वर्षाले प्रभावित नेपाल र युएईबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा युएईले जितका लागि १० ओभरमा ७८ रनको संशोधित लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भारी वर्षाका कारण खेल रोकिएपछि डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा युएईको लक्ष्य तय गरिएको हो।
नेपालले टस जितेर ब्याटिङ गर्दै १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो। पहिलो इनिङ्स सकिन मात्र ७ बल बाँकी रहँदा खेल रोकिएपछि नेपालले पुनः ब्याटिङ गर्न पाएन र युएईको इनिङ्सलाई १० ओभरमा छोट्याइएको छ।
नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ रनको महत्त्वपूर्ण अविजित इनिङ्स खेले। यस्तै, बसिर अहमदले २०, कुशल मल्लले १७ र कुशल भुर्तेलले १६ रनको योगदान दिए।
अन्य ब्याट्सम्यानहरूमा अर्जुन साउद र नन्दन यादवले समान १३–१३ रन बनाए भने सन्दीप जोराले ६ र गुल्शन झाले १ रन जोडे। सन्दीप लामिछाने २ रनमा नटआउट रहँदा शेर मल्ल शून्य रनमै पभेलियन फर्किएका थिए।
युएईका बलर मोहमद जुहैबले घातक बलिङ गर्दै ३ विकेट लिए। यस्तै, जुनैद सिद्दिकीले २ विकेट लिँदा हैदर अली र मुहमद अर्फानले समान १–१ विकेट हात पारे।
नेपाल र युएईबीच जारी दुई खेलको शृंखला अन्तर्गतको दोस्रो तथा अन्तिम खेल भोलि मंगलबार सोही मैदानमा हुनेछ।
प्रकाशित: ७ वैशाख २०८३ २०:०२ सोमबार





