२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने

कर्णाली प्रदेशमा तय दशौं राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६ देखि २९ गतेसम्म हुने भएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको राखेपाको १२५औं बोर्ड बैठकले २०८१ सालमा नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद मङ्सिरमा गर्ने निर्णय गरेको हो । यद्यपि पाँचौं पटक दोस्रो खेलकुद आयोजनाको मिति सरिँदै आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौँ राष्ट्रिय खेलकुदका लागि अहिलेसम्म चार पटक मिति तय गरेका छन् । तर हरेक पटक कुनै न कुनै कारण देखाउँदै प्रतियोगिता स्थगित गरिएको छ ।

सुरुमा २०८१ सालमा आयोजना गर्ने तयारी गरिएको थियो । त्यसपछि विभिन्न चरणमा नयाँ कार्यतालिका सार्वजनिक गरियो । पछिल्लोपटक राखेपको १२३औं बोर्ड बैठकले प्रतियोगिता २०८३ वैशाखमा गर्ने निर्णय भए पनि आवश्यक तयारी पूरा हुन नसकेपछि त्यो मिति पनि कार्यान्वयन हुन सकेन ।  

हरेक दुई वर्षको अन्तरमा हुने गरी २०३८ सालदेखि राष्ट्रिय खेलकुदको अवधारणा सुरु भएको हो । तर, देशको व्यवस्था परिवर्तनसँगै राजनीतिक अस्थिरताका कारण राष्ट्रिय खेलकुदको आयोजना प्रभावित हुँदै आएको छ।

अहिलेसम्म बीसौं संस्करण पूरा भएर २१औं संस्करणको तयारीमा जुट्नुपर्ने हो । तर, दशौं संस्करणको आयोजनामा पनि अझै अन्योलमा छ। २०७९ साल कात्तिक ३ गते नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशलाई २०८१ मंसिरमा अर्काे राष्ट्रिय खेलकुद गर्ने गरी झन्डा प्रदान गरेका थिए । निवर्तमान सरकारले दसौं राष्ट्रिय खेलकुद गर्नका लागि बजेट विनियोजन र आयोजक कर्णाली प्रदेशले पूर्वधार निर्माण गरिसक्दा पनि तत्कालीन खेलकुदमन्त्री तेजुलाल चौधरीले पटकपटक मिति सार्दै आएका थिए।

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपल्ट आयोजनाअगाडि नै बजेट विनियोजन भएको थियो भने तत्कालीन कर्णाली प्रदेश सरकारले झन्डै दुई अर्बभन्दा बढी लगानीमा पूर्वाधार निर्माण पनि गरिसकेको थियो । तर, खेलकुदमन्त्री चौधरीले नै दसौं राष्ट्रिय खेलकुद आयोजना रोकेका थिए । मन्त्री चौधरीले राखेपको १२२औं बोर्ड बैठकमा विरोधका बावजुद दसौं राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिने निर्णय गराएका थिए ।  

आज बैठकमा के के हुँदैछ ?  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औं बोर्ड बैठकमा २०औं एसियाली खेलकुदसहित विभिन्न महत्वपूर्ण विषयमा निर्णय हुने भएको छ।

बोर्ड बैठकका लागि प्रस्तावित एजेन्डामा आगामी २०औं एसियाली खेलकुदमा सहभागी हुने खेल तथा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलको अनुमोदन गर्ने विषय राखिएको छ। यस्तै एसियाली खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन निर्देशिका–२०८३ तथा एसियाली खेलकुदको तयारी र सहभागितासम्बन्धी बजेट तथा नर्म्समाथि पनि बैठकमा छलफल हुनेछ।

त्यसैगरी १०औँ राष्ट्रिय खेलकुदमा समावेश हुने खेलको टुंगो लगाउने, आयोजक समिति गठन गर्ने तथा प्रतियोगिता सञ्चालनसम्बन्धी निर्देशिका २०८३ अनुमोदन गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुँदै छ। राष्ट्रिय खेलकुद आयोजनासम्बन्धी बजेट तथा नर्म्ससम्बन्धी प्रस्तावसमेत बोर्ड बैठकमा छलफल हुनेछ।

बैठकले राष्ट्रिय खेलकुद परिषद्को चालु आर्थिक वर्ष २०८३/८४ को विनियोजित बजेटका सम्बन्धमा समेत निर्णय गर्नेछ।

परिषद्को आन्तरिकतर्फको अनुमानित आय–व्ययसम्बन्धी प्रस्ताव पनि बोर्डमा पेश हुँदैछ।

परिषद्लाई आवश्यक प्राविधिक जनशक्ति करार सेवामा नियुक्त गर्ने प्रस्ताव पनि बैठकको एजेन्डामा छ। पूर्वाधार निर्माणतर्फ सिभिल इन्जिनियर उपसचिवसरह एक जना तथा सिभिल/आर्किटेक्ट/इलेक्ट्रिकल/स्ट्रक्चरलतर्फ चार जना कर्मचारी करारमा लिने प्रस्ताव गरिएको छ। सूचना प्रविधितर्फ आइटी विज्ञ दुई जना तथा आवश्यक कानुनी सल्लाहकार करार सेवामा लिने विषय पनि प्रस्तावित छ।

यस्तै खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन, खेल संघहरूलाई खेल कार्यक्रमका लागि अनुदान सहयोग तथा खेलाडी कल्याणकारी कोष प्रयोगसम्बन्धी मापदण्ड २०८३ लगायतका विषयमा पनि बोर्डले निर्णय गर्नेछ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री एवं राखेपका अध्यक्षबाट २०८३/०२/०७ मा परिषद्का सदस्यसचिवलाई प्रत्यायोजित अधिकारको अनुमोदनसम्बन्धी प्रस्तावसमेत पेश हुँदै छ। कार्यकारी समितिबाट खरिद शाखा स्थापना गरिएको विषयलाई अनुमोदन गर्ने, अखिल नेपाल फुटबल संघ (एन्फा) सम्बन्धमा आवश्यक निर्णय गर्ने तथा खेल संघहरूको नवीकरणसम्बन्धी विषय पनि प्रस्तावित एजेन्डामा समेटिएका छन् ।

प्रकाशित: २८ श्रावण २०८३ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App