१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

विद्युत् ‘सर्ट’ भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।

स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो। उक्त आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र रु २० हजार नगद जलेर नष्ट हुँदा करिब रु १२ लाखबराबरको क्षति भएको जनाइएको छ।

त्यस्तै ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र रु ५० हजार नगद जलेर नष्ट हुँदा करिब रु १४ लाख क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।

प्रकाशित: १० भाद्र २०८३ ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App