१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

यु-१९ एसिया कप: पाकिस्तानलाई उपाधि

भारत आइतबार दुबईको आइसिसी एकेडेमी मैदानमा पाकिस्तानविरुद्ध हुने एसिसी यु–१९ एसिया कपको फाइनलमा दाबेदारको रूपमा प्रवेश गरेको थियो। तर इतिहासले पटकपटक देखाउँदै आएको छ कि पाकिस्तान दबाबमा, विशेष गरी ठूला खेलहरूमा, अझ बलियो प्रदर्शन गर्छ,  र यसपटक पनि उसले त्यही परम्परा दोहोर्‍यायो।

फरहान युसुफको कप्तानीमा पाकिस्तानी युवाले सोही इतिहासलाई प्रमाणित गरे। यस क्रममा पाकिस्तानी युवा टोलीले कुनै पनि गल्ती गरेन। सोही प्रदर्शनका कारण पाकिस्तानी युवा टोलीले फाइनलमा भारतलाई एक सय ९१ रनको फराकिलो  हार चखायो।

दुबईको आइसिसी एकेडेमी मैदानमा पाकिस्तानी युवा टोलीले यु–१९ एसिया कपको उपाधि उचाल्यो। यो हारसँगै भारत निकै दबाबमा परेको छ। यु–१९ विश्वकप तयारीको अन्तिम चरणमा रहेको समय भारतीय युवा टोलीले धेरै प्रश्नको सामना पनि गरेको छ।

पाकिस्तानले फाइनलमा ब्याटिङबाट नै भारतीय टोलीमाथि दबाब बनाएको थियो। तीन सय ४८ रनको विशाल लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले सफलता पाउन सकेन। यद्यपि, वैभव सूर्यवंशीले आक्रामक सुरुआत दिलाएका थिए। उनले पहिलो ओभरमै २१ रन जोडे तर अर्को छेउमा रहेका कप्तान आयुष म्हात्रे ठूलो इनिङ खेल्न असफल भए। उनी अली रजाको बलमा दुई रनमै युसुफद्वारा क्याच  भए। त्यसपछि आएका आरोन जर्जले चार चौका प्रहार गर्दै राम्रो सुरुआत गरे। उनी पनि चौथो ओभरमा मोहम्मद सैयामको बलमा आउट भए।

पाकिस्तानले शीर्ष दुई विकेट छिटै पभेलियन फर्कायो। तर पनि सूर्यवंशीले ठूलो सट खेल्ने प्रयास गरे। यद्यपि उनी पनि आउट भए।  ब्याक अफ लेन्थ बललाई ड्राइभ गर्न खोज्दा उनी विकेटकिपरको हातमा क्याच हुन पुगे। अली रजाकै बलमा २६ रनमा आउट भए। यससँगै भारत ४९/३ को कठिन अवस्थामा पुग्यो।

मध्यक्रमका ब्याटरहरूका लागि लक्ष्य अझै पहाडजस्तै बन्यो। सूर्यवंशीको सुरुआती आक्रमणपछि पाकिस्तानका बलरहरूले पनि धैर्यता गुमाएनन्। अली रजा, मोहम्मद सैयाम र अब्दुल सुबहानले भारतीय ब्याटरहरूलाई लगातार दबाबमा राखे। जसको सामना गर्न भारत असफल रह्यो। अली रजा ६.२ ओभरमा ४/४२ को उत्कृष्ट प्रदर्शनसहित सबैभन्दा सफल बलर बने।

सुबहान भने सबैभन्दा प्रभावशाली देखिए। उनले ८ ओभरमा २/२९ को किफायती बलिङ गरे। दीपेश देवेन्द्रनले अन्त्यतिर केही आकर्षक सट प्रहार गर्दै भारतीय समर्थकलाई रमाइलो गराए। उनी क्रिजमा आउँदासम्म खेल भारतको हातबाट धेरै पहिले नै फुत्किसकेको थियो।

मिन्हास बने खेलका नायक

यसअघि भारतीय कप्तान म्हात्रेको पहिले बलिङ गर्ने निर्णय उल्टो साबित भयो। पिचमा भारतीय बलरहरूले लय समाउन सकेनन्। ओपनर समीर मिन्हासले त्यसको भरपूर फाइदा उठाए। उनले ११३ बलमा एक सय ७२ रन बनाए। उनले एसिसी यु–१९ एसिया कप फाइनलमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान पनि बनाए। उनको इनिङमा १७ चौका र ९ छक्का रह्यो।

मिन्हासको आक्रामक शतकीय इनिङमा पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय ४७ रनको योगफल बनायो। दायाँहाते मिन्हासले सुरुआतदेखि नै भारतीय बलरमाथि दबाब सिर्जना गरे। उनले अफसाइड र अनसाइड दुवैतर्फ लगातार ठूला सट खेले।

रन रोक्न स्पिनरहरू प्रयोग गरिए पनि मिन्हास उनीहरूप्रति पनि उस्तै आक्रामक देखिए। स्पिनविरुद्ध उनको सबैभन्दा प्रभावशाली पक्ष खुट्टा प्रयोग गर्दै ब्याटले बललाई स्ट्यान्डमा पुर्याउने आत्मविश्वास थियो।  उनी डिफेन्सभन्दा ठूलो सट खेल्ने निर्णयमा उनी दृढ देखिन्थे।

मिन्हासले २९ बलमै अर्धशतक पूरा गरे। त्यसपछि थप ४२ बलमा शतक पूरा गरे।  देवेन्द्रनको फुल टसमा चौका प्रहार गर्दै  उनले शतक पूरा गरेका थिए। उनले उस्मान खानसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे। त्यसपछि उनले अहमद हुसेनसँग १२५ बलमा १३७ रनको साझेदारी गर्दै भारतलाई विशाल लक्ष्य पछ्याउन बाध्य बनाए।

अन्ततः देवेन्द्रनले नै मिन्हासको विकेट लिए तर त्यसअघि मिन्हासले देवेन्द्रनको बलिङमा मात्र ५२ रन जोडेका थिए। जुन आइतबार कुनै पनि भारतीय बलरले खाएको सबैभन्दा धेरै रन थियो। उनले अफ स्पिनर कनिष्क चौहानविरुद्ध पनि २८ बलमा ४२ रन जोड्दै टी ट्वान्टी फम्र्याटको जस्तै प्रदर्शन गरे।

प्रकाशित: ७ पुस २०८२ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App