१८ असार २०८३ बिहीबार
image/svg+xml
खेल

इतिहास रच्ने तयारीमा दुई भेट्रान

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच शुक्रबार हुने फिफा विश्वकपको अन्तिम ३२ को भिडन्तमा आमनेसामने हुँदा इतिहास रच्ने तयारीमा छन्।

विश्वकप इतिहासमा पहिलोपल्ट ४० वर्षमाथिका यी दुई समकालीन स्टार एकअर्काविरुद्ध खेल्न लागेका हुन्। यी दुवैले इतिहास रच्ने अवसरसँगै अर्को चुनौती पनि सामना गरिरहेका छन्। उनीहरू लामो समयसम्म आफ्ना देशका लागि राष्ट्रिय नायक हुन्, जो अहिले आलोचनाको घेरामा छन्। उनीहरूको उपस्थितिले टोलीलाई फाइदा छ कि उल्टै बोझ बनिरहेको छ भन्ने बहस चुलिएको छ। यस विश्वकपअघि ४० वर्षको उमेर पार गरेपछि आउटफिल्ड खेलाडीका रूपमा विश्वकप खेल्ने एक मात्र खेलाडी क्यामरुनका रोजर मिल्ला थिए। तर यस पटक रोनाल्डो र मोड्रिच त्यो सूचीमा थपिएका छन्। रोनाल्डो र मोड्रिचले रियाल मड्रिड (६ सिजन) मा सँगै खेल्दै चारपटक युइएफए च्याम्पियन्स लिग जितेका थिए। यी दुई दिग्गजले लामो समयसम्म उमेरलाई चुनौती दिएका छन्।

तर विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा सम्भवतः अन्तिम पटक उत्रँदा खेलमा उनीहरूको उमेरको प्रभाव पनि देखिन थालेको छ। उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै ४१ वर्षे रोनाल्डोले ‘म फर्किएको छु’ भन्दै उत्साहपूर्ण प्रतिक्रिया दिएका थिए। त्यही प्रदर्शनसँगै उनी विश्वकपका लगातार ६ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने। तर विश्व वरीयताको ६०औँ स्थानमा रहेको उज्बेकिस्तानमाथि ५–० को सहज जितबाहेक पोर्चुगलले समूहचरणमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो र कोलम्बियालाई हराउन सकेन। त्यसको परिणामस्वरूप टोली नकआउट चरणमा कठिन मानिएको ब्राकेटमा पुगेको छ। विश्वकप सुरु हुनुअघि नै आफ्नो आलोचनाबारे प्रतिक्रिया दिँदै रोनाल्डोले टोलीको प्रदर्शन नआउँदा आलोचना हुने उल्लेख गरेका थिए।

‘व्यावसायिक फुटबल खेलेको २३ वर्ष भयो। जब टोलीको प्रदर्शन राम्रो हुँदैन सबैले ‘क्रिस्टियानो सकियो। ऊ बुढो भयो’ भन्न थाल्छन्,’ उनले भनेका थिए। समूहचरणका तीनवटै खेलमा उनले पूरा ९० मिनेट खेलेका छन्। पोर्चुगलका बिदाइ हुन लागेका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पाँच पटकका बालोन डिओर विजेता रोनाल्डोलाई बेन्चमा राख्ने कुनै संकेत दिएका छैनन्। कोलम्बियाविरुद्ध रोनाल्डोले विपक्षीको पेनाल्टी क्षेत्रभित्र दुई पटक मात्र बल छोए पनि रोनाल्डोको पक्षमा मार्टिनेज देखिए। ‘आजको फुटबलमा क्रिस्टियानोका लागि शारीरिक वा मानसिक रूपमा ९० मिनेट खेल्न कुनै समस्या छैन,’उनले भने।

रोनाल्डोको प्रतिष्ठा जोगाउने प्रयास

चार वर्षअघि कतार विश्वकपको सुरुआतमा पनि रोनाल्डोको प्रदर्शन अपेक्षाअनुसार थिएन। तत्कालीन प्रशिक्षक फर्नान्डो सान्तोसले उनलाई बेन्चमा राख्दै गोन्जालो रामोसलाई मौका दिए र त्यसको तुरुन्तै प्रभाव देखियो।

एसी मिलानका फरवार्ड रामोसले स्विट्जरल्यान्डविरुद्ध ६–१ को सानदार जितमा ह्याट्रिक गरे। तर क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजयपछि रोनाल्डो पुनः टोलीमा फर्किए र अन्ततः सान्तोसले पनि प्रशिक्षक पद गुमाए। त्यसयता मार्टिनेजले पनि प्रतिभाशाली नयाँ पुस्तालाई पूर्ण रूपमा प्रयोग गर्न नसकेको र रोनाल्डोको प्रतिष्ठा जोगाउन अत्यधिक प्राथमिकता दिएको भन्ने आलोचना बढ्दै गएको छ। पोर्चुगलसँग विश्वकै उत्कृष्ट मिडफिल्डमध्ये एक मानिने खेलाडीहरूको समूह छ। त्यसका बावजुद पेरिस सेन्ट जर्मेनका जोआओ नेभेस र अहिले मड्रिडबाट खेलिरहेका बर्नार्डो सिल्भाजस्ता स्टार खेलाडी कोलम्बियाविरुद्ध बेन्चमै थिए।

बलियो मिडफिल्डको साथ पाए पनि उज्बेकिस्तानविरुद्ध गरेका दुई गोल नै पछिल्ला १४ प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलमा रोनाल्डोले पेनाल्टीबाहेक गरेका एक मात्र गोल हुन्। उता मोड्रिचको अवस्थाले पनि उमेरको प्रभाव देखाएको छ। डलासमा इङ्ल्यान्डविरुद्ध पहिलो खेलमा क्रोएसिया ४–२ ले पराजित हुँदा उनी अपेक्षाअनुसार प्रभावशाली देखिएनन्।

इङ्ल्यान्डको पहिलो गोलको क्रममा उनी नानी माडुएकेलाई फाउल गर्न पुगेपछि पेनाल्टी दिए। त्यसपछि प्रशिक्षक ज्लाट्को डालिचले एक घण्टा पूरा हुनुअघि नै उनलाई मैदानबाट बाहिर निकाले। त्यसपछि क्रोएसियाले उत्कृष्ट पुनरागमन ग¥यो। मोड्रिचको २००औं अन्तर्राष्ट्रिय खेलमा पानामामाथि १–० को जित निकाल्दै टोलीले नकआउट यात्रालाई बलियो बनायो।

त्यस उपलब्धिसँगै मोड्रिच २०० अन्तर्राष्ट्रिय खेल पूरा गर्ने विश्वका चौथो खेलाडी बने। यसअघि रोनाल्डोले यो उपलब्धि हासिल गरिसकेका छन्। त्यसपछि घानाविरुद्ध २–१ को जितमा निकोला भ्लासिचको निर्णायक गोलका लागि मोड्रिचले नै पास मिलाएका थिए। सन् २०१८ मा विश्वकपको उपविजेता क्रोएसिया २०२२ मा पनि सेमिफाइनलसम्म पुगेको थियो। चार करोडभन्दा कम जनसंख्या भएको देशका लागि ती ऐतिहासिक यात्राको केन्द्रमा मोड्रिच नै थिए। शुक्रबारको खेलको विजेताले टोरन्टोमा सम्भावित अन्तिम १६ मा स्पेनसँग भिड्ने अवसर पाउनेछ। यो चुनौती पार गर्न सके रोनाल्डो या मोड्रिचको देशले विश्वकप उपाधिको अन्तिम सपना जीवित राख्नेछ। तर फुटबल इतिहासका दुई महान् खेलाडीमध्ये एकका लागि भने क्यानडाको भूमिमा विश्वकप यात्रा यही चरणबाट अन्त्य हुनेछ।

प्रकाशित: १८ असार २०८३ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App