कालिकोटको महावै गाउँपालिकामा सम्पन्न खुला क्रिकेट प्रतियोगितामा शुभकालिका गाउँपालिकाको टिम प्रथम भएको छ।
फाइनल खेलमा शुभकालिका गाउँपालिकाले पलाँता गाउँपालिकालाई पराजित गर्दै उपाधि हात पारेको हो।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको पलाँता गाउँपालिकाको टिमले निर्धारित १५ ओभरमा ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको शुभकालिकाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै १२ ओभरमै ९० रन पूरा गरी उपाधिमाथि कब्जा जमाएको हो।
शुभकालिकाका खेलाडीहरूले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेका थिए भने पलाँताका बलरहरूले पनि उत्कृष्ट प्रयास गरेका थिए। मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतियोगितामा प्रथम हुने शुभकालिका गाउँपालिकाको टिमलाई कप, मेडल, प्रमाणपत्रसहित नगद ५५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। यस्तै, उपविजेता पलाँता गाउँपालिकाको टिमलाई कप, मेडल, प्रमाणपत्रसहित नगद ३५ हजार रुपैयाँ प्रदान गरिएको छ।
महावै गाउँपालिका खेलकुद शाखाको आयोजना तथा ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनको सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको थियो।
ग्रामीण क्षेत्रमा खेलकुदको विकास,युवामा अनुशासन र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रकाशित: ९ जेष्ठ २०८३ ०७:४५ शनिबार





