नेपालमा कृषिको प्राविधिक पक्षलाई हेर्ने हो भने यसमा खासै विकास भएको देखिँदैन। विश्वमा विज्ञान र प्रविधि जुन अनुपातमा द्रुत गतिले अगाडि बढिरहेको छ, त्यसको तुलनामा नेपालको कृषि क्षेत्रमा भने कुनै तात्विक परिवर्तन हुन सकेको छैन।
सन् १९८० को दशक र अहिलेको अवस्थालाई तुलना गर्दा नेपालको कृषिमा एउटा ठूलो विरोधाभास देखिन्छ। हिजो खाद्यान्न निर्यात गर्ने नेपाल आज पूर्णतः आयातमा निर्भर बन्न पुगेको छ।
सन् १९८० को दशकमा करिब ९० देखि ९२ प्रतिशत जनसङ्ख्या प्रत्यक्ष रूपमा कृषिमा निर्भर थियो भने अहिले यो घटेर करिब ६० देखि ६१ प्रतिशतमा झरेको छ।
भौगोलिक रूपमा तराई क्षेत्रले नेपालको कुल भू-भागको करिब १७ प्रतिशत क्षेत्रफल मात्र ओगटेको भएपनि देशको कुल खेतीयोग्य जमिनको ५३ देखि ५४ प्रतिशत भाग तराईमै पर्दछ, जहाँ देशको मुख्य खाद्यान्न उत्पादन हुने गर्छ।
पृथ्वीमा जमिनको मात्रा निश्चित छ, तर अन्य सूचकहरू बढ्दो क्रममा छन्। जनसङ्ख्या दिनानुदिन बढिरहेको छ, तर जमिन भने उही र त्यति नै छ। जनसङ्ख्या बढेसँगै खानपान र बासस्थानको आवश्यकता पनि बढ्दै जान्छ। विडम्बना, हामीले बस्नका लागि घरहरू पनि तिनै खेतीयोग्य जमिन प्लटिङ गरेर बनाइरहेका छौँ। यसका साथै बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले पनि खेतीयोग्य जमिन विनाश गरिरहेका छन्। जनसङ्ख्या बढेर जमिन अभाव भइरहेका बेला बचेकुचेको जमिन पनि प्रकृतिले खोसेर लैजाँदा हामी झन् ठूलो संकटमा पर्दै गएका छौँ।
यस संकटलाई थप जटिल बनाउने अर्को मुख्य कारण रासायनिक मलको चरम अभाव हो। नेपालमा रासायनिक मल उत्पादन हुँदैन र ती प्रायः भारतबाट वा भारत हुँदै आयात गरिन्छन्। खेती गर्ने मुख्य सिजनमा किसानले कहिल्यै समयमा मल पाउँदैनन्, जसका कारण चाहेजति उत्पादन हुन सक्दैन।
यस्तो परिस्थितिमा विज्ञान र प्रविधिलाई सही तरिकाले प्रयोग गरेर कम जमिन र उपलब्ध स्रोतबाट बढी उत्पादन लिनु नै हाम्रो प्रमुख आवश्यकता हो। परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित नगरेसम्म हामीले न त उत्पादन बढाउन सक्छौँ, न त युवा पुस्तालाई नै माटोमा आकर्षित गर्न सक्छौँ।
विश्वका विकसित देशहरू; जापान, अमेरिका र इजरायलमा खेती गर्दा माटोमा कति अम्लीयपन छ, कुन-कुन पोषक तत्वको कमी छ र कति चिस्यान छ भन्ने कुरा माटोमा गाडिएका अत्याधुनिक सेन्सरबाट सेकेन्डमै थाहा पाइन्छ।
त्यहाँ माटोको वास्तविक आवश्यकता अनुसार मात्र वैज्ञानिक तरिकाले मल र पानी दिइन्छ, जसको नतिजा स्वरूप थोरै लागतमा प्रचुर उत्पादन हुन्छ। यसको विपरीत, हाम्रा अधिकांश किसानहरू माटोको गुणस्तर परीक्षण नै नगरी परम्परागत अन्दाजका भरमा खेती गर्न बाध्य छन्। माटोको स्वास्थ्य थाहा नपाई असन्तुलित रूपमा मल र रसायन प्रयोग गर्दा माटोको उर्वरा शक्ति नष्ट भइरहेको छ।
अर्कोतर्फ, इजरायल जस्तो पानीको चरम अभाव भएको देशले थोपा सिँचाइ (Drip Irrigation) प्रविधिको प्रयोग गरेर कृषिमा विश्वलाई नै चकित पारेको छ। थोपा सिँचाइमा पाइपमार्फत पानीका थोपाहरू सिधै बिरुवाको जरामा पुर्याइन्छ, जसले गर्दा थोरै पानीमा पनि धेरै क्षेत्रफलमा प्रभावकारी सिँचाइ हुन्छ।
नेपाल जस्तो देश, जहाँ अधिकांश किसान सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने विवशता छ, त्यहाँ थोपा सिँचाइ प्रविधि वरदान साबित हुन सक्छ। इजरायलको करिब १ करोड जनसङ्ख्या भए पनि कृषिमा सानो जनशक्ति मात्र संलग्न छ।
आधुनिक सिँचाइ, सेन्सर, अनुसन्धान र प्रविधिको प्रयोगबाट उसले उच्च कृषि उत्पादन गर्दै आएको छ। सन् २०२५ मा इजरायलको कृषि उत्पादनको मूल्य करिब ३७.९ अर्ब शेकेल र कृषि निर्यात करिब ४.८ अर्ब शेकेल पुगेको थियो।
इजरायल सरकारले अनुसन्धान, प्रविधि, अनुदान, लगानी तथा निर्यात प्रवर्द्धनमार्फत किसानलाई निरन्तर सहयोग गर्दै आएको छ, जुन नेपालका लागि पनि अनुकरणीय छ।
हाम्रा धेरैजसो किसानले आफू बसेको ठाउँभन्दा अलि टाढा वा ठूलो क्षेत्रफलमा खेती गर्छन्, जहाँ १–२ जना मानिसले एकै दिनमा पूरै खेतको अवलोकन वा निरीक्षण गर्न सम्भव हुँदैन। विकसित देशहरूमा अहिले ड्रोन प्रविधिबाट खेतको निगरानी गर्ने गरिन्छ। ड्रोनबाट खिचिएका 'लाइभ भिडियो' र तस्बिरमार्फत खेतको अवस्था, बालीको वृद्धि, र कीरा वा रोग लागेको ठाउँ सहजै पहिचान गर्न सकिन्छ। कृषिमा कृत्रिम बौद्धिकता (AI) को प्रयोगले बालीमा कुन रोग लागेको हो भन्ने जानकारी तत्कालै किसानको हातमा पुर्याउँछ, जसले गर्दा किसानहरू सधैँ प्राविधिक वा विज्ञको मुख ताकिरहनुपर्ने बाध्यताबाट मुक्त हुन्छन्।
प्रविधिको प्रयोगले समयमै रोगको समाधान गरी उत्पादनमा उल्लेख्य वृद्धि ल्याउन सकिन्छ।
प्रविधिसँगै नेपाल सरकारले कृषि बजार र नीतिगत क्षेत्रमा पनि सुधार ल्याउनु अनिवार्य छ।
नेपाल सरकारले हरेक कृषि उपजको बजार भाउ निर्धारण गरी त्यसको सूचना मोबाइल एप वा एसएमएसमार्फत सोझै किसानसम्म पुर्याउन सकेमा बिचौलियाहरूले अनुचित नाफा कमाउने क्रम रोकिनेछ र किसानले आफ्नो मिहिनेतको उचित मूल्य पाउनेछन्।
त्यसैगरी, मौसम र मनसुनसम्बन्धी सटीक पूर्वसूचना समयमै किसानलाई दिन सकिए सम्भावित बाढी वा खडेरीबाट बाली विनाश हुनबाट जोगाउन सकिन्छ।
अन्ततः, नेपालको कृषिलाई आधुनिक र आत्मनिर्भर बनाउन सरकारले कृषि अनुसन्धान (R&D) मा युवाहरूलाई आकर्षित गर्नुपर्छ। उच्च शिक्षा र अनुसन्धानका लागि युवाहरूलाई विशेष छात्रवृत्ति (Scholarship) र प्रोत्साहन दिइनुपर्छ।
जब हाम्रा युवाहरूले आफ्नै माटोमा प्रविधि र अनुसन्धानको प्रयोग गर्न पाउँछन्, तब मात्र नेपालको कृषि क्षेत्रले नयाँ दिशा पाउनेछ र देश खाद्यान्नमा आत्मनिर्भर बन्न सक्नेछ।
गौतम युनिभर्सिटी लन्डनमा अध्ययनरत छन् ।
प्रकाशित: २९ भाद्र २०८३ २०:४७ सोमबार





