पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय भाइचारा बढाउने उद्देश्य लिएर दुई दिने छैटौं आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार बहुउद्देश्य मार्सल आर्ट्स सेन्टर, खुसिवु सम्पन्न भएको छ। यस सेमिनारमा जापान, आयरल्यण्ड, सिंगापुर, दुबई लगायत नेपालका ७० खेलाडीको सहभागिता रहेको थियो।
यस जापानी आत्मसुरक्षा मार्सल आर्टको सेमिनारका लागि जापानबाट आइकिदो प्रधान कार्यालयबाट गुरु तेइजु शासाकी सिहान (महागुरु) आएका थिए।
आइकिदो खेल १४० देशमा ७० लाखभन्दा धेरै खेलाडीले खेल्छन्। यस खेललाई शालीनताका साथ खेलिने आत्मरक्षाको मार्सल आर्टको रूपमा लिइन्छ। हाल यस संस्थाले यस खेललाई सिंगापुर, काठमाडौं, पोखरा र तनहुँ लगायतका डोजो र विद्यालयहरूमा समेत आइकिडो आइकिकाई संघ नेपालले प्रशिक्षण दिंदै आएको छ।
विशेष गरी यस खेल हरेक विद्यालयमा किशोर र किशोरीहरूलाई प्रशिक्षण दिई अप्रिय घटनाबाट, आफूलाई आईपर्ने आक्रमणलाई आफैंले आत्मरक्षा गर्न सक्ने बनाउनु यस संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। उक्त संस्थाले नेपालमा १७ वर्षदेखि प्रशिक्षण दिंदै आएको छ।
प्रमुख प्रशिक्षक अर्जुन श्रेष्ठले यस खेललाई नेपाल भित्र्याएका हुन्। यस खेललाई शान्ति र सद्भावको कला पनि भनिने संस्थाका सचिव विनय श्रेष्ठले बताए।
साथै आफू वित्तीय संस्थामा आबध्द भएकाले जोखिमपूर्ण अवस्था पनि आइपर्न सक्ने सम्भावना भएकाले आफ्नो सुरक्षाका लागि अत्यन्तै आवश्यक लागेर ४ वर्षदेखि यस खेलको प्रशिक्षण लिंदै आएकाले आत्मविश्वास बढेको अनुभव खेलाडी आदित्य शाहले बताए।
दुई दिने यस सेमिनारको समापन गर्दै प्रमुख प्रशिक्षक अर्जुन श्रेष्ठले यस सेमिनारले पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय भाइचारा बढाउने विश्वास लिएको बताए।
प्रकाशित: २३ भाद्र २०८२ ११:२७ सोमबार





