विराटनगरमा जारी ३८ औँ विराट गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौंको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। पूर्वविजेता सशस्त्र प्रहरी बल (एपीएफ क्लब)लाई हराउँदै चर्च ब्वाइजले सेमिफाइनल यात्रा तय गरेको हो।
विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार राति भएको खेलमा चर्च ब्वाइजले एपीएफलाई १–० गोलमा पराजित गरेको थियो। वैशाख १ गते स्थानीय क्लब विराटनगरको सम्राट स्पोर्टिङ क्लब र भारत झारखण्डको अल झारखण्ड बिर्सा मुन्डा फुटबल एकेडेमीबीचको विजेतासँग वैशाख ३ गते सेमिफाइनल खेल्ने छ।
खेलको २७ औँ मिनेटमा चर्च ब्वाइजका समीर तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। आशिष सोनामले दायाँ भागबाट उपलब्ध गराएको क्रस पासलाई नियन्त्रणमा लिँदै समीरले जाली चुमाएका थिए। खेलको नायक समीर प्लेयर अफ द म्याच हुँदै ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
एपीएफले पाएको गोलका धेरै अवसरको सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो। केही राम्रो अवसर पाए पनि चर्च ब्वाइजले गोल संख्या बढाउन सकेन।
२०७८ सालमा भारतीयको पन्जाब पुलिसलाई हराएर उपाधि जितेको एपीएफ यस पटक पहिलो खेलबाट घर फर्कियो। प्रतियोगिताअन्तर्गत सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबिच खेल हुनेछ।
प्रकाशित: ३० चैत्र २०८२ ०७:५२ सोमबार





