तेस्रोपल्ट आइसिसी टी ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली क्रिकेट टोली यस फरम्याटको बलियो र अनुभवी वेस्ट इन्डिजसँग तीन खेलको शृंखलामा होमिँदै छ।
नेपालले आगामी सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजविरुद्ध तीन खेलका टी ट्वान्टी शृंखला संयुक्त अरब इमिरेट्स (युएई) मा खेल्दै छ, जुन छनोटका लागि बलियो तयारी हुने आशा नेपाली क्रिकेट टोलीमा छ। पहिलोपल्ट सन् २०१४ को टी ट्वान्टी विश्वकप खेलेको नेपालले दशक (सन् २०२४) पछि यो सफलता दोहोर्याएको थियो। अब नेपाली टोली लामो समय पर्खने योजनामा छैन। त्यसैले नेपालले नियमित तयारी पनि गरेको छ। अस्ट्रेलियामा झन्डै एक महिनाको तयारीलगत्तै नेपाली टोली अनुभवी वेस्ट इन्डिजसँग खेल्न लागेको हो। नेपालको तेस्रोपल्ट विश्वकप खेल्ने लक्ष्यमा क्यारेबियन टोली बलियो माध्यम बन्न सक्नेछ। वेस्ट इन्डिज यस फरम्याटको दुईपल्ट विश्वच्याम्पियन हो।
त्यसैले पनि नेपालले छनोटअघि वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। ओमानमा आगामी अक्टोबर ८ देखि १७ सम्म आइसिसी टी ट्वान्टी विश्वकप एसिया प्यासिफिक रिजनल फाइनल हुँदै छ। यस छनोटमा नेपालसहित कुल ९ राष्ट्रले खेल्दै छन्। यहाँबाट तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना विश्वकपमा स्थान बनाउनेछन्। यसपल्ट पनि छनोट पार गर्दै नेपाली टोलीले टी ट्वान्टी विश्वकप खेल्ने लक्ष्यमा छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पनि वेस्ट इन्डिजसँगको शृंखलामा राम्रो तयारी गर्दै टी ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य रहेको बताए। त्यसैका लागि छनोटअगाडि अनुभवी राष्ट्र वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको उनले उल्लेख गरे।
नेपालले आगामी सेप्टेम्बर २७, २९ र ३० तारिखमा वेस्ट इन्डिजसँग खेल्दै छ। नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग पहिलोपल्ट टी ट्वान्टी क्रिकेट शृंखला खेल्न लागेको हो। त्यहाँबाट नै नेपाली टोली ओमान जाने कार्यक्रम छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको बिदाइ कार्यक्रममा कप्तान रोहितले वेस्ट इन्डिजसँगको शृंखला ऐतिहासिक र प्रभावकारी बन्ने आशा गरे। साथै यहाँ राम्रो तयारी गर्दै विश्वकपमा पनि छनोट हुने लक्ष्य रहेको उनी बताउँछन्। छनोटअघि यो शृंखला महत्त्वपूर्ण साबित हुने कप्तान रोहितको विश्वास छ। बिदाइ कार्यक्रममा नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल थिएनन्। उनी हाल अस्ट्रेलियामा छन्। त्यतैबाट उनी युएई पुग्नेछन्।
नेपाली टोली भने शुक्रबार त्यसतर्पm प्रस्थान गर्ने कार्यक्रम छ। रोहितले वेस्ट इन्डिजसँगको खेलका लागि आफ्नो टोली तयार पनि रहेको उल्लेख गरे। सन् २०२४ को अप्रिलमा नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा पाँच खेलको टी ट्वान्टी शृंखला खेलेको थियो। रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिजले घरेलु टोलीलाई ३–२ ले हराएको थियो। तर, अनुभवी खेलाडीले भरिएका क्यारेबियन टोलीसँग नेपालले शृंखलामा राम्रो चुनौती दियो। यो प्रदर्शनले आगामी शृंखलामा नेपाली टोलीलाई आत्मबल बढाउने कप्तान रोहितको विश्वास छ। पछिल्लो दुई वर्ष टेस्ट राष्ट्रसँग खेलेकाले सबै खेलाडीमा आत्मविश्वास बढेको रोहितले उल्लेख गरे।
गत एक महिनादेखि अस्ट्रेलियामा पनि राम्रो तयारी गरेकाले नेपाली टोलीको तयारी समग्रमा प्रभावकारी बनेको कप्तान रोहित बताउँछन्। उनले सबै खेलाडी राम्रो लयमा देखिएको उल्लेख गरेका छन्। मैदानमा जसले उत्कृष्ट प्रदर्शन गर्छ त्यो नै प्लेइङ ११ मा पर्ने उनको भनाइ छ। यो शृंखलाका लागि टोली उत्साहित रहेको र आगामी खेलमा ध्यान केन्द्रित गरेको कप्तान रोहित बताउँछन्। वेस्ट इन्डिजसँगको खेलबाट राम्रो तयारी पाउने र नेपाल विश्वकपमा छनोट हुने उनको विश्वास छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) को उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले नेपाली टोलीको बिदाइ गरेका थिए।
नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि वेस्ट इन्डिजसँगको सिरिज ऐतिहासिक र नेपाली क्रिकेटका लागि अवसरका रूपमा लिएको बताएका छन्। टी ट्वान्टी विश्वकप क्वालिफायर अगाडि यस शृंखला नेपालका लागि राम्रो अवसर रहेको प्रशिक्षक ज्ञानेन्द्र बताउँछन्। शृंखलाका लागि नेपाली टोलीले तयारी पनि राम्रो गरेको उनले उल्लेख गरे। नेपालले यो अवसरलाई भरपूर सदुपयोग गर्नेमा उनी विश्वस्त छन्। साथै उनले टेस्ट राष्ट्रलाई हराउने अवसरका रूपमा पनि यसलाई लिए। टेस्ट राष्ट्र बन्न यस्ता टोलीसँग खेल्न आवश्यक रहेको ज्ञानेन्द्रले बताए। तब मात्र टेस्ट राष्ट्र बन्ने नेपालको यात्रामा मद्दत पुग्ने उनको आशा छ । तर, सबैले आफ्नो क्षेत्रमा राम्रो जिम्मेवारी वहन गरेको उनी बताउँछन्।
युएईमा राम्रो तयारी गर्दै विश्वकपमा छनोट हुने लक्ष्य रहेको उनले बताए। विश्वकपमा छनोट हुँदै समग्र नेपाललाई खुसी दिने लक्ष्य रहेको र त्यसका लागि तयारी पनि प्रभावकारी भएको उनको विश्वास छ । सदस्यसचिव घिसिङले टेस्ट टोलीसँग बिरलै क्रिकेट खेल्न पाउने र यो अवसर सही रूपमा प्रयोग हुनेमा आफू आशावादी रहेको बताए। यस शृंखलाका लागि अवसरका रूपमा लिएर त्यहीअनुरूप प्रदर्शन गर्न पनि खेलाडी तयार हुने उनको विश्वास छ। छनोटमा पनि नेपाली टोलीबाट राम्रो प्रदर्शन हुनेमा आफू विश्वस्त रहेको उनी बताउँछन्। क्वालिफायरमा सफलता प्राप्त गर्दै देशलाई ठूलो सन्देश दिन उनले आग्रह गरेका छन्। देशमा अवस्था परिवर्तनका लागि युवा पुस्ताको आन्दोलनमा त्यति धेरै बालिदानी हुन्छ भनेर कसैले नसोचेको उनले उल्लेख गरे।
आन्दोलनमा सहिद हुनेप्रति समग्र खेलकुद क्षेत्रबाट उनले श्रद्धाञ्जलि अर्पण गरेका छन् । त्यसमा क्रिकेट खेलाडी पनि गुमाउनु परेको र केही अझै घाइते अवस्थामा उपचार गरिरहेको उनले उल्लेख गरे। आन्दोलनसँगै धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू अनिश्चत बनेको उनी बताउँछन् तर, यस्तो अवस्थामा नेपाल प्रिमियर लिग (एनपिएल) समयमा आयोजना हुने प्रतिबद्धतालाई उनले प्रशंशा गरेका छन् । राखेप पनि यो आयोजना सम्पन्न गर्न हरेक किसिमले सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका छन्। क्यानका उपाध्यक्ष रोशन सिंहले देशमा खुसी दिने नेपाली क्रिकेट नै रहेको र खेलपश्चात खेलाडीहरूको जीवन धान्ने वातावरण सिर्जना गर्न सरकारले ध्यान पुर्याउनुपर्ने धारणा राखे। इतिहास बनाउने खेलाडीका लागि राम्रो सेवा सुविधा प्रदान गर्न उनले आग्रह गरेका हुन्।
प्रकाशित: ३ आश्विन २०८२ ०६:१७ शुक्रबार





