३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

टप एण्ड टी-२० सिरिजः नेपालको पहिलो जित, होबर्ट हुरिकेन्स ६६ रनले पराजित

अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ ।  

आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो । नेपालले यसअघिका तीनै खेलमा हार भोगेको थियो ।  मंगलबारको जितसँगै नेपाल, ११ टोली सहभागी प्रतियोगिताको आठौं स्थानमा उक्लिएको छ । 

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबर्ट १६.१ ओभरमा मात्र ११४ रनमा अलआउट भयो । हुरिकेन्सका लागि ब्राड्ली होपले सर्वाधिक ३१ रन बनाए । चार्ली वाकिम २८ र ज्याक कर्टेनले २१ रन बनाएको हुरिकेन्सको इनिङ्समा सात ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।  

नेपाललाई पहिलो जित दिलाउन नन्दन यादवले ५ विकेट लिए । राष्ट्रिय जर्सीमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका नन्दनले ३ ओभरमा मात्र १७ रन दिएर उक्त विकेट लिएका हुन् । कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, रिजन ढकाल र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो ।  

यसअघि डर्विनको काजालिस ऐरेनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको हो ।  

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान गरे । आसिफ शेख २९, कुशल भुर्तेल २७ र भिम सार्की १८ रनमा आउट हुँदा लोकेश बमले नटआउट २५ रनको पारी खेले ।  

कप्तान रोहित पौडेल र कुशल मल्लले भने दोहोरो अंकको स्कोर छुन सकेनन् । होवर्टले ३१ रन अतिरिक्त दिएको थियो ।  

होबर्टका लागि निभेथन राधाकृष्णन र राफ म्याकमिलनले समान २ विकेट लिए ।  

नेपालले आफ्नो पाँचौ खेलमा बुधबार मेलवर्न रेनिगेड्स एकेडेमीसँग खेल्नेछ । 

प्रकाशित: ३ भाद्र २०८२ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App