दुबईमा श्रीलंकालाई ७२ रनले पराजित गर्दै भारतले महिला एसिया कपको उपाधि कीर्तिमानी आठौँ पटक जितेको छ। यो टी-२० प्रारूपमा भने भारतको चौथो एसिया कप उपाधि हो।
पहिले ब्याटिङ गरेको भारतले शेफाली वर्मा र स्मृति मन्धानाको उत्कृष्ट ओपनिङ साझेदारीमा २० ओभरमा १८३ रन बनाएको थियो। शेफाली र मन्धानाले पहिलो विकेटका लागि १२९ रनको साझेदारी गरे, जुन महिला टी-२० एसिया कपमा कुनै पनि विकेटका लागि बनेको अहिलेसम्मकै सर्वाधिक साझेदारी हो।
जवाफमा श्रीलंकाको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो। भारतले पाँच क्याच छाडे पनि उसका बलरले श्रीलंकालाई सम्हालिन दिएनन्। दीप्ति शर्मा र एन श्री चरणीको नेतृत्वमा स्पिन बलिङले श्रीलंकालाई लगातार नियन्त्रणमा राख्यो।
श्रीलंकाका लागि कप्तान चामरी अटापट्टुले सर्वाधिक ३६ रन बनाइन्। तर अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसकेपछि श्रीलंका १११ रनमै अलआउट भयो।
भारतको ब्याटिङमा शेफालीले सुरुदेखि नै आक्रामक खेल देखाइन्। कप्तान हरमनप्रीत कौरले टस जितेर ब्याटिङ रोजेपछि शेफाली र मन्धानाले पावरप्लेबाटै श्रीलंकाली बलरमाथि दबाब बनाए।
शेफालीले २४ बलमै अर्धशतक पूरा गरिन्। यो महिला टी-२० एसिया कप इतिहासकै सबैभन्दा तीव्र अर्धशतक हो। उनले छोटो बललाई उत्कृष्ट ढंगले प्रयोग गर्दै लगातार बाउन्ड्री प्रहार गरिन्।
मन्धानाले सुरुआतमा संयमित ब्याटिङ गरे पनि पछि आक्रामक रूप देखाइन्। उनले ३६ बलमा अर्धशतक पूरा गर्दै शेफालीसँगको साझेदारीलाई अझ बलियो बनाइन्। भारतले १० ओभरको समाप्तिमा बिना विकेटको क्षति ९८ रन बनाएको थियो।
यस जितसँगै एसिया कपको फाइनलमा भारत र श्रीलंकाबीचको भेटमा भारतले ६-१ को अग्रता बनाएको छ। भारतले महिला एसिया कपमा आफ्नो दबदबा कायमै राख्दै आठौँ उपाधि हात पारेको हो।
प्रकाशित: २९ भाद्र २०८३ ०८:४१ सोमबार





