२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

किशोरी टोलीले अंक बाँड्यो

नेपाली किशोरी टोलीले थाइल्यान्डमा जारी एएफसी महिला यु-१७ एसियन कप छनोटमा तुर्केमिनिस्तानसँग अंक बाँडेको छ।

चोनबुरी रंगशालामा समूह ‘एफ’ अन्तर्गत  नेपालले बुधबार तुर्केमिनिस्तानसँग गोलरहित बराबरीको नतिजा सामना गरेको हो। छनोट हुने लक्ष्यसहित थाइल्यान्ड गएको नेपाली टोलीले पहिलो खेलमा जित निकाल्न असफल भयो। यस समूहमा नेपाल, आयोजक र तुर्केमिनिस्तान छन्। समूहको शीर्ष टोली महिला यु–१७ एसियन कपमा छनोट हुनेछ। यो बराबरीपछि नेपालले अब एसियन कपमा छनोट हुन दोस्रो खेलमा थाइल्यान्डलाई हराउनु नै पर्नेछ।

सोमबार नै थाइल्यान्डले तुर्केमिनिस्तानलाई १७–० ले हराएको थियो। तर, दोस्रो खेलमा भने तुर्केमिनिस्तान नेपालको आक्रमणलाई रोक्न सफल भयो। नेपाल बलियो टोली थाइल्यान्ड र तुर्केमिनिस्तानलाई पनि हराउने लक्ष्यमा थियो।

तर, तुर्केमिनिस्तानसँग भने नेपाल असफल भएको छ। पाएका अवसर गोलमा परिणत गर्न नसक्दा नेपालले अंक बाँड्नुपरेको छ। वर्षाका बीच हिलाम्मे मैदानमा उक्त खेल भएको थियो। नेपालले खेलको सातौं मिनेटमा पहिलो अवसर सृजना गरेको थियो तर कप्तान भूमिका बुढाथोकीको बक्सभित्रबाट लेफ्ट फुटेड प्रहार सफल भएन। उनको प्रहार तुर्केमिनिस्तानकी गोलकिपर इलनुरा माक्सुतोभाले बचाइन्।

नेपालले ३३औं मिनेटमा पनि अर्को अवसर बनायो। फरवार्ड अनिता रानामगरको हेडरले गोलपोस्टको दिशा लिन सकेन। मिडफिल्डर बब्तिका कार्कीको कर्नर प्रहारलाई अनिता गोल गर्नबाट चुकेकी हुन्। यसको पाँच मिनेटपछि पनि नेपाली टोलीले अर्को अवसर बुन्यो।

कप्तान भूमिकाको पासमा फरवार्ड यमकुमारी बिकको वान टच पोस्टको दिशा लिन सकेन। एक मिनेटपछि नै उनले अर्को अवसर बुनिन् तर बब्तिकाको सुन्दर थ्रु पासमा अनिताको प्रहार गोलकिपर माक्सुतोभाले बचाइन्। यसपछि पहिलो हाफमा गोलरहित बराबरी भयो। दोस्रो हाफमा पनि नेपालले राम्रो अवसर बनायो तर गोल निस्कन भने सकेन।

४९औं मिनेटमा नेपाली किशोर टोलीले अवसर सदुपयोग खेर फाल्यो। तुर्किमिनिस्तानको रक्षापंक्ति फितलो भएको अवस्थामा कप्तान भूमिका र अनिताले अवसर सदुपयोग गर्न सकेनन्। ६१औं मिनेटमा पनि नेपालले गोलका लागि अर्को अवसर सिर्जना गर्‍यो।

स्ट्राइकर पूजा गिरीको प्रहार तुर्केमिनी गोलकिपर माक्सुतोभाले बचाइन्। भूमिकाको पास सदुपयोग गर्दै गरेको उनको प्रहार सफल हुन सकेन। पूजा ५७औं मिनेटमा सम्झना चन्दको स्थानमा मैदान प्रवेश गरेकी हुन्। ६४औं मिनेटमा अनिताको सटमा पनि गोलकिपर माक्सुतोभा  पुनः बाधक बनिन्।

 ७०औं मिनेटमा बब्तिकाको प्रहार माक्सुतोभाले बचाइन्। ६ मिनेटपछि यमकुमारीको हेडर पनि माक्सुतोभाले बचाइन्। ग्यान्सु डोल्मा फ्रिकिकमा यमकुमारको हेडर पनि सफल भएन। निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा डिफेन्डर अलिजाकुमारी विकको प्रहार क्रस बारमा लागेर फर्कियो। नेपालले अब शुक्रबार दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग खेल्नेछ।

प्रकाशित: ३० आश्विन २०८२ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App