त्रिभुवन आर्मी क्लबका सुशीलकुमार शाहीले काठमाडौं म्याराथनको १७औं संस्करणको उपाधि जितेका छन्।
एनआरएस स्पोट्र्स फाउन्डेसनको आयोजनामा शनिबार भएको म्याराथनमा सुशीलले दुई घन्टा २४ मिनेट ५४ सेकेन्ड समयका साथ च्याम्पियन भए। च्याम्पियन सुशीलले एक लाख रुपैयाँ पाए। विनोद रोक्का दोस्रो र करण रावल तेस्रो भए। विनोदले दुई घन्टा २५ मिनेट २६ सेकेन्ड र करणले दुई घन्टा २६ मिनेट ४२ सेकेन्ड समय लगाए। विनादले ५० हजार र करणले २५ हजार रुपैयाँ पाए। हाफ म्याराथनमा सञ्जय श्रेष्ठ एक घन्टा १० मिनेट १९ सेकेन्डका पहिलो भए। नरेन्द्र सिंह (एक घन्टा १० मिनेट ५९ सेकेन्ड) दोस्रो र राजन मियोङबा (एक घन्टा ११ मिनेट २२ सेकेन्ड) तेस्रो स्थानमा रहे।
महिला हाफ म्याराथनमा सुनसरी रोकाया च्याम्पियन भइन्। उनले एक घन्टा ३३ मिनेट २० सेकेन्ड समय लगाइन्। फूलमती राना (एक घन्टा ३३ मिनेट २२ सेकेन्ड) दोस्रो र गीता महर्जन (एक घन्टा ५४ मिनेट ३४ सेकेन्ड) तेस्रो भए। मास्टर्स म्याराथन विधातर्फ (४० प्लस) मा केशजंग आले, ५० प्लसमा धर्म महर्जन र ६० प्लसमा अभी नारायण अधिकारी पहिलो भए। हाफ म्याराथनतर्फ ४० प्लसमा नादी शेर्पा र ५० प्लसमा धवेन्द्र ताम्राकार विजेता बने।
पाँच किलोमिटर पुरुषमा नागेश्वर अहिर र महिलामा प्रतिष्ठा थापा पहिलो स्थानमा रहे।नेपालको सबैभन्दा पुरानो काठमाडौं म्याराथन सन् २००७ देखि सुरु भएको हो।
प्रकाशित: १६ कार्तिक २०८२ १२:१९ आइतबार





