१ भाद्र २०८३ सोमबार
image/svg+xml
खेल

न्युजिल्यान्डका कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिममै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनलाई पुनः सुदूरपश्चिम रोयल्समा अनुबन्ध गरिएको छ।

सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो। यसअघि उसले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरेको थियो।

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका थिए। दोस्रो संस्करणमा पनि उनले ९ खेलमा १० विकेट लिएका थिए।

कुगेलेइनले पुनः टोलीमा फर्किन पाउँदा उत्साहित रहेको  बताएका छन्। ‘म फेरि सुदूरपश्चिमबाट खेल्न उत्साहित छु,’ उनले भने ।

सुदूरपश्चिम रोएल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। ‘उनीबाट यसपटक पनि पहिलो र दोस्रो संस्करणको जस्तै योगदानको अपेक्षा राखेका छौं। पहिलो उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने।

तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको छ।

अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको छ।

प्रकाशित: १ भाद्र २०८३ १८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App