संकटा क्लबले जारी एन्फा महिला फुटबल लिग छनोटमा तेस्रो जित निकाल्दै राष्ट्रिय लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ।
च्यासलस्थित च्यासल रंगशालामा भएको आफ्नो तेस्रो खेलमा संकटाले आइतबार बुटवल लुम्बिनी एफसीमाथि ३–० को सहज जित निकालेको हो। संकटाको जितमा सिमरन राई, सेनु परियार र रेनिशा शर्माले गोल गरे। यससँगै संकटाले लगातार तेस्रो जित आत्मसात गर्यो। यसअघि संकटाले पहिलो दुई खेलमा क्रमशः नेपाल खेलकुद क्लबलाई १–० र झापा महिला एफसीलाई ४–० ले हराएको थियो। समूह ‘बी’ को संकटाले तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। पहिलो हार बेहोरेको बुटवलको समान तीन खेलबाट ६ अंक छ। संकटामा नेपाली यु–२० महिला टोलीका स्टार खेलाडीले भरिएको छ।
सोही अनुरूप संकटाले आफ्नो अपराजित यात्रा पनि जारी राख्दै समूहको शीर्ष दुई स्थानमा रहँदै छनोट हुने सम्भावना बलियो बनाएको छ। समूहमा शीर्ष दुई स्थानमा रहने टोलीले सीधै महिला लिगमा स्थान बनाउनेछन्।
तेस्रो हुने टोलीले प्लेअफ मार्फत राष्ट्रिय लिगमा स्थान बनाउने अवसर पाउनेछ। संकटाले खेलको १२औं मिनेटमा सिम्रनको गोलमार्फत संकटाले अग्रता लिएको थियो। ३५औं मिनेटमा सेनुले टोलीको अग्रता दोब्बर बनाइन्। यससँगै पहिलो हाफमा संकटा २–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि बुटवलले गोल फर्काउन सकेन। उल्टै खेल सकिन लाग्दा तेस्रो गोल सामना गर्यो। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा रेनिशाले गोल गरिन्।
संकटाले बुटवल लुम्बिनीमाथि ३–० को जित निकाल्यो। आइतबारै सम्पन्न छहारी युवा क्लब र राप्ती युवा क्लब गोलरहित बराबरीमा रोकिए। समूह ‘ए’ को छहारीले जारी लिगमा पहिलोपल्ट अंक बाँडेको हो। तीन खेलबाट पनि छहारीले दुई जित र एक बराबरीको नतिजा निकाल्यो। छहारीले समूहमा सात अंक जोडेको छ।
छहारीले पहिलो खेलमा एफसी रियलेलाई ३–० र दोस्रो खेलमा स्टुडेन्ट एफसीविरुद्ध ६–१ को सानदार जित निकालेको थियो । सात टोली रहेको समूह ‘ए’ मा छहारी अपराजित छ। अर्को समूह ‘बी’ को टोली संकटाले पनि हार बेहोरेको छैन।
प्रकाशित: ९ भाद्र २०८२ ०८:२४ सोमबार





