१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
खेल

कविताको ह्याट्रिकबाट भानुआटु पराजित

कविता कुँवरको ह्याट्रिकमा नेपालले भानुआटुलाई फराकिलो अन्तरले हराउँदै आइसिसी महिला टी ट्वान्टी च्यालेन्ज ट्रफीको उपविजेता बन्ने सम्भावना बलियो बनाएको छ।

रुवान्डामा जारी ट्रफीको लिगअन्तर्गत आफ्नो सातौं खेलमा नेपालले बिहीबार भानुआटुमाथि ८३ रनको फराकिलो जित निकाल्दै बदला लिन सफल भयो। यसअघि लिगको पहिलो भेटमा भने नेपाली टोली भानुआटुसँग पराजित भएको थियो। यसपल्ट भने ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शनपछि नेपाली टोलीले पुछारको भानुआटुलाई सहजै हरायो। लिगको सातौं खेलबाट चार जित निकाल्दै नेपालको आठ अंक छ। समान खेलबाट घरेलु टोली रुवान्डाको पनि आठ अंक नै छ तर नेट रनरेटका आधारमा नेपाल दोस्रो र रुवान्डा तेस्रो स्थानमा छन्। लिगको अन्तिम खेलमा नेपालले इटाली र रुवान्डाले शीर्ष स्थानको अमेरिकासँग खेल्नेछ।

यो खेलमा नेपाली टोली फराकिलो अन्तरमा जित निकाल्न सके प्रतियोगितामा दोस्रो हुनेछ। यसअघि पहिलो भेटमा घरेलु टोली रुवान्डाले अमेरिकालाई हराएको थियो। घरेलु टोली यसपल्ट पनि सोही नतिजा दोहोर्‍याउने पक्षमा हुनेछ। शीर्ष स्थानको अमेरिकाले सात खेलमा एक मात्र हार रुवान्डासँग बेहोरेको हो। लिगको अन्तिम खेल जित्दै अमेरिका त्यसको बदला लिन चाहान्छ। यस प्रतियोगिताभर नेपाली टोलीले खराब ब्याटिङ गरेको छ तर भानुआटुसँग भने सुधारिएको ब्याटिङ गर्‍यो। यससँगै नेपालले यस प्रतियोगितामा सबैभन्दा ठूलो लक्ष्य पनि दियो। बलिङमा पनि साथ पाउँदा नेपाली टोली लक्ष्य रक्षा गर्न सफल भयो।

नेपालको जितमा कविताले ह्याट्रिकसहित ६ विकेट पूरा गरिन्। उत्कृष्ट बलिङ गरेकी कविता प्लेयर अफ दी म्याच बनिन्। ओपनर सम्झना खड्काले ५२ रनको अर्धशतक बनाइन्। कविताले ह्याट्रिकसहित ६ विकेट लिँदै सानदार बलिङ गरिन्। गाहाङ्गा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले एक सय ३३ रनको लक्ष्य दियो तर भानुआटु १६.४ ओभरमा ४९ रनमा नै अलआउट हुन पुग्यो। नेपाली बलर सामु भानुआटुका कुनै पनि लामो समय क्रिजमा टिक्न सकेनन्। दुई ब्याटरले मात्र दोहोरो अंकमा सानो व्यक्तिगत रन बटुल्न सके। ओपनर भ्यालेन्टा लान्गियाटुले १४ रन र नासिमाना नभैकाले ११ रन बनाए।

अन्यले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। पाँच बलर प्रयोग गरेको नेपालले उत्कृष्ट बलिङ गर्‍यो। कविताले सानदार बलिङ गर्दै १५औं ओभरमा ह्याट्रिक पूरा गरिन्। उनले पहिलो बलमा गिलियान चिलिया, दोस्रो बलमा अल्भिनस चिलिया र तेस्रो बलमा अन्ना गिफिनलाई डक आउट गर्दै ह्याट्रिक पूरा गरिन्। कविताले ३.४ ओभरमा एक मेडनसहित पाँच रन दिँदै ६ विकेट लिइन्। पूजा महतो र रचना चौधरीले समान दुई विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा मात्र तीन विकेट गुमाएर एक सय ३२ रन जोड्यो। ओपनरद्वय सम्झना र पूजाले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरे। पूजा १९ रनमा आउट भइन्। बिन्दु रावल ७ रनमा र रुबि पोद्दार १ रनमा आउट भए तर सम्झना क्रिजमा जमिन्।

५१ बलमा उनले ९ चौका प्रहा गरिन्। सम्झानाको यो टी ट्वान्टी आईमा दोस्रो अर्धशतक हो। कप्तान इन्दु बर्माले पनि उत्कृष्ट ब्याटिङ गरिन्। इन्दुले १८ बल खेल्दै अविजित ४३ रन जोडिन्। उनको इनिङमा सात चौका रह्यो। नेपालले भानुआटुसँग पहिलो खेलमा २२ रनको हार बेहोरेको थियो। बिहीबार बलिङ र ब्याटिङ चल्दा नेपाली टोलीले त्यसको बदला लिन सफल भयो।  

प्रकाशित: १८ वैशाख २०८३ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App