२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

विराट गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा

विराटनगरमा जारी ३८ औं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब पुगेको छ। 

विराट ट्रस्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा पुलिसले मछिन्द्र फुटबल क्लबलाई सडेन डेथमा हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको हो। विराट गोल्डकपको उपाधि विजेता दुवै टोली हुन्।  

पुलिसले जित निकाल्न धेरै संघर्ष गर्नु पर्‍यो। निर्धातिर ९० मिनेटमा पुलिसले मछिन्द्रभन्दा धेरै राम्रो गोलको अवसर पाए पनि सदुपयोग गर्न नसक्दा जित निकाल्न सडेन डेथको सहारा लिन बाध्य भयो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा समेत दुवै टोलीबाट ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलिएको थियो।

सडन डेथमा पुलिसका सुजन मगरले गोल गर्दा मछिन्द्रका श्याम मुर्मुको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले उत्कृष्ट बचाउ गरे। गोलरक्षक शत्रुधन खेलको ‘प्लेयर अफ द म्याच’ हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 

टाइब्रेकरमा पुलिसका तर्फबाट राम वाजी, सञ्जीव लामा, भरत शाह, जोन विष्ट र गोलरक्षक शत्रुधन चौधरीले गोल गरे। मछिन्द्रका रोहित चन्द, दिवाकर चौधरी, रोमन भुजेल, विशाल भण्डारी र देवेन्द्र तामाङले गोल गरेका थिए।

खेलको २० औं मिनेटमा धिरेन्द्र शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। ओसेन्द्र कटुवालको पासमा उनले गोल गरे। ३४ औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले डिबक्स भित्रबाट हेडमार्फत गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।

६५ औं मिनेटमा मछिन्द्रका जुसर विश्वकर्माको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरियो। ७० औं मिनेटमा पुलिसका विजय उरावले गोलरक्षकसँगको वान-भर्सेस-वानको अवस्थामा गोल गर्न चुके भने ७५ औं मिनेटमा सञ्जीव लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल पारे। 

पुलिस बाहेक अन्य विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब प्रतियोगिताबाट बाहिरी सकेका छन्। प्रतियोगिताअन्तर्गत मंगलबार विराटनगरको सम्राट् स्पोर्टिङ क्लब र भारत झारखण्डको बिर्सा मुण्डा स्पोट्र्स एकेडेमीबिच हुने ट्रष्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिए।

प्रकाशित: १ वैशाख २०८३ ०८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App