२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

अफ्रिकी फुटबलको चमत्कारिक सफलता

अफ्रिकी फुटबलले उत्तर अमेरिकी राष्ट्रमा जारी विश्वकप २०२६ मा पाएको सफलता र उसको रूपान्तरण कुनै चमत्कारभन्दा कम छैन। सन् २०१८ मा रूसको विश्वकपमा अफ्रिकाका पाँच टोलीमध्ये एउटाले पनि समूहचरण पार गर्न सकेका थिएनन्।

ती पाँच टोलीले खेलेका १५ खेलमध्ये तीन मात्र जित दर्ता गरे। तर यस संस्करणमा आइपुग्दा अफ्रिकाको प्रदर्शनलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोको विश्वकप विस्तार योजनामा सफलताको प्रमाण दिएको छ।

अफ्रिकाबाट सहभागी १० राष्ट्रमध्ये एक टोली (ट्युनिसिया) मात्रै समूहचरणबाट बाहिरियो। केप भर्डे, इजिप्ट, आइभोरी कोस्ट, मोरक्को र दक्षिण अफ्रिका समूह उपविजेताका रूपमा अगाडि बढे। अल्जेरिया, डिआर कङ्गो, घाना र सेनेगल पनि उत्कृष्ट तेस्रो स्थान हुँदै नकआउट चरणमा पुगे। रिपोर्ट तयार पर्दासम्म पहिलो नकआउट चरण (अन्तिम ३२) मा दक्षिण अफ्रिका क्यानडासँग स्तब्ध हुँदा मोरक्कोले युरोपेली राष्ट्र नेदरल्यान्ड्सलाई नै हराउँदै अन्तिम १६ स्थान बनाएको छ। एसियाको अवस्था भने फरक रह्यो। सहभागी ९ टोलीमध्ये दुई टोली मात्रै समूहचरण पार गर्न सफल भए।

अफ्रिकाका लागि यो उत्सव मनाउने विषय हो। एसियाले भने गम्भीर समीक्षा गर्ने समय आएको छ। इन्फान्टिनोको विश्वकप विस्तार योजना सन् २०१८ को विश्वकपअघि नै स्वीकृत भइसकेको थियो। त्यसैले रूस विश्वकपमा अफ्रिकी टोलीको कमजोर प्रदर्शनपछि यस महादेशलाई थप चार स्थान दिनुको औचित्यमाथि प्रश्न पनि उठे तर आठ वर्षपछि ती सबै प्रश्नको जबाफ अफ्रिकी राष्ट्रले दिए। यो अफ्रिकी फुटबलका लागि उल्लेखनीय परिवर्तन हो। विशेष त मोरक्को फुटबल महासंघको दीर्घकालीन प्रतिबद्धताले महत्त्वपूर्ण भूमिका खेलेको छ। अफ्रिकी फुटबल महासंघका अध्यक्ष प्याट्रिस मोट्सेपेले महादेशभर युवा फुटबल विकास, प्रशिक्षक उत्पादन र व्यावसायिक घरेलु लिगमा गरिएको निरन्तर लगानी र मेहनत रहेको प्रतिक्रिया दिएका छन्।

परिवर्तनको संकेत चार वर्षअघि कतार विश्वकपमै देखिएको थियो, जहाँ पहिलोपल्ट दुई अफ्रिकी राष्ट्र नकआउट चरणमा पुगे। सन् २०२२ को विश्वकपअघि क्वार्टरफाइनलसम्म पुग्ने अफ्रिकी राष्ट्र तीन थिए, सन् १९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घाना। तर मोरक्कोले इतिहास बनायो। बेल्जियम, स्पेन र पोर्चुगलजस्ता बलिया टोलीलाई हराउँदै मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो। अन्ततः फ्रान्सले उसको यात्रा रोकिदियो। मोरक्कोले यस्तो सफलता पाउन सक्छ भने अन्य अफ्रिकी राष्ट्रले किन सक्दैनन् भन्ने प्रश्न उठ्न थालेका छन्। नाइजेरियाका पूर्वकप्तान विलियम ट्य्रुस्ट एकोङले मोरक्कोले स्पष्ट खाका तयार गरेको र उनीहरूले वर्षौंसम्म ग्रासरुट फुटबल र एकेडेमीहरूमा लगानी गरेको बताएका छन्।

‘मोरक्कोले पैसा मात्र होइन समय र प्रयासमा पनि लगानी गरेको छ। उनीहरूसँग कसरी अघि बढ्ने भन्ने स्पष्ट योजना छ। उनीहरूसँग रहेका पूर्वाधार, सबै उमेरसमूहमा कायम गरिएको निरन्तरता र विकास प्रणाली नै अहिले सबैले पछ्याउनुपर्ने नमुना हो,’ उनले भने।

विश्वकपको नयाँ ढाँचाले अफ्रिकालाई केही सहजता दिएको सत्य हो तर अफ्रिकाले उत्कृष्ट गर्नु र एसियाले कमजोर प्रदर्शन गर्नुको व्याख्या गर्न सकिँदैन। अघिल्ला अधिकांश विश्वकपमा प्रत्येक समूहमा उत्कृष्ट १६ टोलीमध्ये दुई टोली पर्ने गर्थे। अब ती १६ टोली १२ समूहमा विभाजित भएकाले चार समूहमा मात्रै परम्परागत रूपमा बलिया मानिने दुई टोली परेका छन्। त्यसैले अधिकांश समूह पहिलेको तुलनामा कमजोर देखिन्छन्।

त्यसमाथि उत्कृष्ट तेस्रो स्थानका टोलीहरू पनि नकआउट चरणमा पुग्ने व्यवस्था छ। कतार विश्वकपको समूहचरणमा रहेका ३२ टोली बराबरकै यसपटक पहिलो नकआउट चरणमा पुगे। अब प्रश्न उठेको छ, यस वर्ष अफ्रिकी टोलीहरू कति टाढासम्म पुग्न सक्छन्? दक्षिण अफ्रिका आइतबार नै अन्तिम समयमा क्यानडासँग इन्जुरी समयमा गोल बेहोर्दै बाहिरियो। मोरक्को भने अन्तिम १६ मा पुगेको छ। अब सहआयोजक क्यानडाले मोरक्कोसँग खेल्नेछ। एक दशकअघि नेदरल्यान्ड्सविरुद्ध मोरक्कोले जित्ने सम्भावना निकै कम मानिन्थ्यो। तर अहिले मोरक्कोलाई कमजोर ठान्ने अवस्था छैन र उसले प्रमाणित पनि गरिसकेको छ। उल्टै उत्तर अफ्रिकी टोलीलाई नै दाबेदार मान्न पनि थालिएको छ। फिफा विश्व वरीयतामा मोरक्को छैटौं स्थानमा छ।

मोरक्कोले सन् २०२२ को उपलब्धि दोहोर्‍याउने कठिन देखिन्छ। कुनै पनि अफ्रिकी टोलीले फेरि सेमिफाइनल पुग्न अर्जेन्टिना, इङ्ल्यान्ड, फ्रान्स र स्पेनमध्ये कम्तीमा एक टोलीलाई हराउनुपर्ने सम्भावना धेरै छ। मोरक्को क्वार्टरफाइनल पुगेमा उसको सम्भावित प्रतिद्वन्द्वी फ्रान्स हुनेछ। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले शुक्रबार केप भर्डेसँग खेल्दै छ।

अर्जेन्टिनाको ब्राकेटमा चार अफ्रिकी टोली रहेकाले सेमिफाइनलसम्म पुग्ने यात्रामा प्रत्येक चरणमा एउटा अफ्रिकी टोलीसँग उसको भेट हुन सक्ने सम्भावना छ। विस्तारित विश्वकप अफ्रिकाका लागि अवसर साबित हुँदा एसियाका लागि ठीक विपरीत अवस्था रह्यो। एसियाका नौ टोलीले कुल २७ खेल खेल्दा तीन जित निकाल्न सके। उनीहरूले प्रतिखेल औसत ०.६७ अंक मात्र प्राप्त गरे।

अफ्रिकी टोलीले भने ३० खेलमा १० जित निकाले र प्रतिखेल औसत १.३३ अंक हासिल गरे। समूहचरणको अन्तिम दिन अफ्रिका र एसियाबीचका पाँच निर्णायक खेलमध्ये एसियाले एउटामा पनि जित निकाल्न सकेन। चार खेलमा हार बेहोर्नुपर्‍यो। चार वर्षअघि अस्ट्रेलिया, जापान र दक्षिण कोरिया नकआउट चरणमा पुगेका थिए। यसपटक भने जापान र अस्ट्रेलिया मात्रै सफल भए। त्यसमा पनि जापान ब्राजिलसँग सोमबार राति पराजित हुँदै बाहिरिसकेको छ। अफ्रिकी टोलीहरूको स्तर बढ्दै छ। पहिलोपल्ट पाँच अफ्रिकी टोली नकआउट चरणमा पुगेका छन्। तर एसियाको प्रदर्शन भने उल्टै खस्किदो छ। उज्बेकिस्तानले तीनै खेलमा हारेर बाहिरियो। जापान, अस्ट्रेलिया र इरानबाहेक सबै टोलीले धेरै सुधार गर्न आवश्यक छ।

दक्षिण अफ्रिकासँग अन्तिम खेलमा अप्रत्याशित हारपछि दक्षिण कोरिया समूहचरणबाटै बाहिरियो। त्यसको असर निकै ठूलो रह्यो। कोरियाका राष्ट्रपति ली जे म्युङले टोलीको खराब प्रदर्शनलाई व्यवस्थापन र जनशक्तिको असफलता भन्दै छानबिनको माग गरे। केही घण्टापछि मुख्य प्रशिक्षक होङ म्युङ बोले दुई वर्षे कार्यकालपछि पदबाट राजीनामा दिए। विश्वकपमा पहिलोपल्ट सहभागी जोर्डनले तीनै खेल हार्‍यो। उसले तीन गोल गर्‍यो भने आठ गोल खायो। जोर्डनका मुख्य प्रशिक्षक जमाल सेल्लामीले यस ठूलो अन्तरको कारण स्पष्ट रूपमा बताए।

‘अफ्रिकी खेलाडीहरू युरोपका प्रमुख लिगमा खेल्छन्। जोर्डनले भविष्यमा राम्रो नतिजा निकाल्ने हो भने हाम्रा खेलाडी पनि बलिया र प्रतिस्पर्धात्मक लिगमा खेल्न जानुपर्छ। तथ्यांकले पनि यही देखाउँछ,’ उनले भनेका थिए।

मोरक्कोको २६ सदस्यीयमध्ये २० खेलाडी युरोपेली क्लबमा आबद्ध छन्। १५ जना शीर्ष पाँच युरोपेली लिगमै खेल्छन्। डिआर कङ्गोका २४ खेलाडी युरोपमा छन्। यद्यपि उनीहरूमध्ये ११ जना मात्रै प्रमुख लिगमा खेल्छन्। इजिप्ट मात्रै यस्तो टोली हो जहाँ युरोपमा खेल्ने खेलाडीको संख्या कम छ। उसका १७ खेलाडी घरेलु लिगमा छन् भने ६ जना मात्रै युरोपेली क्लबमा आबद्ध छन्। फ्रान्सेली क्लब रेन्समा खेल्ने फरवार्ड मुसा अल तामारी मात्रै जोर्डनका एक खेलाडी हुन्।

इराक र उज्बेकिस्तानका समान ३/३ तथा इरानका चार खेलाडी मात्रै युरोपेली क्लबमा खेल्छन्। तर एसियाका उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूको अवस्था फरक छ। जापानका २३, अस्ट्रेलियाका १६ र दक्षिण कोरियाका १५ खेलाडी युरोपेली क्लबमा छन्। यसले विकासको स्तरमा रहेको ठूलो अन्तरलाई स्पष्ट रूपमा देखाउँछ। अब विस्तारित विश्वकपमा आफ्ना टोलीहरूलाई प्रतिस्पर्धात्मक बनाउन एसियाली फुटबल महासंघले अफ्रिकाको स्तरमा पुग्न अझ धेरै मेहनत गर्नुपर्ने देखिएको छ। यस महादेशको लिग बलियो बनाउनुपर्छ।  

प्रकाशित: १७ असार २०८३ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App