फिफा विश्वकपजस्ता ठूला मञ्चमा हृदयविदारक हार वा निराशाका कथा नयाँ हुने छैन। हरेक गौरवपूर्ण क्षणसँगै कुनै न कुनै राष्ट्रको दुर्भाग्यपूर्ण क्षण पनि विश्वकपमा जोडिन्छ।
कुनै राष्ट्र आफ्नो दुर्भाग्यलाई सम्झेर पछुताइरहेको हुन्छ भने कोही आफूविरुद्ध भएका अन्यायलाई दोष दिइरहेका हुन्छन्। तर सन् २०२६ को विश्वकपमा इरानको यात्रा जति पीडादायी ढंगले समाप्त भयो, त्यस्तो दृश्य विरलै देख्न पाइन्छ। विश्वकप सुरु हुनुअघि नै चुनौती सामना गरिरहेको अमिर घालेनोईको टोली इरानले अन्तिम ३२ मा पुग्ने बलियो सम्भावना देखाएको थियो। तर त्यो सपना अन्तिम क्षणमा चकनाचूर भयो। समूहचरणमा एक खेल पनि नहारेको इरान गोलअन्तरका आधारमा नकआउट चरण पुग्नबाट वञ्चित रह्यो। तर कथा यसैमा सीमित छैन। न्युजिल्यान्ड र बेल्जियमसँग बराबरी खेलेपछि इरानलाई सियाटलमा इजिप्टविरुद्ध जित निकाल्दा अन्तिम ३२ मा स्थान सुनिश्चित हुनेछ भन्ने विश्वास थियो।
खेलको सुरुमै इजिप्टले अग्रता लिए पनि इरानले उत्कृष्ट पुनरागमन ग¥यो। मेहदी तारेमीको पेनाल्टी जोगाए पनि रामिन रेजाइयानले गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समय सकिँदा खेल १–१ को बराबरीमा थियो। इन्जुरी समयमा शोजा खलिलजादेहले बल जालीमा पु¥याए। इरानी खेलाडीहरू खुसीले उफ्रिए। शोजाले जर्सी खोले र पहेँलो कार्ड पनि पाए। उनले सनग्लास लगाएर तस्बिर खिचाउँदै गोलको उत्सव मनाए। तर त्यो खुसी केही क्षणमै पीडामा बदलियो। भिडियो सहायक रेफ्री (भार) ले गोल अफसाइड निर्णय दियो। शोजाको खुट्टाको औंला अन्तिम डिफेन्डरभन्दा अगाडि देखिएपछि गोल रद्द भयो र खेल १–१ को बराबरीमा सकियो। पहिलोपल्ट विश्वकपको नकआउट चरणमा पुग्ने इरानको आशामा अन्य खेलका नतिजा कुर्नुपर्ने भयो। अल्जेरिया र अस्ट्रियाबीचको खेल इरानका लागि निर्णायक थियो।
यी दुई टोलीमध्ये जसले जिते पनि इरान अन्तिम ३२ मा पुग्थ्यो। ९३औं मिनेटमा रियाद महारेजले गोल गर्दै अल्जेरियालाई अग्रता दिलाए। अब केही क्षण मात्र बाँकी थियो र टिम मेल्ली भनेर चिनिने इरान नकआउट चरण पुग्ने संघारमा देखिन्थ्यो। तर नाटक अभैm बाँकी नै थियो र बराबरी गोलको खोजीमा रहेको अस्ट्रियाले केही सेकेन्ड बाँकी छँदा गोल फर्कायो। सासा कालाज्जिचले हेडमार्फत गोल गरे र रोमाञ्चक खेल ३–३ को बराबरी भएपछि इरान समूहचरणबाटै बाहिरियो। यसरी २४ घण्टाभित्र दोस्रोपल्ट इरानको खुसी अन्तिम क्षणमा खोसियो। सेनेगलले उत्कृष्ट गोलअन्तरका आधारमा उत्कृष्ट आठ तेस्रो टोलीमध्ये अन्तिम स्थान सुरक्षित ग¥यो। इरानजस्तै तीनवटै खेल बराबरी खेलेको केप भर्डे भने समूह ‘एच’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश ग¥यो।
इरान पटकपटक सफलताको संघारमा पुगेर पनि असफल भयो। यस्तै सफलता पनि इरानका लागि उल्लेखनीय उपलब्धि हो। किनभने यो टोलीले विश्वकपभर धेरै चुनौतीहरू सामना गर्नुप¥यो। अमेरिका र इजरायलसँगको जारी द्वन्द्वको पृष्ठभूमिबाट इरानको विश्वकप सहभागिता नै अन्योलमा देखिन्थ्यो। मेक्सिकोमा बसेर इरानले अमेरिकामा विश्वकप खेल्नुपरेको थियो। प्रशिक्षण शिविर एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारिएको थियो। यस क्रममा इरानले यात्रासम्बन्धी धेरै चुनौती सामना गर्नु¥यो। पहिलो दुई खेलका लागि इरानी टोलीलाई खेल हुनुभन्दा एक दिनअघि मात्र अमेरिकामा प्रवेश गर्न अनुमति थियो। खेल सकिएकै दिन अमेरिका छोड्नुपर्ने भिसा नियम रह्यो। प्रशिक्षक घालेनोईले आफ्नो टोलीलाई विश्वकपकै ‘सबैभन्दा पीडित टोली’ भएको बताउँथे। तयारी समय लुटिएको र अन्य टोलीले जस्तै अभ्यास गर्न नपाएको प्रशिक्षकको गुनासा थिए।
सियाटलको खेलका लागि भने नियम केही खुकुलो भएपछि इरानलाई दुई दिनअघि नै अमेरिका प्रवेश गर्न अनुमति दिइयो। तर खेल सकिएपछि फेरि टिजुआना फर्किनुपर्ने नियम भने यथावत् रह्यो। विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक घालेनोईले फेरि आफ्नो असन्तुष्टि व्यक्त गरे। ‘म आफ्ना खेलाडी र सम्पूर्ण टोलीप्रति अत्यन्त गर्व गर्छु। यी युवा खेलाडीले जे गरेका छन्। त्यो इतिहासमा लेखिनुपर्छ,’ उनले भने, ‘आयोजक राष्ट्रबाट अत्यन्त अन्यायपूर्ण व्यवहार भयो। धेरै कठिनाइका बावजुद पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भयौं। आज विश्वले इरानी जनता र हाम्रो टोलीप्रति गर्व गरेको छ।’
उनले भविष्यका विश्वकपमा कुनै पनि आयोजक राष्ट्रलाई कुनै टोली वा खेलाडीमाथि यस्तो व्यवहार गर्न नदिन फिफासँग आग्रह गरेका छन्।
प्रकाशित: १५ असार २०८३ ०८:३३ सोमबार





