इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन्। पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सको सामना गर्दैछ।
बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने यस खेलमा साविक विजेता बेंगलुरु पञ्जाब किंग्सलाई उछिन्दै लिगको शीर्ष स्थानमा उक्लने दाउमा छ। हाल उत्कृष्ट लयमा रहेका विराट कोहली यस सिजनको सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनले गर्दा आजको खेलमा दिल्लीका बलरहरूलाई ठूलो चुनौती हुने देखिन्छ।
यस्तै, साँझ हुने दोस्रो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सको सामना गर्नेछ। हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने यस खेलमा आयोजक टोली उच्च मनोबलका साथ मैदान उत्रनेछ। हैदराबादले आफ्नो अघिल्लो खेलमा राजस्थानमाथि ५७ रनको फराकिलो जित निकालेको थियो। अर्कोतर्फ, चेन्नईका अनुभवी खेलाडी एमएस धोनी चोटका कारण आजको खेलमा पनि मैदान बाहिरै रहने सम्भावना छ। यसले चेन्नईको रणनीतिमा केही असर पार्न सक्ने देखिएको छ।
गुजरातद्वारा कोलकाता पराजित
यसअघि हिजो भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि ५ विकेटको रोमाञ्चक जित हात पारेको थियो। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको उक्त खेलमा कोलकाताले दिएको १८१ रनको लक्ष्यलाई गुजरातले २ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो।
गुजरातका कप्तान शुभमन गिलले ८६ रनको सानदार कप्तानी इनिङ खेल्दै टोलीलाई जित दिलाए। यस जितसँगै गुजरात अंक तालिकाको शीर्ष चारमा उक्लिएको छ भने कोलकाता लगातार छैटौँ हारसँगै तालिकाको पुछारमा झरेको छ।
प्रकाशित: ५ वैशाख २०८३ १०:१७ शनिबार





