आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डसामु जितका लागि १८३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
शनिबार भारतको कोलकत्तास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८२ रन बनायो।
वेस्ट इन्डिजलाई सम्मानजनक स्कोरमा पुर्याउन मध्यक्रमका ब्याटर शिम्रोन हेटमायरले विष्फोटक इनिङ्स खेले। उनले मात्र ३६ बलको सामना गर्दै २ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए।
ओपनर ब्रेन्डन किंगले ३५ रनको योगदान दिए भने कप्तान शाई होप १९ रनमा आउट भए।
मध्यक्रममा रोभम्यान पावेलले १४ बलमा २४ रन र शेरफेन रदरफोर्डले अन्त्यतिर १३ बलमा २६ रनको आक्रामक योगदान दिँदै टिमको स्कोर १८० कटाउन मद्दत गरे।
स्कटल्यान्डका लागि ब्राड करीले कसिलो बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। त्यस्तै, सफ्यान सरिफ, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १-१ विकेट हात पारे।
प्रकाशित: २४ माघ २०८२ १६:५८ शनिबार





