नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम/आइटिएफ/एटिएफ यु–१४ टिम टु युरोपअन्तर्गत चार प्रतियोगिता खेल्ने भएकी छन्।
शिभालीले फ्रान्समा दुई तथा जर्मनी र बेल्जियममा समान एक प्रतियोगिता खेल्नेछिन्। प्रतियोगिता खेल्नुअघि शिभाली जुलाई ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुनेछिन्। त्यसपछि उनले जुलाई १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ।
जुलाई २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा पनि उनी सहभागी हुनेछिन्। जुलाई २८ देखि अगस्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेन हुँदै छ। त्यसमा पनि नेपालको तर्फबाट उनले प्रतिनिधित्व गर्नेछिन्। बेल्जियममा आगामी अगष्ट ४ देखि १० तारिखसम्म यङ च्याम्पियनसिप कपमा उनी सहभागी हुने तालिका रहेको छ।
यी प्रतिस्पर्धामा सहभागी हुन शिभाली बुधबार फ्रान्स प्रस्थान गर्दै छिन्। यस किसिमका प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुन्। एसियामा चौथो वरीयता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस संघले जनाएको छ। एसियाबाट समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए। शिभालीलाई नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक मनोहरदास मूल, सदस्य अजय विष्ट र निरेश श्रेष्ठलगायतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा मंगलबार बिदाइ गरेका थिए।
प्रकाशित: २५ असार २०८२ ०६:२४ बुधबार





