सर्वाधिक फ्यान फलोइङ, मैदान नै कब्जा गर्ने हज्जारौँ समर्थक, भूगोलमा पनि उस्तै क्रिकेटिङ कल्चर, टिमको पनि लिगभरी जब्बर प्रदर्शन। तर, फाइनलमा पुगेर फ्यास्स हार।
यो कथा, नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको हो। एनपिएलको पहिलो सिजनमै यो कथा कोरिएको थियो। पहिलो सिजन त उसका लागि यो खट्टामिठ्ठा कथा थियो। यस पटक भने उसको नसिबमा बारम्बारको नियति बनेर बर्षिएको छ।
नियति यसअर्थमा बन्यो कि पहिलो सिजनमा कोरिएको कथाजस्तै दोस्रो सिजनमा पनि सुदूरपश्चिम रोयल्स उसैगरी फाइनलमा पुगेर स्तब्ध बनेको छ। लिग चरण र पहिलो क्वालिफायरसम्मको यात्रा पहिलो सिजन जस्तै करिस्मायी प्रदर्शन गरेको सुदूरपश्चिम अन्ततः फाइनलमा लुम्बिनी लायन्ससँग ६ विकेटले निरास बन्यो।

६ विकेट भन्दा केही प्रतिस्पर्धात्मक लागे पनि सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै भेट्टाएको छ। जुन आफैमा फराकिलो हारजित हो। यसरी प्रतियोगिताअघि कमै मात्रले उपाधि जित्ने अपेक्षा गरेको लुम्बिनीले एकाएक ‘ट्रफी’मा कब्जा जमायो।
सुदूरपश्चिमका लागि टस जितेर पहिले ब्याटिङको निर्णय गर्नु, ओभरसिज खेलाडीको अस्थिर उपस्थिति र बलिङ रणनीति पनि पोख्त नहुनु हारका मुख्य कारण देखिए।
रणनीतिमै चुकेको सुदूरपश्चिम
सुदूरपश्चिमका लागि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय नै सबैभन्दा आत्मघाती बन्यो। दोस्रो सिजनभरि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ निकै कठिन देखिएको थियो। लगभग सबैजसो खेलमा पहिले ब्याटिङ गर्ने टोलीले पावरप्लेमै धमाधम विकेट गुमाएका थिए।

फाइनलअघि एनपिएलमा सम्पन्न ३२ खेलमध्ये जम्मा २ खेलमा मात्रै पहिले ब्याटिङ गर्ने टोलीले २०० रन कटाएको थियो। सुदूरपश्चिमले पोखरासँग पहिले ब्याटिङ गरेर १९३ रन बनाएको थियो।
फाइनल खेलमा पहिले ब्याटिङ गर्दा सुरुमै विकेट गुमाएको अवस्थामा दबाबमा परिन्छ भन्ने थाहा हुँदाहुँदै टस जितेर पहिले ब्याटिङको निर्णय गलत नै थियो।
त्यसैमा अस्थिर ब्याटिङ लाइनअप देख्दादेख्दै त्यो निर्णय सही थिएन। किनभने सुदूरपश्चिम रोयल्ससँग विनोद भण्डारीबाहेक स्थायी ओपनर ब्याटर कोही थिएनन्। लिगमा उपलब्ध जोस ब्राउन र क्रिस लिन जस्ता ओभरसिज ब्याटर फाइनलमा थिएनन्। पहिलो क्वालिफायर खेलेका मुख्तर अहमद पनि फाइनलमा उपलब्ध थिएनन्।
यही भएकाले तीन नम्बरमा खेलिरहेका ईशान पाण्डे फाइनलमा ओपनर आएका थिए। उनको प्रमोसन भएपछि त्यसपछिको क्रम पनि उसैगरी प्रमोसन भयो। जुन फाइनलमा मात्रै प्रयोग हुन गइरहेको ब्याटिङ प्रयोग थियो।
यस्तोमा आफ्नै बलरको विश्वास गर्दै पहिले लुम्बिनीलाई सस्तैमा रोकेर कम लक्ष्य लिई दोस्रो इनिङ ब्याटिङ गर्ने रणनीति परिपक्व हुन्थ्यो। पहिले ब्याटिङ गर्ने निर्णय गर्दा दोस्रो इनिङको बलिङमा आउनसक्ने शित फ्याक्टरको एडभान्टेज लिनेतर्फ पनि सुदूरपश्चिमका कप्तान र टिम म्यानेजमेन्टले ध्यान दिएको देखिएन्।
जे डर थियो त्यही भयो
नभन्दै लुम्बिनीले पहिलो ओभरदेखि नै विकेटको झडी लगाउन सुरु ग¥यो। जुन त्रिवि क्रिकेट मैदानमा यसअघिका खेलमा भइरहेकै थियो। पहिलो ओभरमै विनोद भण्डारीले गैह्रजिम्मेवार सर्ट खेलेर खाता नै नखोली आउट भए। प्रतियोगितामा पहिलो ओभरमै दबाबमा पुग्यो।

जसको प्रभाव रनरेटमा देखियो। तेस्रो ओभरमा शेलडन ज्याक्सन पनि आउट भए। उनको आउट हुनुमा अम्पायरको गलत निर्णय मान्न सकिन्छ। पाँचौ ओभरमा मध्यक्रममा भरपर्दा ब्याटर आरिफ शेख पनि आउट भए।
फाइनलको प्रेसर खेलमा यसरी सुरुमै तीन विकेट झरेपछि ६ ओभरमा जम्मा २० रनको स्थितिमा रह्यो। जसको दबाब क्रिजमा रहेका ईशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरीमाथि देखियो। उनीहरू त्यसपछि १० औँ ओभरसम्म खुलेर खेल्नै सकेनन्। अर्कातिर लुम्बिनीको टिम उत्साहित थियो। विकेट किपर निरोसन डिक्वेलाको आवाजले दीपेन्द्र तनाव लिइरहेका थिए। जसको कम्प्लेन उनी अम्पायरसम्म गर्न पुगेका थिए।
११ आँैमा दीपेन्द्रले आक्रामक खेल्न खोज्दा लुम्बिनीका कप्तान रोहित पौडेललाई विकेट सुम्पिए। त्यसपछि धमाधम थप दीपक बोहरा र पुनीत मेहराको पनि विकेट लिएर रोहितले ह्याट्रिक पूरा गरे। त्यसरी ११ ओभर सकिँदा सुदूरपश्चिमले ६ विकेट गुमाएर जम्मा ४४ रनको स्थितिमा थियो।

त्यसपछि रन गति बढाउने चक्करमा १५ औँ ओभरमा हरमित सिंह, १७ औँ ओभरमा ईशान पाण्डेले पनि विकेट गुमाए। २० औँ ओभरको पहिलो बलसम्म पुगेर सुदूरपश्चिमले सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो।
बलिङमा पनि उस्तै
टी–२० खेलमा ८६ रन निकै सानो स्कोर हो। जसको सुरक्षा लगभग असम्भव मानिन्छ। तैपनि क्रिकेटिङ स्पिरिटअनुसार प्रयाससम्म गर्नैपर्छ। जारी सिजनभरि अधिकांश खेलमा देखिएको अवस्थाले त्रिवि मैदानको पिच बलिङ पिच देखिएको छ। लुम्बिनीकै बलर पनि शानदार बलिङ गरेका थिए।
क्रिकेट पण्डितहरूले नयाँ बल हुँदा पहिलो ओभर सकभर आफ्ना सबैभन्दा भरपर्दा फास्ट बलिङ गर्ने ‘स्ट्राइक बलर’लाई दिनुपर्ने मत राख्छन्। सुदूरपश्चिमसँग प्रतियोगितामै उत्कृष्ट बलिङ प्रदर्शन गरेर १५ विकेट लिइसकेका अविनास बोहरा थिए।
तर पहिलो ओभरमा अविनासको प्रयोग भएन। बरु कप्तान दीपेन्द्रसिंह ऐरी नै आए। उनीमाथि लुम्बिनीका ओपनभर दिनेश अधिकारी बर्बर खनिए। सुरुकै ओभमार ४ छक्कासहित २७ रन बटुले।
दीपेन्द्रले गरेजस्तो अभ्यास क्रिकेटमा नभएको होइन। अक्सर ट्रिकी टार्गेट (सानो र मध्यम भन्दा बिच)को बचाउँदा त्यस्तो अभ्यास हुन्छ। जसलाई जुवा दाउ पनि भनिन्छ। यस्ता कैयौँ दाउमा दीपेन्द्र सफल पनि भएका छन्।

तर, सुदूरपश्चिमसँग त्यो टार्गेट थिएन, धेरै सानो थियो। जसमा उत्कृष्ट बलर धमाधम दुई–तीन विकेट निकाल्न सके। दबाबमा ल्याएर बचाउन कोसिस गर्न सकिन्थ्यो। त्यहाँ सुरुकै बलदेखि सानो पनि मौका दिने छूट थिएन। उनी राम्रा बलर हुन्। तर, नयाँ बल र डेथ ओभरका लागि अनुशासन कायम राख्नसके उनी भन्दा राम्रा बलर अविनास नै हुन्।
ती अविनासलाई ७ ओभर सकिँदासम्म पनि बलिङमा ल्याइएन। आठौँ ओभरमा ल्याउँदा उनले एक विकेट निकालेर दिए। तर उनी बलिङमा आउँदा लुम्बिनीलाई ३ रन मात्रै चाहिएको थियो।
क्रिकेटमा टसको महत्व धेरै अर्थपूर्ण मानिन्छ। टस जित्दा कन्डिसन हेरेर टिमले टिमको परिस्थिती, परिवेश, मौसम र मैदानअनुकुल निर्णय लिन सक्दछन्। तर फाइनल खेलमा सुदूरपश्चिमले यी कुरामा आँखा चिम्लिएको देखियो। भलै कप्तान दीपेन्द्र र टिम म्यानेजमेन्टको आफ्नो फरक सोच होला।
सुदूरपश्चिमका लागि गत सिजनको हारभन्दा यो हार निकै लामो समयसम्म बिझाइराख्ने निश्चित छ। अघिल्लो सिजन फाइनलमा सुदूरपश्चिमले १८४ रनको शानदार लक्ष्य तयार पारेको थियो। भलै त्यसलाई राम्रो फिनिसिङ गरेको भए २०० नाघ्न सक्थ्यो। जसलाई जनकपुरले संघर्ष गरेरै जितेको थियो। जनकपुर ब्याटिङ, बलिङ सबैमा बलियो सन्तुलित पनि थियो। दुवै टिम लिगमा टेबल टपर थिए। अर्को कुरा त्यो पहिलो सिजन थियो। हार पनि पहिलो नै थियो। अर्को वर्ष उस्तै ऊर्जासहित एनपिएल सुरुवात गर्ने मौका सुदूरपश्चिमले पायो पनि।
यसपटक फाइनलमा गरेको आफ्नै प्रदर्शनसँग सुदूरपश्चिमेली टोली सन्तुष्ट हुन सहज छैन। एउटा सारै खराब सपनाजस्तो गरी उसका लागि यो फाइनल गुज्रिएको छ। लिगमा दबदबा जमाउँदै फाइनलमा पुगेको टोली लिगको चौथो स्थानमा रहेर बल्लतल्ल प्लेअफमा पुगेको टोलीसँग पराजित भयो। त्यो पनि यो स्तरमा। जुन अघिल्ला प्रदर्शनअनुसार कसैले कल्पना नै गर्नसकेको थिएन।
यसैमा पनि दुई पटक दबदबासहित लगातार टेबल टपर, पहिलो क्वालिफायरबाट सिधै फाइनल र दुवै पटक हार हुनु सुदूरपश्चिमका लागि अर्को नराम्रो हकिकत बनेर सामुन्ने उभिएको छ। ‘लिगभरी राम्रो फाइनलमा फ्यास्स’ हुने नयाँ चित्र नेपाली क्रिकेटमा सुदूरपश्चिमको देखिएको छ।
विश्व क्रिकेटमा दक्षिण अफ्रिकालाई यस्तै प्रदर्शन दोहोरिरहने भएकाले ‘चोकर्स’को उपमा दिइन्छ। सधैँका आइसिसी इभेन्टमा राम्रो र दाबेदार टोली मानिने दक्षिण अफ्रिकाले केही समयअघिसम्म कहिल्यै आइसिसी इभेन्ट नजितेको खराब ईतिहास थियो। यसैवर्ष उसले अस्टे«लियालाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिप जितेको छ।
सुदूरपश्चिम रोयल्सले त्यस्तै अवस्था नदेख्न अर्को वर्ष नयाँ ऊर्जा र उत्साहका साथ देखिनुपर्ने छ।
बधाई लुम्बिनी लायन्स, बधाई एनपिएल, बधाई नेपाली क्रिकेट।

प्रकाशित: २७ मंसिर २०८२ २०:१४ शनिबार





