२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

टी ट्वान्टी क्रिकेट विश्वकप: राजनीतिक छिटाबिच दसौं संस्करण शनिबारबाट

दक्षिण एसियाली राष्ट्रबिचको राजनीतिको छिटा परेको आइसिसी टी ट्वान्टी विश्वकपको दसौं संस्करण शनिबारदेखि श्रीलंका र भारतमा संयुक्त रूपमा सुरु हुँदै छ।

कुल २० राष्ट्रले प्रतिस्पर्धा गर्ने छोटो फरम्याटको यस विश्वकप भारतको पाँच र श्रीलंकाको तीन सहरमा एक महिनासम्म चल्नेछ। विश्वकप होस् या एसिया कप सधैं जसो दक्षिण एसियाली राष्ट्रको राजनीतिले यसलाई असर गर्ने गरेको छ । यसपल्ट टी ट्वान्टी विश्वकपको दसौं संस्करणमा पनि दक्षिण एसियाली राष्ट्रको राजनीतिको छिटा परेको छ।

बंगलादेशमा नयाँ सरकार बनेपछि भारतसँग कूटनीति सम्बन्ध त्यति राम्रो थिएन। जुन खराब कूटनीतिको असर विश्वकपसम्म देखियो। इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई हटाएपछि भारत र बंगलादेशबिच पनि द्वन्द्व सुरु भएको हो । सोही द्वन्द्वपछि बंगलादेशले भारतीय भूमिमा नखेल्ने निर्णय गर्‍यो।

आइसिसीले बंगलादेश बाहिरिएसँगै उसको स्थानमा स्कटल्यान्डलाई समावेश गरिसकेको छ। यो घटनामा पाकिस्तान पनि थपिन पुग्यो । पाकिस्तानले बंगलादेशको साथमा आफू रहेको सन्देश दिन भारतसँग आगामी १५ फेब्रुअरीको खेल नै बहिष्कार गरेको छ । विश्व खेलकुदका ठूलो प्रतिस्पर्धामा विरलै मात्र यस्ता घटना देखिन्छन्। क्रिकेटमा भने भारत र पाकिस्तानबीचको द्वन्द्व सधैंजसो स्पष्ट रूपमा नै देखिने गर्छ। अहिले बंगलादेश पनि थपिएको छ। यस विश्वकपमा कुल ५५ खेल हुन्छन्। पहिलो दिन तीन खेल शनिबार पाकिस्तान र नेदरल्यान्ड्स, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा आयोजक भारत र अमेरिकाबिच हुँदै छन् । श्रीलंकाको सिघांलिसमा नेदरल्यान्ड्स र पाकिस्तानबिच प्रतिस्पर्धा भएसँगै दसौं संस्करणले सुरुआत पाउनेछ।

डिफेन्डिङ च्याम्पियन भारतले मुम्बईको वाङ्खडे स्टेडियममा उद्घाटन समारोहका बिच आफ्नो दाबेदारी सुरु गर्नेछ । नेपालको समूह ‘सी’ मा रहेको वेस्ट इन्डिजले इडन गार्डेन्समा खेल्नेछ । विश्वकप सुरु भए पनि बहुप्रतीक्षित खेल (भारत र पाकिस्तान)  नहुनुले रोमाञ्चक क्रिकेट समर्थकहरू निराश छन्। यी दुईबिचको खेल मैदानमा होस् प्रत्यक्ष प्रसारणमा पनि समर्थकको धेरै चासोमा पर्ने गर्छ तर यसपल्ट उनीहरूको यो प्रतीक्षा पूरा हुने छैन । भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले आफूहरूको लक्ष्य स्पष्ट रहेको र पाकिस्तानसँग खेल्न कोलम्बो जाने बताएका छन्।

‘हामीले पाकिस्तानसँगको नखेल्ने भनेका छैनौं। पाकिस्तान नखेल्ने भएको हो। त्यसैले हामी कोलोम्बो जान्छौं र खेलका लागि तयार हुन्छौं,’ भारतीय कप्तान सूर्यकुमारले भने।

यसअघि भारतसँग खेल्ने विषयमा जहिल्यै पनि पाकिस्तानी खेलाडीले आफ्नो सरकारलाई दबाब दिँदै आएका थिए तर गत वर्ष नोभेम्बरमा पुरुष एसिया कप र अक्टोबरमा महिला विश्वकपमा भारतीय खेलाडीले हात मिलाउन अस्वीकार गरेपछि पाकिस्तानी खेलाडी पनि छिमेकी राष्ट्रसँगको खेलमा चासो नदिएको स्पष्ट देखिन्छ । त्यसैले पनि उनीहरूले भारतसँग खेलका लागि सरकारले दबाब दिएका छैनन्। पछिल्लो समय देश मात्र होइन खेलाडीहरूबिच पनि दूरी बढेको स्पष्ट देखिन्छ।

पाकिस्तानका कप्तान सलमान अघाले भारतसँगको खेल आफूहरूको हातमा नरहेको र सरकारको निर्णयमा रहेको प्रतिक्रिया दिए। ‘यो खेल नहुनु पिसिबी र सरकारको निर्णय हो। हामी यो निर्णयको सम्मान गर्छौं । सरकारले जे भन्छ हामी त्यसलाई मान्छौं,’ सलमानले भनेका छन्।

बोर्डरमा दुई देशबीच द्वन्द्व भएकाले नै भारत र पाकिस्तान आइसिसीको प्रतियोगितामा मात्र आमनेसामने हुन्छन् तर यसपल्ट यो अवसर पनि मिल्ने छैन।

विद्यार्थी आन्दोलनपछि हसिना सरकारको १५ वर्षे लामो शासन ढल्यो। यससँगै बंगलादेशको भारतसँग कूटनीतिक सम्बन्ध खराब बन्यो । दुई देशका जनताबिच आरोप प्रत्यारोप हुँदै आएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले मुस्ताफिजुरलाई आइपिएलबाट निकालेपछि भारत र बंगलादेशबिचको द्वन्द्व थप बढ्यो। यही घटनाले नै विश्वकपको दसौं संस्करण विवादित बन्न पुग्यो। विश्वकप सुरु हुनुभन्दा अघिल्लो दिनमा पनि आइसिसीले भारत र पाकिस्तानबिचको खेल हुने वातावरण गर्न ठूलो कसरत गर्‍यो। भारत र पाकिस्तानबिचको खेल श्रीलंकामा हुने तय थियो। भारत र पाकिस्तानबिचको खेल नहुँदा आइसिसीलाई पनि ठूलो क्षति हुनेछ। श्रीलंका क्रिकेटले पनि ठूलो आर्थिक नोक्सानी हुने भएकाले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) लाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो तर बंगलादेशमाथि अन्याय भएको भन्दै पाकिस्तान भारतसँग नखेल्ने निर्णयबाट पछि हटेन।

प्रकाशित: २४ माघ २०८२ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App