२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

यूएई १४७ रनमा अलआउट, दयानन्द एक्लैले लिए ६ विकेट

एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य पाएको छ।

फाइनल खेलमा नेपालको घातक बलिङसामु निरीह बनेको आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ४५.५ ओभरमा १४७ रनमै अलआउट भयो।

नेपाललाई सस्तैमा समेट्न स्पिनर दयानन्द मण्डल एक्लैले ६ विकेट लिएर यूएईको ब्याटिङ लाइनअप ध्वस्त पारे।

अजमानस्थित कर्वन क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राख्यो। इनिङको पहिलो ओभरको पहिलो बलमै दयानन्द मण्डलले यूएईका कप्तान ययीन राई (०) लाई आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए।

त्यसपछि यूएईका ब्याटरहरू क्रिजमा टिक्नै सकेनन्। जैनुल्लाह रहमानी (२), आयान मिसबाह (११) र मोहम्मद रायन खान (०) लाई गुमाउँदा यूएईको स्कोर ६.५ ओभरमा जम्मा २० रन थियो र ४ विकेट गुमिसकेको थियो।

पृथ्वी मधु (४) पनि सस्तैमा आउट भएपछि ४४ रनमा ५ विकेट गुमाएर यूएई दयनीय स्थितिमा पुगेको थियो।

एकतर्फी जस्तै देखिएको खेलमा यूएईका लागि अहमद खुदादादले एक छेउबाट इनिङ सम्हाले। उनले १२६ बलको सामना गर्दै ६ चौकाको मद्दतमा सर्वाधिक ७१ रनको अर्धशतकीय पारी खेले। उनलाई नुरउल्लाह अयोबीले राम्रो साथ दिए। अयोबीले २६ रन बनाए।

छैठौं विकेटका लागि खुदादाद र अयोबीबीच ५६ रनको साझेदारी भएपछि यूएईले १०० रनको आँकडा पार गर्न सक्यो। तर, यो साझेदारी टुट्नासाथ यूएईको तल्लो क्रम पुनः धराशायी बन्यो। अन्तिममा सालेह अमिनले ५ र अली असगरले २ रन मात्र जोड्न सके।

नेपालको बलिङमा दयानन्द मण्डल नायक सावित भए। उनले ६.५ ओभर बलिङ गर्दै २ मेडन राखेर केवल १७ रन खर्चिदै ६ विकेट लिए।

त्यस्तै, अर्का स्पिनर अपराजित पौडेलले १० ओभरमा ३९ रन दिएर २ विकेट लिए। कप्तान अशोक धामीले १० ओभरमा ४ मेडन राख्दै मात्र ९ रन दिएर १ विकेट लिए भने नितेश कुमार पटेलले १ विकेट हात पारे।

अब उपाधि जित्नका लागि नेपालले ५० ओभरमा १४८ रन बनाउनुपर्नेछ। यो खेल जिते नेपाल एसीसी यू–१९ एसिया कपका लागि छनोट हुनेछ।

प्रकाशित: १५ मंसिर २०८२ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App