नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने पाउने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीच खेलाडी र प्रशिक्षकलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ। राखेपमा बिहीबार एक कार्यक्रमका बीच राखेप र प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षकहरूलाई आवश्यकताअनुरूप विशेष सेवा दिन सम्झौता गरेका छन्।
राखेपका सदस्यसचिव टंकलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतबीच उक्त सहकार्यका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। खेलाडी र प्रशिक्षकको सहजताका लागि सम्पर्क अधिकृत तोकेर यो सुविधा दिन लागिएको छ। यो सम्झौता पाँच वर्षको हुने र पछि नवीकरण हुने सक्ने गरी अगाडि बढाइएको छ।
नेपाली खेलकुद विकासमा थप टेवा पुग्ने गरी कुल ११ वटा सर्तसहित सहकार्य भएको राखेप र न्याम्सले जनाएका छन्। वीर अस्पतालले खेलकुदमा नै काम गर्ने प्राविधिकसँगै कर्मचारीलाई पनि यो सुविधा उपलब्ध गराउनेछ। उनीहरूले विशेष ग्राह्यताका साथ दक्ष चिकित्सकको निगरानीमा स्वास्थ्य सेवा पाउने भएका छन्।
खेलाडीहरूले उपचारका क्रममा प्रयोगशालाबाट दिने सुविधामा विभिन्न चरणमा सहुलियत पाउनेछन्। ल्याब टेस्ट, ओपिडी, एक्सरे, भिडियो एक्सरे, अपरेसन, एमआरआई, सिटी स्क्यान र बिरामी भर्ना लगायत सबै प्रकारका सेवाहरूमा अस्पतालको मूल्यसूचीबाट खेलाडीहरूले छुटसमेत प्राप्त गर्नेछन्। अस्पतालका सबैखाले सेवामा ओलम्पियनले सबैभन्दा धेरै ८० प्रतिशत छुट पाउनेछन्।
त्यस्तै एसियाली र दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने तथा राष्ट्रिय टिमका खेलाडीले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ।
राखेपको सम्पर्क अधिकृतले प्रमाणीकरण गरेपछि मात्र प्रतिष्ठानले खेलाडी, प्रशिक्षक र कर्मचारीलाई उक्त विशेष सेवा दिइनेछ। छुटबाहेकको रकम भने राखेपले नै बेहोर्ने सम्झौतामा उल्लेख छ। बिल भरपाईका लागि बढीमा एक महिनाको समयावधि तोकिएको छ।
उपचारका साथै राखेपले आयोजना गर्ने खेलकुदका प्रतियोगितामा स्वास्थ्यसम्बन्धी शैक्षिक जनचेतना, प्राथमिक उपचार, एन्टी डोपिङ, फिजियोथेरापी र पोषणसम्बन्धी विभिन्न कार्यक्रम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले दिने सहमति भएको छ।
यो सहकार्यलाई बलियो बनाउने राखेप र प्रतिष्ठानले एक सम्पर्क अधिकृत नै तोक्ने भएका छन्। उक्त कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासमा लागेका व्यक्तित्वहरूलाई यो सहकार्यले ठूलो प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरेका छन्।
घिसिङले अन्तरसरकारी निकायबिचको सहकार्य त्यति मजबुत नभएको अवस्थामा राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले नयाँ र सुखद सन्देश दिने उद्देश्यले यो सहकार्य गरिएको बताएका छन्। नेपालमा यी दुई संस्थाको अस्तित्व भइरहेसम्म सहकार्य होस् भन्ने आफ्नो चाहना रहेको बताए।
राखेपले सञ्चानल गरेको मिसन–२६ लगायत राष्ट्रिय टिमको प्रशिक्षणमा पनि विशेष प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले नेपालको स्वास्थ्य क्षेत्रको सबैभन्दा जेठो अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सहकार्य गरिएको घिसिङको भनाइ छ।
राखेपले राष्ट्रिय टिमका खेलाडी र प्रतियोगिताका क्रममा घाइते भएका खेलाडीलाई बिमासँगै उपचारमा केही खर्च गर्दै आए पनि यो सहकार्यले उनीहरूलाई ढुक्कसँग प्रशिक्षण गर्ने वातावरण मिल्ने उनको विश्वास छ। फास्ट ट्य्राकमा खेलाडीले उपचार पाउन भन्ने उद्देश्यले फोकल पर्सन पनि राखिएको उनको भनाइ छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले देशको पहिचान गराउने खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताएका छन्। उनले स्वस्थ्य रहन खेलकुद नै सबैभन्दा बलियो माध्यम रहेको उल्लेख गरेका छन्।
उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित मेहता, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा. दिलीप शर्मा, रस्टिचार डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टलगायतको उपस्थिति थियो। सो अवसरमा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डा. शर्माले सकेसम्म खेलाडीलाई सहज तरिकाले सेवा पाउने उद्देश्यले सम्पर्क अधिकृत राखिएको बताएका छन्।
प्रकाशित: ३१ आश्विन २०८२ ०७:१८ शुक्रबार





