राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न विषयमा जनताको मुद्धा उठाएका छन्। सांसदहरुले सदनमा मिटरब्याजीको समस्या सहित दैनिक उपभोक्त वस्तु ग्यास सिलिन्डर पाउनुपर्ने लगाएतका विषयमा ध्यानाकर्षण गराएका छन्।
सांसद पूजा चौधरीले मिटरब्याजसम्बन्धी सबै मुद्दा यथाशीघ्र सुनुवाइ हुनुपर्ने बताइन्। उनले मिटरब्याज पीडितको न्यायका लागि गठन भएको छानबिन आयोग पूर्ण रूपमा कार्यान्वयन गरी दोषीमाथि कारवाही गर्न ध्यानार्कषण गराइन् । त्यसैगरी सांसद सावित्री मल्लले जनस्तरमा आधा सिलिन्डर ग्यासको वितरण कार्यले जनता मारमा परेको बताउँदै पूरै ग्यास सुविधा उपलब्ध गराउन माग गरिन्।
सांसद विष्णुबहादुर विश्वकर्माले कालीकोटमा भएको भीषण बर्साका कारण नष्ट भएको खेती, भत्किएको बाटोघोटो र सडक मर्मत गर्न आग्रह गरे। सांसद श्रीकृष्णप्रसाद अधिकारीले अर्थ विधेयकमा देखिएको कर दरको हेरफेर सुधारमा जोड दिए।
सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्रीले देशको सीमासम्बन्धी अभिव्यक्तिबारे आपत्ति जनाउँदै सरकारको सीमासम्बन्धी स्पष्ट धारणा उपलब्ध गराउनुपर्ने बताए।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘राष्ट्रिय समावेशी आयोगको आव २०८१।८२’ को सातौँ वार्षिक प्रतिवेदन सभा समक्ष पेस गरिन्।
प्रकाशित: २९ जेष्ठ २०८३ १४:४४ शुक्रबार





