उत्तरी अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को नकआउट चरणले सुरुदेखि नै रोमाञ्चक मोड लिएको छ। तीन युरोपियन राष्ट्र स्पेन, स्विट्जरल्यान्ड र पोर्चुगलले आआफ्नो चुनौती पार गर्दै अन्तिम–१६ मा स्थान सुरक्षित गरे। यी तीनै टोलीको जितको कथा फरकफरक रह्यो। कसैले इतिहास रचे, कसैले दशकौँ लामो प्रतीक्षा अन्त्य गरे भने कसैले अन्तिम क्षणसम्म चलेको तनावपूर्ण संघर्षमा विजय हात पारे। स्पेनले अस्ट्रियामाथि ३–० को सहज जित निकाल्दा टोलीका गोलरक्षक उनाइ सिमोन मुख्य आकर्षण बने। उनले लगातार ५१९ मिनेटसम्म गोल नखाई विश्वकप इतिहासमा सबैभन्दा लामो क्लिनसिटको नयाँ कीर्तिमान कायम गरेका छन्। यसअघि सन् १९९० मा इटालीका वाल्टर जेङ्गाले बनाएको ५१७ मिनेटको कीर्तिमान अब इतिहास बनेको छ।
सिमोनको कीर्तिमान व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन। स्पेनको सुदृढ रक्षापंक्तिले जारी विश्वकपमा अहिलेसम्म कुनै पनि टोलीलाई गोल गर्न दिएको छैन। अस्ट्रियाले पाँच पटक प्रहार गरे पनि एउटा पनि सट पोस्टभित्र राख्न सकेन। स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्तेले आफ्ना गोलकिपर सिमोनको प्रशंसा गर्दै यो सफलता सम्पूर्ण टोलीको अनुशासित रक्षात्मक खेलको परिणाम भएको बताए। भ्यानकुभरमा स्विट्जरल्यान्डले पनि नयाँ इतिहास रच्दा अफ्रिकी राष्ट्र अल्जेरियामाथि २–० को जित निकाल्यो। स्विस टोलीले ८८ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दर्ता गरेको हो। यसअघि सन् १९३८ पछि स्विस टोलीले विश्वकपको नकआउट खेल जित्न सकेको थिएन। खेलको १२औं मिनेटमा ब्रिल एम्बोलोले अग्रता दिलाए भने दोस्रो हाफ सुरु भएको केही क्षणमै डान एन्डोयेले अर्को गोल थपे।
२० वर्षीय जोहान मान्जाम्बीले दुवै गोलमा प्रभावशाली भूमिका निर्वाह गर्दै प्रतियोगितामा आफ्नो प्रभाव निरन्तर देखाइरहेका छन्। मान्जाम्बी यस विश्वकपमा दुई गोल र दुई असिस्ट गर्दै विश्वकपमा उदाउँदा खेलाडीका रूपमा स्थापित भएका छन्। जितपछि एन्डोयेले इतिहास लेखिएको स्वीकार गर्दै टोलीको लक्ष्य अझै टाढासम्म पुग्ने रहेको बताए।
प्रशिक्षक मुराट याकिनले सही समयमा गरिएको गोल नै खेलको निर्णायक मोड बनेको प्रतिक्रिया दिए। यता १२ वर्षपछि विश्वकपमा फर्किएको अल्जेरियाको यात्रा भने अन्तिम ३२ मै टुंगिन पुग्यो। प्रशिक्षक भ्लादिमिर पेटकोभिचले आफ्ना खेलाडीको प्रयासको प्रशंसा गर्दै समूहचरण पार गर्नु पनि टोलीका लागि ठूलो उपलब्धि भएको बताए।
टोरोन्टोमा भएको पोर्चुगल र क्रोएसियाबीचको प्रतिस्पर्धा भने दिनकै सबैभन्दा नाटकीय खेल साबित भयो। अनुभवी सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच आमनेसामने भएको खेलमा दुवै टोलीले अन्तिमसम्म कडा प्रतिस्पर्धा गरे।
क्रोएसियाले इभान पेरिसिचको गोलमार्फत अग्रता लिए पनि पोर्चुगलका कप्तान रोनाल्डोले पेनाल्टीबाट बराबरी गोल फर्काए। विश्वकपको नकआउट चरणमा उनको यो पहिलो गोल थियो। ८१औँ मिनेटमा रोनाल्डो मैदानबाट बाहिरिएपछि खेल अन्तिम समयमा झन् नाटकीय बन्यो।
खेल इन्जुरी समयमा पुगेपछि गोन्जालो रामोसले हेडमार्फत निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए। केही समयपछि क्रोएसियाले बराबरी गर्यो। तर भिडियो सहायक रेफ्री (भार) ले अफसाइड ठहर गरेपछि गोल मान्यता पाएन। उक्त निर्णयपछि मैदानमा केहीबेर तनावको अवस्थासमेत सिर्जना बन्यो।
यी नतिजासँगै युरोपका तीन राष्ट्र स्पेन, स्विट्जरल्यान्ड र पोर्चुगल अन्तिम–१६ मा पुगे। अब पोर्चुगल र स्पेनबीच हुने बहुप्रतीक्षित भेट विश्वकपको अर्को ठूलो आकर्षण बन्नेछ भने स्विट्जरल्यान्डले कोलम्बिया वा घानामध्ये एकसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। नकआउट चरणको सुरुआतमै देखिएको यस्तो स्तरको प्रतिस्पर्धाले आगामी खेलहरू अझ रोमाञ्चक हुने संकेत दिएको छ।
प्रकाशित: २० असार २०८३ ०८:२४ शनिबार





