राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र कोठा/चोटा वा भेलामा बसेर मनोमानी ढंगले बाँडिएका सम्पूर्ण उम्मेदवारी यही क्षणबाट खारेज भएको घोषणा गरेका छन्।
पार्टीले सुरु गरेको ‘क्यान्डिडेट क्लब’ को वैधानिक प्रक्रियामा सामेल नभई कसैले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने उनले प्रस्ट पारेका हुन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित ‘क्यान्डिडेट क्लब’ घोषणा कार्यक्रममा सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीको आधिकारिक ‘आरएसभीपी एप’ मार्फत यसको औपचारिक सुरुवात भएको जानकारी दिए।
उनका अनुसार सुरुवाती चरणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका आकांक्षीहरूका लागि आवेदन खुला गरिएको छ।
पार्टीभित्र कतिपय व्यक्तिले अनौपचारिक रूपमा उम्मेदवार घोषणा गर्दै हिँडेको र माला लगाएको चर्चा चलेकोप्रति आपत्ति जनाउँदै लामिछानेले टिकट बाँड्ने प्रवृत्तिको अन्त्य भएको बताए।
‘कसैले पनि कोठामा, चोटामा, सभामा वा कहीँ पनि बसेर जो-कसैलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेदवार तोकेको, बेचेको वा उपहार दिएको भए त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउँछु,’ उनले भने, ‘क्यान्डिडेट क्लबको सदस्य नबनी अब कोही पनि उम्मेदवार बन्न सक्दैन।’
राजनीतिलाई योग्यता प्रणाली (मेरिटोक्रेसी) मा आधारित बनाउन र योग्य नेतृत्वको खोजी गर्न यो अवधारणा ल्याइएको लामिछानेले बताए।
केवल चर्को भाषण वा लोकप्रियताको भरमा मात्र नभई उम्मेदवार बन्ने व्यक्तिको कानुनी झमेला, आर्थिक तथा सामाजिक अवस्था एवं पृष्ठभूमि परीक्षण गरेर मात्रै टिकटका लागि योग्य मानिने उनको भनाइ थियो।
क्यान्डिडेट क्लबबाट छनोट भएका व्यक्तिहरूलाई ‘लिडरसिप एकेडेमी’ मार्फत आफू उम्मेदवार बन्न चाहेको स्थानीय, प्रदेश वा केन्द्र तहको काम, कर्तव्य, अधिकार र कानुनी पाटोबारे आधारभूत ज्ञान दिइने उनले जानकारी गराए।
निर्वाचन जित्नु मात्रै सम्पूर्ण कुरा नभएको भन्दै उनले निर्वाचित भइसकेपछि संस्था र समाजलाई नेतृत्व दिने क्षमता उम्मेदवारमा हुनुपर्नेमा जोड दिए।
विगतको निर्वाचनमा विशेष परिस्थिति, निर्वाचनको हतारो र समायोजनका कारण प्राइमरी इलेक्सन तथा प्रशिक्षण सञ्चालन गर्न नसकिएको स्वीकार गर्दै उनले अब त्यस्तो गल्ती नदोहोरिने बताए।
महाधिवेशनसँगै पार्टी समायोजनको सम्पूर्ण काम सकिएकाले रास्वपामा अब कुनै गुट-उपगुट नरहेको बताउँदै उनले ‘वान आरएसभीपी, वान बेल’ (एक रास्वपा, एक घण्टी) को एकल नेतृत्वमा पार्टी अघि बढ्ने दाबी गरे।
प्रकाशित: १ भाद्र २०८३ १८:५७ सोमबार





