विश्व क्रिकेटको हब मानिने भारतको मुम्बई सहरमा पछिल्लो तीन हप्ता क्रिकेट समर्थकको उत्साहले भरिपूर्ण रह्यो। आइसिसी टी ट्वान्टी विश्वकपका कारण मुम्बई उत्साहले भरिएको थियो।
समूह ‘सी’ को पाँचवटा खेल यही सहरमा भए। जहाँ नेपाली टोलीले समूहका चारवटै खेल मुम्बईको वाङ्खेडे स्टेडियममा खेल्यो। यो मैदानमा नेपालको खेलबारे चर्चासँगै समर्थकको उपस्थितिबारे कुरा विश्वक्रिकेटकै नजरमा पर्यो। वाङ्खेडेमा कुल ६ मध्ये भारत र अमेरिका तथा इङ्ल्यान्ड र वेस्ट इन्डिजबिचको खेल पनि मैदानमा भयो तर यो सहरमा नेपाली समर्थकको नै चर्चा भयो। एसोसिएट क्रिकेटमा सबैभन्दा धेरै समर्थक भएको राष्ट्र हो नेपाल। जसको प्रशंसा विश्व क्रिकेटको प्रशासकीय निकाय आइसिसीले पनि गर्ने गरेको छ। तर, मंगलबारदेखि चन्द्र र सूर्य झन्डाअंकित नीलो र रातो कलरको जर्सी मुम्बई सहरमा देखिने छैन। किनकि तेस्रोपल्ट विश्वकप खेलेको नेपालको यात्रा समूहचरणबाटै सकिएको छ। समूहमा पुछारमा रहँदै नेपाली टोली बुधबार नै घर फर्किसकेको छ।
स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले दसौं संस्करणको विश्वकप यात्रा सकाएको हो। त्यो जित नै तेस्रोपल्ट विश्वकप खेलेको नेपालका लागि तेस्रो रह्यो। १२ वर्षपछि नेपालले विश्वकपमा जित निकाल्दै यात्रा टुङ्ग्याउँदा केही खेलाडी चर्चामा रहे भने कसैका लागि सुखद रहेन। आइसिसीको नजर पर्ने, विश्व क्रिकेटको सेन्टर मानिने वानखेडेमा खेल, विश्वकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज लिग हुनुले यो विश्वकप नेपालका लागि महत्त्वपूर्ण थियो। विश्वमञ्चमा उत्कृष्ट प्रदर्शनले देशलाई मात्र होइन खेलाडीले पनि व्यक्तिगत रूपमा ठूलो छलाङ मार्ने अवसर मिल्नेछ। त्यसैले यसपल्ट नेपाल क्रिकेट संघ (क्यान) ले धेरै कारणमध्ये एक कारणले मुम्बईमा नेपालको सबै खेल राखिदिन आग्रह गरेको थियो।
रणजी ट्रफीको सफल टोली बस्ने महाराष्ट्रमा खेल हुनुले नेपाली खेलाडीका लागि वाङ्खेडे स्टेडियम विशेष थियो। विश्व क्रिकेटमा प्रभाव राख्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को कार्यालय पनि वाङ्खेडेमा हुनुले पनि नेपालका लागि यो मैदानमा खेल हुनु अर्थपूर्ण थियो।
विश्वकपमा नेपाल टोलीबारे आइसिसी, भारतीय क्रिकेटको सरोकार निकाय, फ्रेन्चाइज टोली र भारतीय पत्रकारको चासो र चर्चा राम्रै भयो। तर, त्यो मञ्चमा नेपाली खेलाडी आफूलाई प्रमाणित गर्न असफल नै भए। नेपालका स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) का साथै विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलेका छन्। अनुभवी सन्दीप पनि यो मञ्चमा असफल भए।
यसको विपरीत, दीपेन्द्रसिंह ऐरीले अन्तिम दुई खेलमा लगातार अर्धशतक प्रहार गर्दै ठूलो मञ्चमा नेपाली खेलाडी पनि निडर र प्रभावकारी प्रदर्शन गर्न सक्छन् भन्ने सन्देश दिए। उनको आत्मविश्वासी ब्याटिङ नेपालका लागि सकारात्मक पक्ष रह्यो। अन्तिम दुई खेलमा दीपेन्द्रसिंह ऐरीले लगातार अर्धशतक बनाएका थिए। उनको त्यो प्रदर्शन नेपाली खेलाडीमा पनि ठूलो स्टेजमा राम्रो प्रदर्शन गर्न सक्ने क्षमता छ भन्ने देखाइदियो।
सन्दीपबाहेक कुनै पनि नेपाली क्रिकेटर विश्वक्रिकेटमा चर्चित अनुहार होइनन्। त्यसैले पनि विश्वकपमा सन्दीपबारे धेरै प्रश्न उठ्थे। सन्दीपको बलिङमा सबैले त्यसलाई ध्यानपूर्वक हेर्ने गर्थे तर उनको प्रदर्शन यसपल्ट शान्त नै रह्यो। आशातित हुन सकेन।
हुन त बलात्कार आरोपमा जेल परेपछि सन्दीपको प्रदर्शन पहिलेजस्तो छैन। अहिले उनलाई विश्वका फ्रेन्चाइजले लिन पनि छोडेका छन्। अनुभवी स्पिनर सन्दीपबाट यस विश्वकपमा धेरै अपेक्षा थियो। गत विश्वकप (सन् २०२४) मा अमेरिकाले भिसा नदिएपछि सन्दीपले पहिलो दुई खेल गुमाउनुपर्यो। वेस्ट इन्डिजमा भएको बाँकी दुई खेलमा उनले आफ्नो प्रभाव जमाएका थिए।
जुन प्रभाव यस विश्वकपमा सन्दीपबाट आउन सकेन। सन्दीपको प्रदर्शन निकै खराब नै रह्यो। उनले चार खेलमा गरेर एक मात्र विकेट लिए। यो विकेट उनले इङ्ल्यान्डविरुद्ध निकालेका हुन्। जहाँ सन्दीपले चार ओभरमा सन्तोषजनक प्रदर्शन पनि गरे। तर, बाँकी तीन खेलमा उनी विकेटविहीन मात्र भएनन् निकै महँगा साबित भए। त्यस कारण बाँकी खेलमा उनले तीन ओभर मात्र बलिङ गरेका छन्।
नेपालको खेलपछि पत्रकार सम्मेलनमा पनि सन्दीपको प्रदर्शनबारे प्रश्न उठे। स्वयम् सन्दीपले पनि त्यस किसिमको प्रश्न सामना गर्नुपर्यो। आशाअनुरूप उनीबाट किन खेल आउन सकिरहेको भन्ने प्रश्न स्वाभाविक थियो।
स्कटल्यान्डविरुद्ध जितपछि कप्तान रोहित पौडेलले दीपेन्द्रसिंह र सोमपाल कामीको प्रदर्शनबाहेक व्यक्तिगत रूपमा खेलाडीले राम्रो गर्न नसकेको र केही स्टार खेलाडीले पनि आशाअनुरूप खेल हुन नसकेको हो भन्ने प्रश्न सामना गरे। ‘दीपेन्द्रसिंह ऐरीसँग राम्रो इनिङ खेल्ने क्षमता छ। सोमपालले पनि धेरै राम्रो गर्नुभयो। हामीले पनि उहाँहरूबाट सिक्नुपर्छ। म यहाँ नाम लिनचाहिँ चाहन्नँ। तर, केही खेलाडीहरूको प्रदर्शन राम्रो हुन सकेनन्। आशा छ, आगामी दिनमा राम्रो प्रदर्शन आउनेछन्,’ रोहितले भनेका छन्।
सन् २०२४ को विश्वकपपछि नेपालले एउटा मात्र पूर्ण सदस्य राष्ट्रसँग वेस्ट इन्डिजसँग शृंखला खेल्न पायो। त्यसैले नेपाली खेलाडीलाई विश्वमञ्चमा आफ्नो क्षमता देखाउन अवसर कम नै मिल्नेछ।
विश्वकप जस्तो मञ्च नेपाली क्रिकेटरका लागि राम्रो अवसर थियो। त्यो पनि विश्व क्रिकेटको हब भारत र फ्रेन्चाइज लिगको नजर पर्ने विश्वकपमा नेपाली खेलाडी पूर्ण रूपमा नै असफल भए। तर, दीपेन्द्रको निडरतापूर्वक ब्याटिङले उनको लागि भने सन्तोषजनक रह्यो। दीपेन्द्र पाकिस्तान प्रिमियर लिग (पिएसएल) को टोली इस्लामाबाद युनाइटेडमा आबद्ध छन्। जसको चर्चाले पनि उनीमाथि आगामी दिनको यात्रा थप बलियो हुने अपेक्षा छ। अवसरलाई धेरै खेलाडीले पूर्ण रूपमा उपयोग गर्न नसक्नु नेपाली क्रिकेटका लागि चिन्ताको विषय बनेको छ। यद्यपि, दीपेन्द्रको प्रदर्शनले आशा जगाएको छ। इस्लामाबादसँगको उनको आबद्धताले आगामी दिनमा उनको अन्तर्राष्ट्रिय यात्रा थप मजबुत हुने अपेक्षा गरिएको छ।
उनीजस्तै अन्य खेलाडीले पनि सोही यात्रा कोरुन् भन्ने नेपाली समर्थकको अपेक्षा छ। समर्थकको अपार साथबीच, अब चुनौती भनेको त्यही उत्साहलाई खेलाडीको निरन्तर प्रदर्शनमा रूपान्तरण गर्नु हो।
प्रकाशित: ७ फाल्गुन २०८२ ०६:०८ बिहीबार





