नेपाली अल्ट्रा/ट्रेल रनर दावा तामाङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (युटिएमबी) मा प्रतिस्पर्धा गर्ने भएका छन्।
आगामी मंसिर १२ गते अस्ट्रेलियाको न्यु साउथवेल्समा कोस्की १०० अल्ट्रा/ट्रेल हुनेछ। उक्त अल्ट्रा दौडमा नेपालका धावक धावाले चुनौती प्रस्तुत गर्ने भएका हुन्। दावाको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि हो। उक्त दौडमा सहभागी हुन दावा आगामी शनिबार अस्ट्रेलिया जाने तयारीमा छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बिहीबार आयोजित कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दावालाई बिदाइ गरेका थिए। दावा शनिबार अस्ट्रेलिया जाँदै छन्। उनी रसुवा जिल्लाको कालिका गाउँपालिका–१ का अध्यक्ष पनि हुन्।
कराते खेलाडी र प्रशिक्षकसमेत रहेका दावाले एक सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन्। करिब १ वर्षदेखि उनी यो विधामा सक्रिय छन्। वर्ल्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको छ।
बिदाइ कार्यक्रममा दावाले सामाजिक सेवा र खेललाई सँगै अगाडि बढाउन सकिने उल्लेख गर्दै यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्व सिरिजमा छनोट हुने आशा व्यक्त गरेका छन्। जनप्रतिनिधि र आफ्नो व्यावसाय दुवै स्थानमा समय दिने र खेलका लागि दैनिक दुई घन्टा खर्चिए खेलकुदमा अगाडि बढ्न सक्ने उनले बताएका छन्।
प्रकाशित: ५ मंसिर २०८२ ०७:५४ शुक्रबार





