संयुक्त अरब इमिरेट्स (युएई) पनि आगामी वर्ष श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकपमा स्थान बनाउन सफल भएको छ।
ओमानमा जारी आइसिसी टी ट्वान्टी विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक क्वालिफायरको सुपर सिक्सको शीर्ष तेस्रो स्थानमा रहेपछि युएई आगामी विश्वकपका लागि छनोट भएको हो।
तेस्रो स्थानको दाबेदार जापानमाथि आठ विकेटको जित निकाल्दै युएई तेस्रोपल्ट टी ट्वान्टी विश्वकपमा छनोट भएको छ। यससँगै आगामी सन् २०२६ मा हुने विश्वकप खेल्ने २०औं तथा अन्तिम टोलीको पनि टुङ्गो लाग्यो। एसिया क्षेत्रबाट छनोट हुने युएई तेस्रो टोली हो। यसअघि बुधबार नै नेपाल र घरेलु टोली ओमान शीर्ष दुई स्थानमा रहँदै आगामी विश्वकपको टिकट काटिसकेका छन्। यो महादेशबाट नेपाल र ओमानले लगातार दोस्रोपल्ट विश्वकप खेल्न लागेका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गत संस्करण एसियाबाट दुई राष्ट्रले विश्वकप खेल्ने प्रावधान राखेको थियो। तर, यसपल्ट भने एसियालाई एउटा कोटा थप गरेको हो। जहाँ युएई आगामी विश्वकपमा छनोट हुने एसियाबाट तेस्रो र विश्वको २०औं टोली बन्न पुगेको छ।
एसिया छनोटमा यी तीन टोलीसहित कुल ९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। जसमा गत संस्करण विश्वकप खेलेको पपुवा न्युगिनी पनि समावेश थियो तर पपुवा न्युगिनीले समूहचरण नै पार गर्न सकेन। ओमान पनि रहेको उक्त समूहमा सामोआले पपुवा न्युगिनीलाई हराउँदै सनसनी मच्चायो। पपुवा न्युगिनी समूहको दुवै खेलमा पराजित हुँदा विश्वकपमा पुग्न असफल भयो।
समूहमा शीर्ष दुई स्थानमा रहेको सामोआले सुपर सिक्समा भने एउटा पनि खेल जित्न सकेको छैन। सुपर सिक्सको अन्तिम खेलमा सामोआले नेपालसँग शुक्रबार खेल्दै छ। सुपर सिक्सका ६ टोलीमध्ये शीर्ष तीन राष्ट्रले एसियाबाट विश्वकप खेल्ने प्रावधान हो।
बिहीबार युएई र जापानबीचको खेलले नै विश्वकपमा पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्ने समीकरण थियो। छनोटमा उत्कृष्ट नतिजा दिएको जापानले निर्णायक खेलमा पनि बाजी मार्न सकेन। ब्याटिङ चल्न नसक्दा सहजै नतिजा युएईलाई सुम्पिन बाध्य भयो। जापानले समूहचरणमा नेपालजस्तो टोलीलाई चुनौती दिएको थियो। सुपर सिक्समा सामोआलाई ४ रनले हराएको जापान कतारसँग भने जितनजिक पुगेर पनि पराजित भयो।
अन्तिम दुई ओभरमा २६ रन जोगाउन नसक्दा जापानले कतारलाई नतिजा सुम्पिएको हो। यो नतिजा नै उसका लागि घातक बन्यो। निर्णायक खेलमा युएईसँग भने जापानको ब्याटिङ चल्न सकेन। जापानले एक सय १७ रनको सामान्य लक्ष्य दिएको थियो। त्यो लक्ष्य अनुभवी युएईले १२.१ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो। लयमा रहेका ब्याटर अलिसान सरफुले ४६ रन र कप्तान मुहम्मद वासिमले ४२ रनको योगदान गरे। यी दुईले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए। त्यसपछि मयंक कुमार १३ रन र राहुल चोप्रा १४ रनमा अविजित रहँदै युएईलाई सहज जित दिलाए।
जापानको बलिङमा डिक्लेन सुजुकी र इब्राहिम ताकाहासीले समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापान निर्धारित ओभरमा ९ विकेट गुमाउँदै एक सय १६ रन मात्र जोड्न सक्यो। राम्रो सुरुआत पाउन नसकेको जापानका लागि नवौं नम्बरका ब्याटर वातारु मियाउची ४५ रनमा नटआउट रहे। लयमा रहेका ब्याटर इसाम रहमान पनि चल्न सकेनन्। उनी २३ रनमै आउट भए। कप्तान तथा ओपनर केन्डेल फ्लेमिङ पनि ४ रनमा नै पभेलियन फर्किए। आशातीत ब्याटर चल्न नसक्दा जापान सस्तैमा रोकिएको हो। युएईको बलिङमा हैदर अलीले तीन तथा मुहम्मद इर्फानले दुई विकेट लिए। जुनैद सिद्दिकी, ध्रुव परासर र जाहिदी अलीले समान एक विकेट लिँदै युएईको बलिङमा साथ दिए।
प्रकाशित: ३१ आश्विन २०८२ ०६:५९ शुक्रबार





