजजस्ता राष्ट्रलाई नेपाल आउन पनि आग्रह गरे। आफ्नो देशमा पनि क्रिकेटको सुन्दर दृश्य देखिने उनको भनाइ छ। वेस्ट इन्डिजका हेड कोच डारेन सामीले क्रिकेट विकासमा मद्दत पुर्याउने आफूहरूको जिम्मेवारी रहेको बताउँछन्। ‘क्रिकेटको विकास गराउने हाम्रो पनि जिम्मेवारी हो। जुन सुकै नहोस्। एसोसिएट राष्ट्रले ठूला टिमसँग म्याच एक्सपोजर पाउनुपर्छ। अनि मात्र क्रिकेटको विकास सम्भव हुन्छ,’ सामीले भने।
जारी विश्वकप होस् या आगामी संस्करण नेपालको जस्तो राष्ट्रको सहभागितामा नै सीमित हुनु हुँदैन। यदि क्रिकेटलाई विश्व व्यापीकरण गर्ने हो भने उनीहरूलाई ठूला राष्ट्रसँग पर्याप्त म्याच एक्सपोजर आवश्यक हुन्छ। यस विश्वकपपछि रोहितको आग्रह र सामीको भनाइजस्तै नेपाली समर्थकले पनि त्रिभुवन विश्वविद्यालय क्रिकेट (त्रिवि) मैदानमा ठूला राष्ट्रलाई देख्न पाउनेछन्। तब मात्र नेपालजस्तो एसोसिएट राष्ट्रले विश्वमञ्चमा चुनौती दिन सक्नेछन्। नकआउट चरणसम्म आफ्नो उपस्थिति पुर्याउन सक्छन्। जुन, दृश्य सन् २००६ को एकदिवसीय विश्वकपमा देखिएको थियो। जहाँ केन्या सेमिफाइनलसम्म अप्रत्याशित रूपमा पुग्न सफल भयो।
प्रकाशित: २८ माघ २०८२ ०६:२६ बुधबार





