१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

प्रिमियर लिगको शीर्षता दौड कठिन

१० खेलाडीमा सीमित चेल्सीसँग आर्सनलले १–१ को बराबरीबाट पुनरागमन गरेपछि इङ्लिस प्रिमियर लिगको शीर्षता दौड कठिन भएको छ ।  

माइकल मेरिनोको गोलबाट आर्सनलले आइतबार लन्डन डर्बीमा चेल्सीसँग पुनरागमन गरेको हो । बराबरीसँगै आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा पाँच अंकले माथि छ । एक अंकले मात्र पछि परेको चेल्सी तेस्रो स्थानमै सीमित रह्यो । आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मोइसेस काइसेडाले रातो कार्ड सामना गरेपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो ।  

मेरिनामाथि खराब ट्याकल गरेपछि मोइसेसले कार्ड पाएका हुन् । यससँगै मिकाइल आर्टेटाको टोली आर्सनलका लागि सहज बन्यो । तर, चेल्सीले नै अग्रता लिँदै आत्मबल बटुल्यो । ४८औं मिनेटमा ट्रेभोह चालोबको हेड गोलबाट चेल्सी अग्रता लिन सफल भयो ।

यद्यपि, दोस्रो हाफमा त्यो अग्रता टिक्न सकेन । ५९औं मिनेटमा मेरिनोले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । एक खेलाडीबिना खेलेको टोलीसँग पनि आर्सनलले तीन अंक बटुल्न सकेन । लगातार दुई अवे खेलमा आर्सनलले अंक गुमाएको हो । यसै हप्ताको मध्यमा आर्सनलले च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई हराएको थियो । आर्सनलका प्रशिक्षक आर्टेटाले यस हप्ता टोलीका लागि सकारात्मक पक्ष रहेको उल्लेख गरे । ‘हामीले आइतबारको खेल जित्नुपर्ने थियो । तर हामी असफल भयौं । यहाँबाट मैले धेरै कुरा सिक्नुपर्छ,’ उनले भने । शीर्ष टोलीको नतिजा सिटीका लागि महत्त्वपूर्ण रह्यो ।

सिटीले मात्र जित निकाल्दा पेप ग्वार्डिओलको टोलीका लागि सुखद बन्यो । अन्तिम समयको गोलपछि सिटीले लिड्समाथि जित निकालेको हो । यो जितसँगै सिटी चेल्सीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । ‘यो खेलले हामी सुखद बाटोतर्फ जाँदै छौं भन्ने देखाएको छ,’ चेल्सीका प्रशिक्षक इन्जो मारेस्काले भने, ‘हामी राम्रो टोली बनिरहेका छौं । उनीहरूभन्दा पनि हाम्रो टोली बलियो देखिएको थियो, जति बेला ११ विरुद्ध ११ खेलाडी थियौं । १० खेलाडीमा रहेर खेल्नु धेरै असहज हुन्छ । तर पनि हामीले उत्कृष्ट तवरबाट प्रतिस्पर्धा गर्‍यौं ।’  

लिभरपुलले पनि वेस्ट ह्यामलाई २–० ले हराउँदै आफ्नो विजययात्रा फर्काएको छ । म्यानचेस्टर युनाइटेडले पनि क्रिस्टल प्यालेसमाथि २–१ को उत्कृष्ट पुनरागमन जित निकाल्यो । एस्टन भिल्लाले अन्तिम स्थानको वुल्भ्समाथि १–० को जित आत्मसात् गर्‍यो । पाँचौं स्थानको ब्राइटनले भने नटिङ्घमलाई उसकै घरेलु मैदानमा २–० को नतिजाले पछि पार्‍यो ।

प्रकाशित: १५ मंसिर २०८२ २१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App