२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

सुदूरपश्चिमको ‘ह्याट्रिक’ जित, कर्णाली ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै लगातार तेस्रो जित हात पारेको छ।

सोमबार साँझ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले अंक तालिकामा आफ्नो बलियो उपस्थिति जनाएको हो।

जितका लागि पाएको १४० रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली याक्स १९.२ ओभरमा ९४ रनमै अलआउट भयो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरी नायक सावित भए। ब्याटिङमा सर्वाधिक रन बनाएका दीपेन्द्रले बलिङमा पनि चमत्कारिक प्रदर्शन गरे। ४ ओभर बलिङ गरेका उनले २३ रन खर्चेर कर्णालीका ४ महत्वपूर्ण विकेट लिए।

उनले पावरप्लेमै ३ विकेट लिँदै कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए। दीपेन्द्रलाई साथ दिँदै अभिनाश बोहोरा र हरमित सिंहले २–२ विकेट लिए भने स्कट कुग्गेलेजिन र हेमन्त धामीले १–१ विकेट हात पारे।

१४० रनको लक्ष्य पछ्याएको कर्णालीको सुरुवात निकै खराब रह्यो। पावरप्लेमा २९ रन जोड्दा ४ विकेट गुमाइसकेको टोली दबाबबाट माथि उठ्न सकेन।

कर्णालीका लागि पवन सर्राफले २६ बलमा ४ चौकासहित सर्वाधिक २७ रन बनाए। मार्क वाटले १० बलमा १७ रन, कप्तान सोमपाल कामीले १४ रन, गुल्सन झा र अर्जुन घर्तीले समान १३/१३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

ओपनर प्रियंक पञ्चाल, नजिबुल्लाह जद्रान र युवराज खत्री जस्ता खेलाडी सस्तैमा समेटिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।

सुदूरपश्चिमको सुरुवात पनि बिर्सनलायक रह्यो। इनिङको पहिलो बलमै सोमपाल कामीले ओपनर जोस ब्राउन (०) लाई बोल्ड गरे। तर, कप्तान दीपेन्द्र सिंह ऐरीले २८ बलमा ३९ रन बनाउँदै इनिङ सम्हाले।

आरिफ शेखले २७ रन, हरमित सिंहले १९ रन र क्रिस लिनले १८ रनको योगदान दिए।

बलिङतर्फ कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए।

यो नतिजासँगै सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा खेलेका तीनवटै खेल जितेको छ। यसअघि विराटनगर किंग्सले पनि सोमबार नै लगातार तेस्रो जित निकालेको थियो।

प्रकाशित: ८ मंसिर २०८२ १९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App