विश्वकपको फाइनल पुग्ने सपना समाप्त भए पनि इङ्ग्ल्यान्ड र फ्रान्स काँस्य पदकका लागि शनिबार राति अर्थात् नेपाली समयअनुसार आइतबार बिहान पौने ३ बजे प्रतिस्पर्धा गर्दै छन्।
बुधबार अर्जेन्टिनासँग पराजित भएपछि उपाधि जित्ने सपना चकनाचुर भएको इङ्ग्ल्यान्डका लागि यो खेल ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
सन् १९६६ यता पुरुष फुटबलमा पहिलो ठूलो उपाधिको प्रतीक्षा गरिरहेको इङ्ग्ल्यान्ड र फ्रान्सबीचको यो भिडन्त कम्तीमा तीन वटा कारणले महत्त्वपूर्ण सावित हुने देखिन्छ।
‘गोल्डेन बुट’ को प्रतिस्पर्धा
इङ्ग्ल्यान्ड र फ्रान्स दुवै टोलीका खेलाडीहरू व्यक्तिगत रूपमा प्रतिष्ठित ‘गोल्डेन बुट’ को होडमा छन्। फ्रान्सका कप्तान किलियान म्बाप्पे ८ गोल र ३ असिस्ट सहित दोस्रो स्थानमा छन् भने अर्जेन्टिनाका लियोनेल मेस्सी ८ गोल र ४ असिस्ट सहित शीर्ष स्थानमा छन्।
मेस्सीले फाइनलमा र म्बाप्पेले तेस्रो स्थानको खेलमा प्रतिस्पर्धा गर्ने भएकाले म्बाप्पेसँग मेस्सीलाई पछि पार्ने अवसर छ। यदि म्बाप्पेले थप गोल वा दुई असिस्ट गरेमा उनले सन् १९९० मा इङ्ग्ल्यान्डविरुद्धको तेस्रो स्थानकै खेलमा गोल गरेर गोल्डेन बुट जितेका इटालीका साल्भातोरे स्किलाचीको ऐतिहासिक उपलब्धि दोहोर्याउन सक्नेछन्।
यस्तै, ६/६ गोल गरेका इङ्ग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम पनि यसै प्रतिस्पर्धामै छन्।
इङ्ग्ल्यान्डका लागि ऐतिहासिक मौका
उपाधि दौड सकिए पनि फ्रान्सलाई हराउन सके इङ्ग्ल्यान्डले पछिल्लो ६० वर्षयताकै उत्कृष्ट विश्वकप नतिजा निकाल्नेछ। सन् १९६६ को उपाधियात्रा पछि इङ्ग्ल्यान्डले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सकेको छैन। यसअघि सन् १९९० मा इटालीसँग र सन् २०१८ मा बेल्जियमसँग पराजित भएर चौथो स्थानमा सीमित भएको इङ्ग्ल्यान्ड यसपटक कम्तीमा काँस्य पदक जितेर फर्कने लक्ष्यमा छ।
बेन्चका खेलाडीलाई अवसर
दबाब कम भएको यस खेलमा दुवै प्रशिक्षकले अहिलेसम्म खेल्न नपाएका वा कम समय पाएका खेलाडीलाई मैदान उतार्ने सम्भावना छ।
इङ्ग्ल्यान्डका लागि म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कोबी माइनूले विश्वकपमा डेब्यु गर्न सक्नेछन्। यसो गर्दा हालै बिरामी परेका डेक्लान राइसलाई आराम मिल्नेछ। हालसम्म ६/६ मिनेट मात्र मैदानमा बिताएका ओली वाट्किन्स र इभान टोनीले पनि मौका पाउन सक्छन्।
अर्कोतर्फ, फ्रान्सका अनुभवी ३५ वर्षीय मिडफिल्डर एन्गोलो कान्टेले यस विश्वकपमा अहिलेसम्म खेल्न पाएका छैनन्, उनका लागि यो अन्तिम खेल हुन सक्छ।
यस्तै, म्यानचेस्टर सिटीका प्लेमेकर रायन शेर्कीले पनि यसअघि मात्र ८५ मिनेट खेलेकाले उनलाई सुरुवाती ११ मै मौका दिने प्रशिक्षकको तयारी हुन सक्छ।
प्रकाशित: २ श्रावण २०८३ १७:४७ शनिबार



-600x400.jpg)

