२४ मंसिर २०८२ बुधबार
image/svg+xml
खेल

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ससामु जितका लागि १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको हो।

सुदूरपश्चिमको इनिङ्स उकास्न विकेटकिपर ब्याटर विनोद भण्डारीले सर्वाधिक योगदान दिए।

एक छेउबाट विकेट झरिरहँदा क्रिजमा डटेका विनोदले ५२ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतले ६३ रन बनाए। उनी १८.६ ओभरमा प्रतिश जिसीको बलमा क्याच आउट भए।

सुदूरपश्चिमले सुरुवात राम्रो गर्न सकेन। ओपनर मुख्तार अहमद १० रन बनाएर आउट हुँदा अर्का आक्रामक ब्याटर सेल्डन ज्याक्सनले ११ बलमा २० रन जोड्दै पेभिलियन फर्किए।

कप्तान दीपेन्द्र सिंह ऐरी भने आज चल्न सकेनन्। उनी ३ बलमा ३ रन मात्र बनाएर रनआउटको शिकार भए।

मध्यक्रममा आरिफ शेखले १३ बलमा २० रन र हरमित सिंहले ११ बलमा १४ रनको योगदान दिए। इशान पाण्डे १३ रनमा आउट भए। इनिङ्सको अन्त्यमा मिलन बोहरा ५ रन र स्कट कुग्गेलेइन १ रनमा अविजित रहे।

बलिङतर्फ विराटनगर किङ्सका मार्चन्ट डी लांगे र प्रतिश जिसीले समान २–२ विकेट लिए। डी लांगेले ४ ओभरमा २३ रन खर्चे भने प्रतिशले ३ ओभरमा ३१ रन दिए।

यस्तै, स्पिनर सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट हात पारे। विराटनगरका कप्तान सन्दिप लामिछानेले भने विकेट लिन नसके पनि निकै किफायती बलिङ गरे।

उनले आफ्नो स्पेलको ४ ओभरमा मात्र १६ रन खर्चिए।

आजको खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

विराटनगरले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

प्रकाशित: २३ मंसिर २०८२ १७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App