बिहानको शान्त वातावरण। काठमाडौंको इचङ्गुनारायण कराते डोजोमा सेतो पोसाक लगाएका बालबालिका लामबद्ध थिए। केही मुक्का प्रहारको अभ्यास गरिरहेका हुन्थे भने कोही शरीरभन्दा माथि किक हानिरहेको भेटिन्थे।
डोजोभर एउटै आवाज गुन्जिन्थ्यो ‘ओस’। बिचमा उभिएका थिए, सन्तोष चाम्लिङ राई।
उनी करातेका खेलाडी तथा डोजोका प्रशिक्षक हुन्। उनको अनुहारमा कठोरताभन्दा बढी आत्मीयता झल्किन्छ। गल्ती गर्ने खेलाडीलाई उनी कराउँदैनन्। बरु नजिक पुगेर भन्छन्, ‘फेरि गर, यसपटक अझ राम्रो हुन्छ।’
सायद उनी आफ्ना गुरु ध्रुवविक्रम मल्लबाट सिकेको प्रशिक्षण शैली आफ्ना शिष्यहरूमा उतारिरहेका छन्। उनी प्रायः एउटा कुरा दोहोर्याउँछन्, ‘करातेले मलाई पदकभन्दा ठूलो कुरा सिकायो; अनुशासन, धैर्य र हार स्वीकार गर्ने साहस।’
सन्तोष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, तेस्रो डान ब्ल्याक बेल्टधारी खेलाडी पनि हुन्। राष्ट्रिय रेफ्री तथा सफल प्रशिक्षकका रूपमा पनि उनको परिचय छ तर यो यात्राको सुरुआत कुनै आधुनिक प्रशिक्षण केन्द्रबाट भएको थिएन।
यसको जग खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङबाट भएको थियो। राईको परिवारमा सामान्य परिवेशमा हुर्किए थिए, सन्तोष। पिता कमलबहादुर राई र माता सयनकुमारी राईका सबैभन्दा कान्छा सन्तान हुन् उनी। बाल्यकालदेखि नै धेरै बोल्नेभन्दा हेर्ने, बुझ्ने र सिक्ने स्वभावका थिए। पढाइमा आफूलाई अब्बल विद्यार्थी मान्दैनथे। तर, मनमा एउटा सपना भने सधैं थियो। समाजमा आफ्नै फरक पहिचान बनाउनुपर्छ। ‘सानैदेखि मलाई अरूभन्दा फरक केही गर्नुपर्छ भन्ने लाग्थ्यो। त्यसैले कराते मेरो रोजाइ बन्यो,’ उनी आज पनि सम्झन्छन्। करातेसँग उनको पहिलो भेट कुनै योजनाबद्ध निर्णय थिएन। तर, आफ्नी दिदीले आत्मरक्षाका सामान्य अभ्यास सिकाउँदा उनमा पहिलोपटक करातेप्रति आकर्षण जाग्यो।
त्यो सानो अभ्यासले एक दिन उनको जीवनको बाटो नै परिवर्तन गर्यो। माध्यमिक तहमा अध्ययन गरिरहेका बेला उनले कराते प्रशिक्षण सुरु गरे। प्रारम्भिक प्रशिक्षण वीरकृष्ण महर्जनसँग लिए। पछि गुरुको सल्लाहमा उनी बालाजु कराते डोजो पुगे। जहाँ चर्चित र सफल प्रशिक्षक ध्रुवविक्रम मल्लसँगको भेटले उनको खेलजीवनलाई नयाँ दिशा दियो। मल्ल प्रशिक्षकमा मात्र सीमित भएनन् सन्तोषका लागि प्रेरणाका स्रोत पनि बने। गुरुका एउटा वाक्य आज पनि उनको मनमा गहिरोसँग बसेको छ, ‘तिमी मेहनत गर। मेहनत त्यहीअनुरूप आउँछ।’ उनी भन्छन्, ‘त्यो वाक्य मेरो लागि कुनै पदकभन्दा ठूलो प्रेरणा थियो।’
गुरुबाट उनले अर्को महत्त्वपूर्ण पाठ पनि सिके। हारमा धैर्यता र जित हुँदा सदैव सुधार गर्ने अठोट। ‘हार्दा गुरुले कहिल्यै गाली गर्नुभएन। जित्दा पनि अत्यधिक प्रशंसा गर्नुभएन,’ उनले भने।
त्यही सन्तुलित व्यवहारले उनलाई मानसिक रूपमा परिपक्व बनायो। हार अन्त्य होइन, सुधारको अवसर हो। जित गन्तव्य होइन ठूलो जिम्मेवारीको सुरुआत हो। सन्तोष यही सिद्धान्तबाट सदैव अघि बढ्दै छन्। लगातारको अभ्यास, अनुशासन र मिहिनेतले उनी राष्ट्रिय खेलकुदमा पनि सफल भए। छैटौं, सातौं, आठौंमा पदक मात्र जिते पनि नवौं राष्ट्रिय खेलकुदमा उनले एपिएफबाट खेले तर नवौं राष्ट्रिय खेलकुद उनको जीवनको सबैभन्दा विशेष अध्याय बन्यो। कारण, त्यो प्रतियोगितामा उनी एकैसाथ खेलाडी र प्रशिक्षक दुवै थिए। आफ्नै प्रशिक्षणमा हुर्किएका ६ जना खेलाडी फरकफरक स्पर्धामा प्रतिस्पर्धा गरिरहेका थिए। एउटै रिङ वरिपरि कहिले प्रशिक्षक बनेर आफ्ना खेलाडीलाई हौसला दिनुपर्ने, कहिले आफ्नै खेलमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्था थियो।
त्यसमा उनका शिष्यहरूले तीन स्वर्ण, दुई रजत र दुई कांस्य पदक जिते। त्यसपछि उनको आफ्नै फाइनल खेल सुरु भयो। ‘मेरा खेलाडीले जितिसकेपछि जिम्मेवारी अझ बढ्यो। उनीहरूलाई जित सिकाउने प्रशिक्षक आफैं हार्नु हुँदैन भन्ने दबाब थियो,’ उनी सम्झन्छन्।
अन्ततः उनले पनि स्वर्ण जिते। त्यो पदक उनका लागि व्यक्तिगत सफलताभन्दा पनि गुरु र शिष्यबीच विश्वासको जित थियो। उनको यात्रा अन्तर्राष्ट्रिय मञ्चसम्म पनि छ। बेलायतमा आयोजित इके ई वान शृंखलामा उनले रजत पदक जिते। हालै अमेरिकाको टेक्सासमा युएसए ओपन करातेका उनी कांस्य विजेता हुन्। अमेरिकामा नै हिराल्डोज काई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको दुई संस्करणमा एक स्वर्ण र दुई रजत पदक जित्दै उनले देशको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाए।
विदेशी खेलाडीको बिचमा नेपाली झन्डा देख्दा आउने अनुभूति शब्दमा बयान गर्न नसकिने उनी बताउँछन्। ‘पदक जित्दा राष्ट्रिय गान बजेन तर नेपालको नाम उद्घोष हुँदा मन गर्वले भरिन्थ्यो। त्यो क्षण देशका लागि लड्दै छु भन्ने लाग्छ,’ उनले सम्झिए। उनको योगदानको कदर गर्दै २०२६ मा किरात राई यायोक्खा केन्द्रले मनकुमारी साम्पाङ दुमी राई स्मृति खेल सम्मान’ प्रदान गर्यो। उपराष्ट्रपतिबाट प्राप्त त्यो सम्मान उनका लागि अविस्मरणीय क्षण बन्यो। अमेरिकास्थित युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका र च्याम्पियन मार्सल आटर््सबाट प्राप्त सम्मानले पनि उनलाई थप ऊर्जा दियो। सन्तोषको परिचय पदक जित्ने खेलाडीमा सीमित छैन। सशस्त्र प्रहरी बल (एपिएफ) बाट व्यावसायिक खेल जीवन सुरु गरेका उनले मानास्लु विद्यालयमा प्रशिक्षकका रूपमा पनि काम गरे।
सन् २०१२ देखि उनी इचङ्गुनारायण डोजोका प्रमुख प्रशिक्षकका रूपमा निशुल्क प्रशिक्षण दिँदै छन्। डेढ दशकभन्दा लामो यात्रामा उनले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसके। तीमध्ये २५ भन्दा बढी खेलाडी एपिएफ र अन्य क्लबबाट आबद्ध भएर सातौं, आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि स्वर्ण, रजत र कांस्य पदक जित्न सफल भएका छन्। सन्तोषका लागि सफलता आफूले पदक जित्नु होइन अन्यलाई पनि सफल बनाउनु हो। ‘पहिले म जित्दा खुसी हुन्थें। अहिले मेरो खेलाडी जित्दा अझ धेरै खुसी लाग्छ,’ उनी भन्छन्।
डोजोमा पहिलोपल्ट सेतो बेल्ट बाँधेर आउने सानो बालक सुरुमा डराएको हुन्छ। आत्मविश्वास कम हुन्छ। बिस्तारै उसले अनुशासन सिक्छ, आत्मविश्वास सिक्छ, सम्मान गर्न सिक्छ। ‘केही वर्षपछि त्यही बालक राष्ट्रिय टोलीमा पुग्छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झन्डा बोकेर मार्चपास गर्छ,’ उनी भन्छन्।
उनी अझ धेरै अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न चाहन्छन्। नेपालको कराते विश्व मञ्चमा अझ सशक्त रूपमा स्थापित होस् भन्ने उनको चाहना छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा कसैले नेपाललाई कमजोर नआकोस् भन्ने सन्तोषको सपना छ। त्यही सपना लिएर उनी हरेक बिहान डोजोमा पुग्छन्। खोटाङको एउटा सामान्य गाउँबाट सुरु भएको सन्तोषको यात्रा नेपाली करातेको प्रेरणादायी अध्याय बनेको छ।
प्रकाशित: १५ श्रावण २०८३ ०८:०७ शुक्रबार



-600x400.jpg)

