४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

टी-२० विश्वकपको ट्रफी नेपालमा, राष्ट्रपतिले भनेः नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर

राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको उनको भनाइ थियो ।  

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विश्वकप ट्रफी सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए ।  

“नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ”, राष्ट्रपति पौडेलले भने ।  

नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिनुभएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद दिए । “नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भने।  

राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्वकप ग्लोबल छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्वकपमा सहभागी हुने हाम्रा महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिएका थिए । 

प्रकाशित: २१ पुस २०८२ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App