१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

इतिहास रच्ने सानुमायाकाे लक्ष्य

खेलाडीको सफलतामा राज्यले प्रोत्साहन गर्नु सुखद पक्ष हो। राज्यको यस किसिमका प्रोत्साहनले खेल विकासमा महत्त्वपूर्ण भूमिका पनि खेल्छ। खेलाडीको मनोबल बढ्नुले उनीहरूको प्रदर्शनमा पनि स्तरोन्नती हुन्छ। तर, नेपालमा भने खेल र खेलाडीप्रति हेर्ने राज्यको नजर फरक छ। राज्य या खेल निकायले खेलाडीप्रति गर्ने व्यवहारमा विभेद छ। जुन खेल र नतिजामा आम मानिसको चासो हुन्छ, त्यसमा मात्र राज्यले लगानी गर्छ। चर्चामा रहेका खेल र खेलाडीलाई मात्र राज्यले नै चासो दिएको पाइन्छ।

गत महिना नेपाल तेस्रोपल्ट आइसिसी टी ट्वान्टी विश्वकपमा छनोट भयो । त्यो सफलतमा देशले नै ठूलो उत्सव मनायो। नेपाली क्रिकेट टोलीको सफलतापछि राज्यले पनि पुरस्कृत गर्ने घोषणा गर्‍यो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नै विश्वकपमा पुग्न सफल प्रत्येक खेलाडीलाई १९ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्।

यो प्रसंग कोट्याउनु कारण छ। यसको चर्चा पनि गर्नेछौं। खेलाडीलाई प्रोत्साहन गर्नु राम्रै हो तर, चर्चामा मात्र हैन खेलाडीको सफलताका आधार बन्नु पनि राज्यको उतिकै दायित्व हुन्छ। राज्यले हरेक खेललाई उतिकै महत्त्वमा राख्नुपर्छ। तर, लोकप्रियता नभएको खेलमा भने राज्यले खासै चासो राख्दैन। लगानी पनि गर्दैछ। किनकि ती खेलाडीलाई खेलप्रेमीले पछ्याएका हुँदैनन्।

मार्सल आटर्स नेपाली खेलकुदमा ऐतिहासिक सफलता दिलाउनेमा अग्रपंक्तिमा पर्छ। त्यसमाथि पनि पछिल्ला समय सबैभन्दा सफल खेल हो, कराते। करातेकी एरिका गुरुङले एकपछि अर्को सफलता दिँदै आएकी छन्। करातेकै काता खेलाडी सानुमाया थिङ अहिले विश्व च्याम्पियनसिपको तयारी छिन्। कुनै पनि नेपाली खेलाडीले छनोट भएर पहिलोपल्ट विश्व कराते च्याम्पियनसिप खेल्दै छ तर, राज्यले चासो दिएको छैन। सानुमायाले पदक जित्ने वातावरण खेल निकायले सिर्जना गर्न सकेको छैन। आगामी नोभेम्बर २७ देखि इजिप्टको काइरोमा तय कराते विश्व च्याम्पियनसिप हुँदैछ। विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन्।

केही वर्षअगाडि मात्र सीधै विश्व च्याम्पियनसिप खेल्न पाउने प्रावधान थियो। त्यतिबेला कुनै पनि नेपाली खेलाडीले विश्व च्याम्पियनसिप खेलेनन्। कहिले अपर्याप्त बजेट कारण त कहिले विश्व कराते महासंघलाई नेपालको कराते फेडेरेसनले वार्षिक नवीकरण शुल्क नबुझाउँदा खेलाडीले त्यो अवसर गुमाउँदा आएका थिए। केही वर्षयता विश्व वरीयता र छनोट भएर मात्र विश्व च्याम्पियनसिप खेल्न पाउने प्रावधान सुरु भयो। त्यसयता सानुमायाले पहिलोपल्ट सफलता दिलाइन्। केही महिनाअगाडि मात्र विश्वको उत्कृष्ट २४ खेलाडीका रूपमा उनी सीधै छनोट भइन्। उनको विधामा कुल ३२ खेलाडी खेल्नेछन्। पेरिसमा भएको छनोटबाट बाँकी खेलाडीले स्थान बनाउने प्रावधान थियो।

एरिकासहित नेपाली खेलाडीले पेरिसमा छनोट खेले तर, कुनै खेलाडी पनि सफल भएनन्। आगामी विश्व च्याम्पियनसिपमा उनी नेपालको एक मात्र प्रतिस्पर्धी हुनेछ। नेपाली क्रिकेटले जस्तै उनले पनि विश्व च्याम्पियनसिप खेल्दैछिन्। त्यो क्रिकेटले जस्तै छनोट चरण पार गरेर। तर, राज्य र खेल निकाय बेखबर छ। विश्व च्याम्पियनसिपमा खेलाडीकै लगानीमा खेल्नुपर्ने हो कि भन्ने दुविधा नै छ। उनीमाथि राज्यले गर्ने लगानी शून्य छ। उनीमा म्याच एक्सपोजरको कमी छ। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा कातातर्फ दोहोरो स्वर्ण विजेता प्रशिक्षक मण्डेकाजी श्रेष्ठको प्रशिक्षणमा सानुमायाले तयारी गरिरहेकी छन्। प्रशिक्षक मण्डेकाजी विश्व च्याम्पियनसिपको तयारीका लागि सानुमायालाई अन्तर्राष्ट्रिय म्याच एक्सपोजर दिने प्रयासमा छन्। तर, उनको योजना सफल भएको छैन।

उनले राज्यको साथ पाएनन्। सम्बन्धित निकायले पनि चासो दिएन। सानुमाया देशमा नै गरेको प्रशिक्षणबाट ऐतिहासिक पदक जित्ने अठोटमा छिन्। राज्यको विभेदपूर्ण व्यवहारले खेलाडीलाई निरुत्साहित बनाउँछ तर सानुमाया भने छुट्टै जोश र जागर छ। अनि राज्यको शून्य लगानीमै पदक जित्ने आत्मविश्वास उनमा देखिन्छ।

अहिले उनी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कडा प्रशिक्षण गर्दैछिन्। ‘प्रतियोगिता आउन धेरै समय बाँकी छैन। त्यही अनुरूप कमजोर पक्ष सुधार गर्न गुरु (मण्डेकाजी श्रेष्ठ) ले प्रेरित गर्नुभएको छ। विश्व च्याम्पियनसिपका लागि उनी धेरै उत्साहित छु,’सानुमायाले उल्लेख गरिन्।

एसियन कराते फेडेरेसनद्वारा हुने पहिलो खेलमा राम्रो प्रदर्शन गरेपछि उनले विश्व वरीयतामा धेरै सुधार गरिन्। त्यसैको आधारमा छनोट हुँदा उनी उत्साहित देखिन्छिन्।

सानुमायाले सन् २०२६ मा हुने एसियन गेम्स खेल्ने लक्ष्य पनि राखेकी छन्। तर, त्यसअघि उनले देशमा नै छनोट चरण पार गर्नु पर्नेछ। ‘विश्व च्याम्पियनसिपमा छनोट हुँदा आत्मविश्वास बढेको छ। त्यहाँ पदक जित्ने लक्ष्यसहित तयारी गरिरहेको छु,’उनले भनिन्।

प्रशिक्षक मण्डेकाजीले उनलाई धेरै उत्प्रेरणा दिएका छन्। सानुमायाले नै त्यसको महसुस गरेकी छन्। ‘गुरुले वर्षभर तिमीले गरेको मिहिनेत दुई मिनेटमा देखाउने हो भन्नुहुन्छ। त्यही दुई मिनेटका लागि तयार हुनु भनेर प्रेरित गरिरहनुहुन्छ। विश्वका एकसे एक खेलाडी आउँछन्। म पनि तयार नै छु,’ बलियो आत्मबलका साथ उनी सुनाउँछिन्।

मण्डेकाजीले ३२ वर्षमा १३औं सागमा दोहोरो स्वर्ण जितेका हुन्। ‘गुरुले ३२ वर्षमा त्यो सफलता पाउनुभयो। मत युवा नै छु र अनि जोश पनि छ। त्यही अनुरूप मिहिनेत पनि गरिरहेको छु। निडर पूर्वक खेलेर इतिहास रच्न चाहन्छु,’ सानुमायाले भनिन्।

मिसन–२६ का लागि छनोट हुनु र विश्व च्याम्पियनसिपमा पदक जित्नु नै जीवनमा उनको लक्ष्य बनेको छ। हप्ताको एकदिन फिटनेस ट्रेनिङ गरिरहेको उनले उल्लेख गरिन्। चाडपर्व पनि नभनी प्रशिक्षण गरिरहेकाले सफलता मिल्ने आशामा उनी छिन्। प्रशिक्षक मण्डेकाजीले पनि विश्व च्याम्पियनसिपमा पदक जित्ने या वरीयता सुधार गर्ने लक्ष्यसहित मिहिनेत गरिरहेको उल्लेख गरेका छन्।

‘हरेक दिन उनको धेरै पक्षमा सुधार आएको छ। अहिले फिटनेसमा ध्यान दिएका छौं। कातामा इन्डुरेन्स, ब्यालेन्स, टाइमिङ, स्ट्यान्ड र फिटनेस सबै पक्षमा राम्रो हुनुपर्छ। त्यसैमा विशेष ध्यान दिएका छौं,’प्रशिक्षक मण्डेकाजीले भने। एसियन च्याम्पियनसिपमा सानुमायाले तीन बाउट जित्दै आफ्नो क्षमता देखाएकी थिइन्। त्यसैले पनि प्रशिक्षक मण्डेकाजी आफ्ना खेलाडीसँग धेरै आशावादी छन्।

‘एसियन च्याम्पियनसिपमा सानुमायाले धेरै राम्रो खेलिन्। मेडल बाउटमा उनी चुकेकी हुन्। तर, विश्व च्याम्पियनविरुद्ध उनको प्रदर्शनले उनमा धेरै सम्भावना छ भन्ने देखाएको छ,’प्रशिक्षक मण्डेकाजीले भने तर उनलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्रशिक्षक चिन्तित छन्। प्रशिक्षक मण्डेकाजी एक समय नेपाली करातेमा सफल खेलाडी हुन्। अब उनी प्रशिक्षकको भूमिकाबाट त्यो सफलता दोहोर्‍याउन चाहन्छन्।  

प्रकाशित: ९ कार्तिक २०८२ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App