बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-५ का मुटुसम्बन्धी गम्भीर समस्या झेलिरहेका एक १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार आकस्मिक उद्धार गरी काठमाडौं ल्याइएको छ।
दुर्गम तथा बाढीले सम्पर्क विच्छेद भएको क्षेत्रमा रहेका ती बालकलाई तत्काल विशेषज्ञ स्वास्थ्य उपचारको खाँचो देखिएपछि स्थानीय तह, नेपाली सेना र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त समन्वयमा काठमाडौं ल्याइएको हो।
काठमाडौं ल्याउनासाथ बालकलाई थप उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। अस्पतालका अनुसार बालकको स्वास्थ्य अवस्था संवेदनशील रहेकाले चिकित्सकहरूको विशेष निगरानीमा आवश्यक स्वास्थ्य परीक्षण तथा सघन उपचार अघि बढाइएको छ।
बाढीग्रस्त क्षेत्रमा बालबालिकाको जोखिम अवस्था मूल्याङ्कन गर्ने क्रममा ती बालकको स्वास्थ्य जटिल बन्दै गएको पाइएपछि तत्काल उद्धारको व्यवस्था मिलाइएको राष्ट्रिय बाल अधिकार परिषद्का रसुवा सहजीकरण टोली संयोजक मनबहादुर थापाले जानकारी दिए।
विपद् प्रभावित क्षेत्रमा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको पहिचान तथा जोखिम लेखाजोखाका लागि मन्त्रालयले हाल रसुवा र नुवाकोटमा दुईवटा विशेष टोली परिचालन गरेको छ।
यसैगरी, बाढी प्रभावित क्षेत्रबाट काठमाडौं ल्याइएका बालबालिकाहरूको अवस्था बुझ्न र सहजीकरण गर्न उपत्यकाभित्रका विभिन्न गुम्बाहरूमा समेत मन्त्रालयले छुट्टै टोली खटाएको जनाएको छ।
मन्त्रालयले बाढी प्रभावित बालबालिकाको उद्धार, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, अस्थायी संरक्षण तथा पारिवारिक पुनर्मिलनका कार्यलाई समन्वयात्मक रूपमा तीव्रता दिएको छ।
प्रकाशित: २९ भाद्र २०८३ २०:२५ सोमबार





