५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
खेल

टी–२० क्रिकेट: नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ ८ विकेटले पराजित

अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ।

डार्विनस्थित मारारा क्रिकेट मैदानमा नेपाल ‘ए’ ले दिएको १२३ रनको लक्ष्य नर्दन टेरिटोरी स्ट्राइकले १५ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो। सुरुवातदेखि आक्रामक ब्याटिङ गरेको नर्दन टेरिटोरीले सहज रूपमा लक्ष्य पूरा गर्‍यो।

नर्दन टेरिटोरीका लागि जोर्डन सिल्कले अविजित ६० रन बनाए। डार्सी सर्टले २३ रनको योगदान दिए।

नेपालका पवन सर्राफले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका लागि पवन सर्राफले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

लोकेश बमले १३ बलमा १ चौका र १ छक्कासहित १८ रन, नारायण जोशीले ८ बलमा १ चौका र १ छक्कासहित १५ रन तथा कप्तान अनिल साहले ९ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए।

त्रिदेव दासले १३ रन, रसिद खानले १० रन र कुशल मल्लले ९ रन जोडे। ओपनर कुशल भुर्तेल भने ५ बल खेल्दै खाता खोल्न नपाई आउट भए। शाहब आलम र रिजान उलक अविजित रहे।

नर्दन टेरिटोरीका हामिश मार्टिनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डार्सी सर्टले समान १–१ विकेट लिए।

नेपाल ‘ए’ ले अब शनिबार बंगलादेश ‘ए’ सँग खेल्नेछ।

प्रकाशित: ५ भाद्र २०८३ १९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App