जेन-जीको आन्दोलनपछि देशमा उत्पन्न परिस्थितिको कारण देखाउँदै दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको मिति सारिएको छ।
पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिक प्रालीको संयुक्त आयोजनामा आगामी असोज ४ गते उक्त दौड आयोजना गर्ने तयारी गरिएको थियो तर जेनजीको आन्दोलनपछि देशमा परिस्थिति सहज नभएको भन्दै आयोजकले निर्धारित मितिभन्दा एक साता पछि दौड आयोजना गर्ने भएको छ।
अब उक्त दौड विश्व पर्यटन दिवसकै दिन असोज ११ गते हुनेछ। प्रतियोगिता संयोजक दीननाथ बरालले यसबाट पर्न गएको असुविधाप्रति सम्पूर्ण खेलाडी, उद्योग व्यवसायी र शुभेच्छुकमा क्षमायाचना गरेका छन्। साथै आयोजकले गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा सहादतप्राप्त गर्नेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
आयोजकले नेपालका ऐतिहासिक र महत्त्वपूर्ण कागजातसहित सरकारी कार्यालय एवं विभिन्न भौतिक संरचनामा भएको आगजनीप्रति विरोध गरेको छ। कुल ८ किलोमिटर दूरीमा विभिन्न ६ इभेन्टमा दौड हुनेछ।
उक्त दौडको रुट पोखरा–२२ स्थित विश्व शान्ति स्तुपादेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म तय गरिएको छ। कुल ७५ धावकले दौडमा प्रतिस्पर्धा गर्न अनलाइन मार्फत दर्ता गराएको आयोजकले जनाएको छ। दुई सय ५० सम्म धावकलाई व्यवस्थापन गर्ने र यो संख्या नपुग्दासम्म पुनः दर्ता खोलिएको आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए।
दौडमा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धक हुन्। यो प्रतियोगिता सफल बनाउन विभिन्न क्षेत्रले सहयोग गर्दैछन्। खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन्। नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ।
सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार र महिलातर्फ खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन्। पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान गरेको बताए।
प्रकाशित: २९ भाद्र २०८२ ०९:२४ आइतबार





