पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको सात हजार २७ मिटर अग्लो स्प्यान्टिक हिमालको सफल आरोहणपछि ओर्लने क्रममा पाकिस्तानी महिला पर्वतारोही अस्मा मुश्ताकको मृत्यु भएको छ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार आरोहणका क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नै थियो। तर, हिमालबाट ओर्लने क्रममा करिब ६ हजार ४ सय मिटरको उचाइमा पुग्दा उनलाई गम्भीर स्वास्थ्य समस्या देखापरेको थियो। अल्पाइन क्लबका वरिष्ठ उपाध्यक्ष करार हैदरीले भने, ‘अत्यन्त चुनौतीपूर्ण परिस्थितिमा उनलाई बचाउन गाइडहरूले तत्काल सक्दो प्रयास गरे पनि उनलाई बचाउन सकिएन।’
३४ वर्षीया मुश्ताक मूल रूपमा लाहोरकी थिइन्। तर उनी बेलायतमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टरका रूपमा कार्यरत थिइन्। उनी पाँच सदस्यीय पाकिस्तानी महिला आरोही टोलीसँग स्प्यान्टिक हिमाल पुगेकी थिइन्।
डाक्टर मुश्ताकले यसअघि चार हजार ७६ मिटर अग्लो हिमालको आरोहण पूरा गरिसकी थिइन्। अल्पाइन क्लबले उनको निधनलाई पर्वतारोहण समुदायका लागि ठुलो क्षति भन्दै शोक व्यक्त गरेको छ। हाल उनको पार्थिव शरीर व्यवस्थापनका लागि परिवार र सम्बन्धित अधिकारीहरूसँग समन्वय भइरहेको छ।
पाकिस्तानको उत्तरी क्षेत्रमा हुने पर्वतारोहणमा हिमपहिरो, चट्टान खस्ने तथा मौसमको तीव्र परिवर्तनका कारण यस्ता दुर्घटनाहरू बेलाबेला हुने गरेका छन्। गत जुलाईमा मात्रै पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर नेपालका ६ जनासहित १० जना पर्वतारोहीको मृत्यु भएको थियो।
प्रकाशित: ५ भाद्र २०८३ ११:५५ शुक्रबार


-600x400.jpg)

-600x400.jpg)
-600x400.jpg)