१० भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

‘तीन कारण चेल्सीले उपाधिमा चुनौती दिन सक्छ’

यदि फुटबल दुवै बक्समा जितिन्छ भन्ने मान्यता राख्ने हो भने इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले एउटा पेनाल्टी बक्सलाई अर्कोभन्दा राम्रोसँग सम्हालेको देखिन्छ।

जाभी अलोन्सोले स्टामफोर्ड ब्रिजमा आफ्नो प्रशिक्षण सुरुआत सोमबार पश्चिम लन्डन क्लब फुलहममाथि ३–२ को रोमाञ्चक जितसँगै गरे। नयाँ स्वरूपको अग्रपंक्तिले भने चेल्सीको खेलमा सबैभन्दा बढी प्रभाव छाड्यो। अस्टन भिल्लाबाट क्लबको कीर्तिमानी (११ करोड ७० लाख पाउन्ड) मा चेल्सी आएका मोर्गन रोजर्सले आफ्नो डेब्यु खेलमै कोल पाल्मर र जोआओ पेड्रोसँग उत्कृष्ट तालमेल मिलाए। यी तीनै खेलाडीले गोलमा भूमिका खेले।

कठिन र चोटग्रस्त वर्षपछि पाल्मर फेरि उत्कृष्ट लयमा फर्किएको देखिन्छ। चोटका कारण प्रभावित उनी इङ्ल्यान्डको विश्वकप टोलीबाट समेत बाहिर थिए तर मैदानको अर्को छेउमा भने गोलसकिपर रोबर्ट सान्चेजलाई लिएर धेरै प्रश्न उठे। उनकै दुई गल्तीले फुलहमका जोस किङ र गोन्जालो गार्सियाले गोल गर्ने अवसर पाए।

आफ्ना अग्रपंक्तिका तीन खेलाडीले टोली नेतृत्व गर्नुपर्ने र त्यसपछि अरूले पनि पछ्याउनु पर्ने अलोन्सोको भनाइ छ तर सान्चेजले भने त्यस स्तरमा पुग्न अझै सुधार गर्नुपर्ने देखिएको छ। उनका गल्तीबारे सोध्दा अलोन्सोले टोलीको सामूहिक जिम्मेवारीमा जोड दिए। ‘हामीले गल्ती स्वीकार गर्नुपर्छ र त्यसबाट सिक्नुपर्छ,’स्पेनी प्रशिक्षकले भने,‘यो एउटा प्रक्रिया हुनेछ। स्ट्राइकर, मिडफिल्डर, डिफेन्स र गोलकिपर सबै पंक्तिमा अझ राम्रो गर्न चाहन्छौं।’

खेलपछि अलोन्सोसँग लिभरपुलका पूर्वडिफेन्डर जेमी क्यारागरले पाल्मर, रोजर्स र जोआओ पेड्रो अहिले प्रिमियर लिगमा रहेका उत्कृष्टमध्ये उत्कृष्ट भएको बताए तर क्यारागरले सान्चेज गोलकिपर रहँदासम्म चेल्सीले कहिल्यै लिग जित्न नसक्ने दाबी पनि गरे।

जोआओ पेड्रोले खेल सुरु भएको ३१ सेकेन्डमै गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। पाल्मरको पासमा उनले फुलहमका गोलकिपर बर्न्ड  लेनोमाथिबाट बल उठाउँदै जाली चुमाए। २०१६ को अक्टोबरयता चेल्सीले प्रिमियर लिगमा गरेको यो सबैभन्दा छिटो गोल हो।

किङले फुलहमका लागि बराबरी गोल गरे। पछि रोजर्सले चेल्सीमा डेब्युलाई गोलसँगै विशेष बनाए। पहिलो हाफ सकिनुअघि उनले नजिकैबाट बललाई जालीको दिशा दिँदै चेल्सीलाई पुनः अग्रता दिलाएका हुन् तर चेल्सीको तेस्रो गोल गर्ने पाल्मर नै खेलमा सबैभन्दा बढी चम्किए। स्टामफोर्ड ब्रिजमा सुरुआत सानदार बनाएपछि पाल्मरले पछिल्लो १८ महिना भने निराशाजनक रूपमा बिताएका थिए।

ग्रोइनको समस्याले उनको उत्कृष्ट सुरुआतमा बाधा पुग्यो। तर फुलहमविरुद्ध पेड्रोलाई गोलका लागि पास उपलब्ध गराउँदै उनले गत सिजनको प्रिमियर लिग असिस्ट संख्या पनि बराबर गरे। फुलहमविरुद्ध पाल्मरको ड्रिब्लिङ, सिर्जनात्मकता र मेहनत खेलभर देखियो।

यो प्रदर्शनले स्टामफोर्ड ब्रिजमा उनको पहिलो सिजन झल्कायो। साथै, गत वर्षको क्लब विश्वकप फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई तहसनहस पार्ने पाल्मरको पनि सम्झना गरायो। प्रिमियर लिगमा ५० गोल पूरा गर्न अब उनी दुई गोल टाढा छन्। ‘गर्मीमा मैले आराम गरें, आफूलाई पुनः ऊर्जावान बनाएँ। अहिले म तयार छु र भोकाएको छु,’पाल्मरले भने। उनी पनि वास्तवमै ऊर्जावान देखिन्छन्।

प्रिसिजनमा अस्ट्रेलिया भ्रमणका क्रममा पाल्मरले प्रमाणित गर्नुपर्ने बताएका थिए। अघिल्ला तीन वर्ष लगातार ठूला प्रतियोगितामा सहभागी भएका कारण यसपल्ट लामो बिदा पाउनु आफूलाई केही असामान्य लागेको पनि उनले स्वीकारे। चेल्सीको सबैभन्दा ठुलो आक्रामक पाल्मर र जोआओबाट आउँथ्यो। अब उनीहरूसँग प्रभावशाली मोर्गन रोजर्स पनि जोडिएका छन्।

रोजर्सको आगमनले उनलाई पाल्मरसँग पुनर्मिलन गराएको छ। दुवै म्यानचेस्टर सिटीका पूर्वसहकर्मी हुन्। क्राभेन कटेजमा फुलहमविरुद्ध जितपछि रोजर्सले पाल्मरलाई फुटबलमा आफ्नो सबैभन्दा मिल्ने साथीसमेत भनेका थिए। रोजर्सको प्रदर्शन पनि चेल्सीका लागि उत्तिकै उत्साहजनक रह्यो। विश्वकपमा इङ्ल्यान्ड तेस्रो स्थानमा  पुगेको थियो।

उनी त्यो टोलीका सदस्य हुन्। सन् २०२३ मा क्रिस्टोफर एनकुन्कुको गोलपछि रोजर्स प्रिमियर लिग डेब्यु खेलमै गोल गर्ने पहिलो चेल्सी खेलाडी बने। यस खेलमा चेल्सी समर्थकहरूले अवे एन्डमा पहिलोपल्ट रोजर्सका लागि तयार गरिएको नयाँ समर्थन गीतसमेत गाए। पाल्मरजस्तै पेड्रो पनि विश्वकपबाट बाहिर थिए।

ब्राजिलको टोलीमा उनी नपर्नु निकै चर्चित निर्णय बनेको थियो तर प्रिसिजनमा उनले सात खेलमा आठ गोल गर्दै आफू उत्कृष्ट लयमा रहेको प्रमाणित गरिसकेका थिए। त्यसैले प्रिमियर लिग सुरुआतमै उनको नाम गोलकर्ताको सूचीमा देखिनु आश्चर्य भएन। लियाम डेलापबाट उनले चेल्सीको ९ नम्बर जर्सी पाएका छन्। सोमबारको खेलका लागि डेलाप टोलीमा समावेश थिएनन्।

ब्राजिलियन खेलाडीले चेल्सीसँग आफ्नो सम्झौता पनि नवीकरण गरेका छन्। आफ्ना अग्रपंक्तिका तीन खेलाडीबारे प्रशिक्षक अलोन्सोले ‘उत्कृष्ट संयोजन, उत्कृष्ट गुणस्तर भनेका छन्। ‘यदि हामीले उनीहरू जोआओ पेड्रो, मोर्गन रोजर्स र कोल पाल्मरलाई सही स्थानमा बल पुर्‍याउन सक्यौं भने उनीहरूसँग विशेष क्षण सिर्जना गर्ने प्रतिभा छ। तीनै फरवार्डले गोल गरेकोमा म निकै खुसी छु,’ उनले भने,‘हामीले उनीहरूलाई उत्कृष्ट परिस्थितिमा पुर्‍याउनुपर्छ। म तीनै जनाका लागि खुसी छु। उनीहरूले टोलीका लागि खेले।’

प्रकाशित: १० भाद्र २०८३ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App